Tuesday, May 25, 2021

नेपाली भाषाको लिपि

Hukuma Nand Pandeya
                                                               - हुकुमानन्द पाण्डेय
परिचय :

नेपाली भाषा देवनागरी लिपिमा लेखिन्छ । भाषा वाक् ध्वनिको प्रतीक एवम् वक्ताको बोली हो । वाक् ध्वनि वा वक्ताको बोलीलाई कुनै न कुनै रूपले सङ्केत गरिन्छ । भाषिक ध्वनिका त्यस्ता लेख्य चिह्न वा सङ्केतलाई नै लिपि भनिन्छ । कुनै पनि समयका वक्ताका भाषा, विचार, भवना, अनुभव, धारणा, नवीन प्रयोग, अभ्यास, सूचना तथा भाषाको इतिहासलाई कालान्तरसम्म सुरक्षित राख्न लिपिको आवश्यकता पर्दछ । लिपिले भाषालाई जीवित बनाउन मद्दत गर्दछ । 

भाषाको लिपि विकासको इतिहास अत्यन्त लामो छ । अधिकांश भाषाका आ–आफ्नै लिपि छन् । आफ्नो छुट्टै लिपि नभएका भाषा पनि छन्, ती भाषाको इतिहासलाई बचाइराख्न अन्य भाषाका लिपिहरूको प्रयोग गर्ने गरिएको छ । रोमन लिपि, ब्राम्ही लिपि, गुप्त लिपि, कुटिल लिपि आदि विश्वका प्रसिद्ध लिपिहरू हुन् । नेपाली भाषा देवनागरी लिपिमा लेखिन्छ । संस्कृत, हिन्दी, मैथिली, भोजपुरी, अवधी आदि भाषाहरू यसै लिपिमा लेखिन्छन् । भारतको देवनगरबाट विकसित भएको यो लिपि गुप्त लिपि, कुटिल लिपिका रूपमा रहँदै बारौँ शताब्दीदेखि आधुनिक देवनागरी लिपिका रूपमा विकास भएको पाइन्छ । यसको नमुना इ.पू. तेस्रो शताब्दीतिरको लुम्बिनीको स्तुपाभित्र परेको छ । 

देवनागरी लिपि :

भारतको देवनगरबाट विकसित भई गुप्त लिपि, कुटिल लिपिका रूपमा रहँदै बारौँ शताब्दीदेखि आधुनिक रूपमा विकसित भएको लिपि हो देवनागरी लिपि । 

हरेक भाषाका आ–आफ्ना विशेषताहरू छन् । हरेक भाषाको स्तरीकरणका लागि उक्त भाषाको लिपिको ज्ञान हुनु आवश्यक मानिन्छ । नेपाली भाषालाई शुद्ध एवम् स्पष्टसँग राम्रा आकृतिमा लेख्न लिपिका विशेषताहरूको ज्ञान हुनु आवश्यक छ । कतिपय अवस्थामा लिपिका विशेषताको ख्याल नगरी डिकोसमेत नदिई लेख्ने गरिएको पाइन्छ । यसका कारण लिपिको नियममा विचलन आउनुका साथै भाषिक अशुद्धिहरू बढी भाषिक बोधमा कठिनाई उत्पन्न हुन सक्दछ । त्यसैले नेपाली भाषाको शुद्धीकरण एवम् स्तरीकरण गर्न समेत नेपाली भाषको देवनागरी लिपिमा विशेष ध्यान दिनु पर्ने देखिन्छ ।

देवनागरी लिपिका विशेषताहरू : 

(क) देवनागरी लिपि बायाँबाट दायाँतिर लेखिन्छ । 

(ख) देवनागरी लिपिका वर्णहरूमा अनिवार्य रूपमा डिको दिइन्छ, जस्तै : पवन, समीर, वायु, हावा आदि ।

(ग) देवनागरी लिपिमा स्वर र व्यञ्जन वर्णको छुट्टाछुट्टै व्यवस्था छ, जस्तै : अ, आ, इ, उ आदि स्वर वर्ण हुन् भने क, ख, ग, घ आदि व्यञ्जन वर्ण हुन् ।

(घ) देवनागरी लिपिमा स्वर वर्णलाई मात्राका रूपमा प्रयोग गरिन्छ, जस्तै : क्+आ=का, क+ए=के आदि ।

(ङ) देवनागरी लिपिमा संयुक्त व्यञ्जन वर्णको प्रयोग हुन्छ, जस्तै : पृथ्वी, व्याख्या, ब्रह्माण्ड आदि ।

(च) देवनागरी लिपिका वर्णहरू कतिपय अवस्थामा अजन्त लेखिए पनि हलन्तका रूपमा उच्चारण हुन्छन्, जस्तै : काम–काम् जल–जल् आदि ।

No comments:

Post a Comment