Sunday, May 24, 2020

विद्यालयीय शिक्षामा नेपाली भाषाको वर्तमान अवस्था र चुनौतीहरू


         मानव सभ्यताको सुरुवातसँगै प्रचलनमा आएको नेपाली भाषा विचार विनिमयको सशक्त माध्यम हो । यो भाषा भौगोलिक प्रसार, वक्ताको सङ्ख्या, र भाषाभाषीका दृष्टिले संसारकै सबैभन्दा ठूलो मानिने भारोपेली भाषा परिवारको ‘सतम्’ वर्गको ‘भारत–इरानेली’ (आर्य इरानेली) शाखाअन्तर्गत पर्ने भारतीय ‘आर्य’ भाषा ‘संस्कृत’बाट ‘प्राकृत’ र ‘अपभ्रंश’ हुँदै विकसित भएको हो । ई. पू. २५०० तिर जन्मेको यो भाषापरिवार भाषा साहित्यको विकासमा सबैभन्दा अगाडि छ (गौतम, ओझा, सुवेदी, २०६७, पृ. ३४३) । यही भाषा परिवारमा पर्ने नेपाली भाषाको इतिहास हेर्दा छैटौँ नागराज अशोकचल्लको सं. १३१२ मा नेपालीमा लेखिएको ताम्रपत्र प्राप्त छ । यो नेपाली भाषाको हालसम्म उपलब्ध सर्वप्राचीन प्रामाणिक नमुना हो (गैरे, २०६४, पृ. ३३९) । यसरी निकै पहिलेदेखि नै नेपाली भाषाको प्रयोग हुन थालेका थुप्रै प्रमाणहरू फेला पार्न सकिन्छ । 

        एघारौँ शताब्दीबाट प्रारम्भ भई एक्काइसौँ शताब्दीमा आइपुग्दा नेपाली भाषाको स्तरीकरणका लागि हलन्त बहिष्कार (वि.सं.१९६५) तथा झर्रोवादी (वि.सं.२०१३) जस्ता आन्दोलनहरू भएको पाइन्छ । नेपाली भाषाको विकासका लागि व्याकरण तथा शब्दकोशको निर्माण, साहित्यिक संस्थानहरूको स्थापना, पुस्तक तथा पत्रिकाको प्रकाशन हुनुका साथै देशविदेशमा नेपाली भाषाको अध्ययन तथा अनुसन्धान कार्यहरू हुनेगरेका छन् । यस्तै नेपाली भाषाले राष्ट्रभाषाकोरूपमा संवैधानिक मान्यता पाउनुका साथै यसलाई सरकारी कामकाजको भाषाकारूपमा समेत प्रयोग गरिन्छ । यसरी हरेक क्षेत्रमा प्रयोगमा आउने नेपाली भाषा विद्यालय तहमा अनिवार्य विषयकारूपमा पठनपाठन गर्ने गरिन्छ तर वर्तमान समयमा नेपाली भाषाप्रतिको गलत दृष्टिकोणका कारण विद्यालय तहमा नेपालको नीति, नियम, नेपाली समाज र संस्कृतिसँग जोडिएका नैतिक र सामाजिक शिक्षाजस्ता विषयहरू पठनपाठनमा समेत अङ्ग्रेजी भाषाको प्रयोग गरिन थालिएको छ । यो कस्तो शैक्षिक व्यवस्था हो ? नेपाली संस्कृति सिक्न अङ्ग्रेजी भाषा प्रयोग गर्नुपर्ने । यस कुराले गर्दा विद्यार्थीहरूले दोस्रो भाषाकारूपमा अङ्ग्रेजी भाषा सिक्दा निकै कठिनाइ झेल्नु पर्ने र भाषिक जटिलताका कारण जान्नु पर्ने, बुझ्नु पर्ने र सिक्नु पर्ने विषयको सट्टा अङ्ग्रेजी भाषामै अल्झिने र सिकाइ अपूर्ण हुने अवस्था सिर्जना हुन गएको देखिन्छ । यसै सन्दर्भमा केही विद्वान् भन्छन् अङ्ग्रेजी भाषा आजको अनिवार्य आवश्यकता हो, यसलाई विस्तार गर्नुपर्छ तर म भन्छु अङ्ग्रजी भाषालाई वर्तमान समयको अनिवार्यतासँग जोडेर नेपाली भाषा मास्नु विद्धमानी होइन । किनकि सरकारी कामकाजका लागि, हाम्रो दैनिक जीवनमा भाषिक सम्प्रेषणका लागि समेत नेपाली भाषाको शुद्ध प्रयोग हुनु जरुरी छ तर वर्तमान समयमा विद्यार्थीले विद्यालयमा पर्याप्त समय न त नेपाली भाषा बोल्न पाएका छन्, न त लेख्न नै । उनीहरूलाई विद्यालयले ४५ मिनेटका लागि भनेर छुट्याइदिएको समयमा मात्र नेपाली भाषा बोल्न, लेख्न र सिक्न पाउँछन् । यी बाहेक अन्य समयमा नेपाली भाषा बोलेमा मात्र पनि विद्यार्थीलाई भौतिक, नैतिक एवम् मानसिक यातना दिइएका प्रशस्त उदाहरणहरू सुन्न र देख्न पाइन्छ । यो त बाल अधिकार हनन भएन र ? वास्तवमा विद्यार्थीले विद्यालयमा बिताउने ६ घण्टा मध्ये ४५ मिनेट बाहेकको पुरै समयमा विषयवस्तु जे पढे पनि अङ्ग्रेजी भाषा प्रयोग गर्नु पर्ने बाध्यात्मक अवस्था सिर्जना भएको देखिन्छ ।

        सुरुसुरुमा संस्थागत विद्यालयले गरेको यो प्रयासलाई उचित मूल्याङ्कन नगरी पछिल्ला दिनहरूमा विस्तारै सामुदायिक विद्यालयले अनुसरण गर्न लागेको देखिन्छ । यसो भनिरहँदा नेपाली भाषा सबथोक हो, यो भाषा मात्र जान्नु पर्छ, अङ्ग्रेजी पढ्न हुँदैन, विद्यालयमा पढाउनु हुँदैन, जान्‍नु नै हुँदैन भनेको होइन । यी दुवै भाषामध्ये नेपाली भाषासँग हाम्रो समग्र देशको इतिहास र संस्कृति समेत जोडिएको हुँदा यो भाषाको संरक्षण संवर्धन र विकास गर्नुपर्ने देखिन्छ भने अङ्ग्रेजी भाषाको विश्वव्यापी प्रयोगलाई हेरी यो भाषा पनि जान्न, बुझ्न र प्रयोग गर्न सक्ने अवस्था सिर्जना गर्नका लागि छुट्टै शैक्षिक नीति निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ तर राज्यबाट सुधारका लागि केही कागजी प्रयासहरू भएता पनि यस्तो प्रयासलाई प्रभावकारीरूपमा अगाडि बढाइएको देखिँदैन । जुन कुरा हुन नितान्त जरुरी छ । यति भनिरहँदा के कुरा बुझ्‍न जरुरी छ भने यी दुवै माध्ययम भाषा मात्र हुन् । नेपाली भाषासँग हाम्रो सदियौँदेखिको निकट सम्बन्ध भएका कारण अधिकांशलाई यो भाषा बुझ्‍न, बोल्न र प्रयोग गर्न सरल हुने हुँदा विद्यालय तहमा शैक्षिक प्रयोजनका लागि यो भाषालाई बढी प्रयोगमा ल्याउँदा सिकाइमा सरलता थपिने र हाम्रा शैक्षिक उद्देश्यहरू सहजै पूरा हुने देखिन्छ । हामीले बालबालिकामा कस्तो बौद्धिक क्षमता छ ? उनीहरू भविष्यमा के बन्न सक्छन् ? भन्ने कुरा पहिचान गरी सोहीअनुरूप शिक्षण सिकाइ क्रियाकलाप सञ्‍चालन गर्नुको साट्टा भाषामा अल्झिएका छौँ । भाषा सिकाउँदैमा हाम्रा बालबालिका हामीले सोचेजस्तो बन्छन् भन्ने छैन । बरू बालबालिकामा निहित क्षमताको पहिचान गरी उसलाई सहज हुने भाषाको प्रयोगद्वारा सीप सिकाउन सकिए सहजरूपमा शैक्षिक लक्ष्य हासिल हुने थियो । बालबालिकाका सम्बन्धमा जिन पियाजे, ब्रुनर र नेलसन गुडमेनजस्ता वैज्ञानिकद्वारा प्रभावित अमेरिकाको हवार्ड विश्वविद्यालयका शिक्षा र संज्ञान विषयका प्रोफेसर एवम् अमेरिकन विकासवादी संज्ञानवादी मनोवैज्ञानिक हवार्ड गार्डनरले बालबालिकामा भाषिक–मौखिक (वकिल, लेखक, पत्रकार, शिक्षक), दृश्यस्थानिक (चित्रकार, मूर्तिकार, इन्जिनियर), तार्किक–गणितीय (गणितज्ञ, वैज्ञानिक, कम्प्युटर प्रोग्रामर, इन्जिनियर, लेखापाल), साङ्गीतिक (सङ्गीतकार, कम्पोजर, गायक, सङ्गीत शिक्षक), शारीरिक र चाल ( बिल्डर, नर्तक, अभिनेता, नृत्याङ्गना, खेलाडी), इन्टरपर्सनल (मनोवैज्ञानिक, दार्शनिक, सल्लाहकार, विक्रेता, राजनीतिज्ञ),  इन्ट्रापर्सनल (दार्शनिक, लेखक, सिद्धान्तवादी, वैज्ञानिक), प्राकृतिक बौद्धिकता (जीवविज्ञानी, संरक्षणवादी, माली, किसान) जस्ता ८ किसिमका बौद्धिक क्षमता हुने कुरा बताएका छन् (चेरी, २०१९) । वास्तवमा बालबालिकामा हुने यस्ता पृथक बौद्धिक क्षमताका कारण उनीहरूको सिक्ने रूचि र तरिका समेत फरक हुने हुँदा बालबालिकामा भएका यस्ता बौद्धिकतालाई टेवा पुग्ने गरी पर्याप्त मात्रामा शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्नुपर्ने देखिन्छ ।
  

        वास्तवमा बालबालिकामा हुने यी ८ प्रकारका बौद्धिक क्षमताको पहिचान गरी सोहीअनुरूप शिक्षण सिकाइ क्रियाकलाप संचालन गर्नुपर्ने आजको आवश्यकता हो तर हामी अनावश्यकरूपमा नेपाली भाषाभन्दा बाहेकको अर्को भाषा जानेमा ठूलो उपलब्धि हुने ठानेर भाषिक जटिलता थप्न बेस्त भएका छाँै । अङ्ग्रेजी न नेपाली यी दुवै भाषा हुन् । बालबालिकाको पहुँच जुन भाषामा बढी छ, त्यहीँ भाषाको प्रयोग गर्न लगाई उनीहरूको बौद्धिक क्षमताअनुसार सिकाइ केन्द्रित गरे हाम्रा आजका बालबालिका भोलिका सफल कवि, वकिल, लेखक, पत्रकार, व्याख्याता, चित्रकार, मूर्तिकार, गणितज्ञ, वैज्ञानिक, सङ्गीतकार, वाद्यवादक, नृत्याङ्गना, खेलाडी, शल्यचिकित्सक, विमानचालक, राजनेता, चिकित्सक, व्यापारी, अन्तरयामी/योगी, सन्त, किसान एवम् दार्शनिक हुनेछन् । गर्नु पर्ने काम नगरी भाषिक जटिलमा अल्झिनु बुद्धिमानी होइन । तर यो कुरामा ख्याल नगरी वर्तमान समयमा शैक्षिक क्षेत्रलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्रकारूपमा लिएर नेपाली भाषा शिक्षण जसले गरे पनि हुन्छ भन्ने कमजोर मानसिकता हावी भएकै कारण विद्यालयीय तहमा नेपाली भाषाको स्तर निकै कमजोर बन्दै गएको देखिन्छ । यति मात्र होइन सम्बन्धित निकायबाट आवश्यक विषयगत दरवन्दी मिलान गर्न नसक्नु, सम्बन्धित निकायले नियमितरूपमा विषयगत शैक्षिक तालिमको व्यवस्था गर्न नसक्नु, विद्यार्थीमा ८ किसिमका बौद्धिक क्षमता भएजस्तै शिक्षकमा पनि ती क्षमता हुन्छन् भन्ने कुरा नसोची नेपाली विषय शिक्षकलाई बुद्धि एवम् सीपहिन ठानी हेय एवम् कमजोर दृष्टिकोणले हेर्नु, पारिश्रमिताका हिसाबले अनेक बहानामा ठग्‍नु, विद्यालयको नेतृत्व र शैक्षिक जिम्मेवारी नदिनु, शिक्षकको मनोविज्ञान नबुझी जबरजस्ती पेल्नु, नेतृत्वले अन्य विषयमा शैक्षिक उपलब्धि राम्रो नदेखिए पनि चुपचाप लाग्नु तर नेपाली विषयमा राम्रो गर्दा गर्दै पनि असन्तुष्टि पोख्नु, नेपाली विषय शिक्षकलाई सधैँ निर्देशन पालककारूपमा मात्र हेरिनु जस्ता विविध कारणले गर्दा आज नेपाली भाषा सिकाउने, सिक्न चाहने र सिकिरहेकाहरूमा समेत गलत बुझाइ हावी भएको देखिन्छ । जसका कारण नेपाली भाषासँग जोडिएका हाम्रा मौलिक संस्कृतहरू समेत सङ्कटमा पर्दै गएको र पश्‍चिमा संस्कृति भित्रिँदै गएको देखिन्छ ।

        नेपाली भाषा कहरले होइन रहरले हाम्रा मौलिक गीत सङ्गीत गाउँदै, रमाउँदै स्वतस्फूर्तरूपमा सिक्न सकिने भाषा हो । यसले सीप सिकाइमा सरलता प्रदान गर्नुका साथै हाम्रा संस्कृतिको समेत रक्षा गर्न टेवा पुर्‍याउने हुँदा यसको शुद्ध प्रयोगका लागि विद्यालयीय तहमा नेपाली भाषा शिषण गर्नुपर्ने देखिन्छ । साथै जुन भाषा भए पनि भाषा सीप सिकाइको माध्यम मात्र होे र सीप सिकाइमा सरल भाषा प्रयोग गरेमा सहजता हुने देखिन्छ । तसर्थ अधिकांश नेपालीका लागि नेपाली भाषा अन्य भाषा भन्दा सहज हुने र  दैनिक व्यवहार एवम् सरकारी कामकाजको भाषाकारूपमा समेत यो भाषा प्रयोग हुने हुँदा यसको उचित संरक्षण, संवर्धन र विकासका लागि सम्बन्धित निकायले समयमै ध्यान दिनु पर्ने देखिन्छ ।

सन्दर्भ सामग्री
गैरे, ईश्वरीप्रसाद (२०६४), भाषा विज्ञान र नेपाली भाषा, काठमाडौँ : हजुरको प्रकाशन ।
गौतम, देवीप्रसाद, ओझा, रामनाथ र सुवेदी, सखिशरण (२०६७), सामान्य भाषाविज्ञान, काठमाडौँ : पिनाकल पब्लिकेसन प्रा.ली ।
चेरी, केन्द्र (२०१९), गार्डनर थेउरी अफ मल्टिपल इन्टेलिजेन्ट : https://www. verywellmind.com/gardners-theory-of-multiple-intelligences-2795161

No comments:

Post a Comment