- हुकुमानन्द पाण्डेय
'पण्डा' शब्दमा 'ए' प्रत्यय जाेडिएर 'पाण्डे' शब्दकाे व्युत्पत्ति भएकाे हाे । 'पण्डा' काे अर्थ हुन्छ, 'ज्ञान/विद्या' । यसरी हेर्दा पाण्डेकाे अर्थ 'ज्ञान/विद्या' भएका विद्वान्' भन्ने हुन्छ । यहीँ 'पाण्डे' शब्दमा 'य' प्रत्यय जाेडिएर 'पाण्डेय' शब्दकाे निर्माण भएकाे हाे । सामान्यतया कुनै एउटा जातिलाई बुझाउने अर्थमा 'पांडे', 'पाँडे', 'पान्डे', 'पाण्डे' र 'पाण्डेय' एउटै मानिन्छन् । यी शब्द देश, काल र परिवेशअनुसार फरक फरक रूपमा प्रयाेगमा आएका हुन् । यी शब्दहरूमध्ये 'पाण्डेय' शब्द नै परिष्कृत मानिन्छ ।
आज झट्ट तिनै पाण्डेयहरूले देश र जनताको लागि विगतमा गरेका सङ्घर्षहरू सम्झने मन लाग्यो, जुन इतिहास बनेको छ । त्यसै पनि इतिहास सत्ता सङ्घर्ष र युद्धको कथाहरु भएको सङ्गालो हो । नेपालमा पाण्डेयहरूको इतिहास पनि यी कुराहरुबाट अछुतो रहन सकेको छैन । पाण्डेयको इतिहासमा समग्र नेपाल देशको इतिहासकाे छनक पाइन्छ । देश र जनताको रक्षाको लडाइँमा अग्रणी दामोदर पाण्डेय नेपाल एकीकरणका महानायकहरू मध्ये एक योद्धा हन् । दामोदर पाण्डेय, कालु पाण्डेय जस्ता वीर नेपालीको रणनीतिक चातुर्यकै कारणले नेपाल एकीकरण सम्भव भएको एतिहासका पाना पानामा आज हामी आँखा दौडाउन सक्छौँ । यो त एउटा मात्र पाण्डेय योद्धाको इतिहास हो । यहाँ त्यस्ता थुप्रै योद्धाहरू छन् देश र जनातको लागि मरिमेटी लाग्ने र सहादत प्राप्त गर्ने तर मैले मेरो यो यात्रामा खाली केही पाण्डेय योद्धाहरूको स्मरण गर्ने प्रयत्न गरेको छु ।
आज सेकेन्ड सेकेन्डमा मान्छे आफैँ बेचिएको छ, दिनदहाडै मोल मोलाइ छ । उसो त पैसाले आज इज्जत किनिँदै छ, मान किनिँदै छ, प्रतिष्ठा किनिँदै छ । मान्छेमा सहयोगी भावना ह्रास हुँदै छ । निस्वार्थ सेवा वचनमा मात्र सीमित भएको छ । नैतिकता र निमान्दारिताको कदर छैन यहाँ । सन्दर्भ तपाईं जीवनमा कति धन आर्जन गर्नुभयो ? अनि सेवा भावका साथ कमाइको कति प्रतिशत दुःखी, असहाय, गरिब, अपाङ्ग, दृष्टिविहीन, भोका नाङ्गा, निमुखा र उत्पीडितहरूको लागि खर्च गर्नुभयो ? अनि देश र समग्र जनताको लागि कति समय खर्च गर्नुभयो ? कहिले फुसर्द मिलाएर सोच्नु भएको छ ? यस्तै पृष्ठभूमिलाई आत्मसाथ गर्ने, इतिहासलाई चलाएमान गराउन देश र जनताको लागि बलिदानी समेत दिन पछि नपर्ने जात हो पाण्डेय । पाण्डेय आफ्नोलागि मात्र जन्मिएको जात होइन । यो देश, जनता र राष्ट्रिय गौरवका लागि जन्मिएको जात हो । जसको पुष्टि हुन्छ, काजी कालु पाण्डेय, काजी वंशराज पाण्डेय, काजी दामोदर पाण्डेय र रण जङ्ग पाण्डेय आदि जस्ता पाण्डेय वंशीय ऐतिहासिक जीवनीबाट ।
सधैँ मौन बस्दा इतिहासले खिजाउँछ पाण्डेयलाई । उसो त हर क्षेत्रबाट अनवरतरूपमा लागिरहेका पाण्डेहरूले निस्वार्थ भावनाका साथ सेवा भाव सँगाल्दै विगत वि.सं. २०६१ सालमा दाङ जिल्लाको घोराहीमा 'पाण्डेय समाज सेवा समिति' खडा गरेका छन् । पाण्डेको हिजोको इतिहास र राष्ट्रिय गौरवलाई सम्पूर्ण कश्यपगोत्रीय पाण्डेयहरूले आत्मसाथ गर्दै आजको युगमा, मान्छेले मान्छेलाई बिर्सनै थालेको यो परिवेशमा, वर्तमान भारतको उत्तराञ्चल प्रदेशमा पर्ने कुमाउँ गडवालबाट नेपाल प्रवेश गरेको मानिने कश्यपगोत्रीय पाण्डेयहरू पश्चिम नेपालको कर्णाली अञ्चलको जुम्ला जिल्ला हुँदै नेपालका विभिन्न स्थानमा विस्तारित भएका माध्ये दाङमा रहेका पाण्डेय यतिवेला सामूहिक रुपमा निस्वार्थ सेवामा समर्पित भएका छन् । हो, वास्तवमा पैसाभन्दा ठूलो सेवा हो । 'सेवा गरे मेवा मिल्छ' भन्ने नेपाली जनजिब्रोमा अक्सर लटपटिने शब्दलाई आत्मसाथ गर्दै हिजोका पाण्डेयको बलिदानी र सेवालाई नबिर्सिएर भोलिको इतिहाससँग परिचित हुन सजिलो बन्ने कामको सुरुवात आजका पाण्डेयबाट हुँदै गर्दा विडम्बना आजको समयको एउटा आयाम पैसाको लखेटाइबाट बेसरी लखेटिएकोछ । हो, कसैलाई समय र परिवेशले बेसरी ठगेकोहोला तर अक्सर आजका मान्छे समयलाई ठग्ने दाउमा आफैँ ठगिएका छन् । आजका धेरै मान्छे आफ्नो ज्यानको जोखिम उठाउन चाहन्नन् तर आफ्नो स्वार्थ सिद्धिका लागि भने जे पनि गर्छ । आजको यस्तो परिवेशमा निस्वार्थ सेवा भाव मनले सोचे जत्तिको सजिलो भने पक्कै छैन र पनि यो यात्रामा युगौँ युगदेखि लागेको पाण्डेय आज सामूहिक रुपमा लागेको छ । आजको यो परिवेशमा बुझ्न जरुरी छ कि, जुन सजिलै पाइन्छ त्यो धोका हो, जुन मुस्किलले पाइन्छ त्यो इज्जत हो, जुन हृदयबाट पाइन्छ त्यो प्रेम हो, जुन भाग्यले पाइन्छ त्यो मित्रता हो र जुन ज्यानको बाजी थाप्दै दुखले रचिन्छ त्यो इतिहास हो । जुन इतिहास हिजोका पाण्डेयले रचे । हिजोको इतिहासलाई पल्टाउँदा दुःखले इतिहास कोर्नेहरुमा पाण्डेयहरू शीर्ष स्थानमै रहेका छन् । उसो त सानो तिनो प्रयासले काजी कालु पाण्डेय इतिहासले मान्ने गुगलका पाना पाना रङ्गीने काजी कालु पाण्डेय भएनन् होला । त्यस्तै विकिपिडीयाले नेपालको प्रधानमन्त्रीको शीर्ष स्थानमा दामोदर पाण्डेयलाई त्यतिकै राखेन होला । त्यस्तै नेपालकै इतिहासमा तेस्रो प्रधानमन्त्री रण जङ्ग पाण्डेय त्यतिकै भएनन् होला । त्याग तपस्या र सेवा भावले ओतप्रोत हिजोका पाण्डेयलाई आजको दुनियाले बारम्बार स्पर्श गर्ने इतिहास बनेका छन् । त्यो इतिहास पैसाले रचिएको इतिहास होइन । त्याग, तपस्या र बलिदानीबाट रचिएको इतिहास हो । तर पनि आजका अक्सर मान्छेहरू जानिनजानी लक्ष्यविहीन जिन्दगी दौडाउन विवश छन् । इज्जत, प्रेम, इमान्दारीता र मित्रतालाई पैसासँग दाज्ने दुष्प्रयास गर्छन् ।
गरिब धनी भएर र धनी गरिब भएर मरिरहेको यो आजको वास्तविकतामा मान्छे एक्लो बन्ने कुरा र मरेर जाने कुरा बिर्सन्छ । बाचुन्जेल कसरी अरूलाई कजाउने, आफ्नो कैदमा पार्ने, कसरी आफू स्मार्ट बन्ने, कसरी अरुलाई दुःख दिएर आफू रमाउने भनी सदासदा चिन्तित भइरहेको हुन्छ आजको मान्छे । आजका बालबालिका विगत हुन् र आजका बुढापाका भोलिका आफ्नै भविष्य हुन् भन्ने सम्म बिर्सिएर, इतिहासलाई पन्छाउँदै विगत भुलेर आज रजाई गरिरहेको मान्छे, पक्कै भोली पालो आउनेछ । मनले नचाहँदा नचाहँदै वृद्ध बन्नु पर्नेछ । उमेरले परिवर्तन खोज्नेछ, शक्ति ह्रास हुनेछ, शासन अर्कैले चलाउनेछ, स्वएम् आफू शासित बन्ने दिन आउनेछ । मन परेको चिज प्राप्त गर्न कसैको साहारा माग्नु पर्नेछ त्यो वेला । मान्छेले सोच्नु हुँदैन कि, भोलि वृद्ध हुन्न भनेर । यो शाश्वत सत्य हो जो कोही एक न एक दिन वृद्ध हुन्छ, अशक्त हुन्छ, बिरामी पर्छ र अन्ततः यो धर्ती छोडेर जान्छ । आफूसँग भएको सबै कुरा छोडेर जान्छ । तपाईं पनि रित्तो हात जानुहुन्छ, तपाईंसँग भएको चाहेर या नचाहेर केही लग्न पाउनुहुँदैन । त्यसैले आफुू शक्तिवान भएको वेला आ–आफ्नो ठाउँबाट के गर्ने के नगर्ने राम्रोसँग छुट्याएर मात्र गर्नुहोस् । हर मनले चाहान्छ आफ्नो अस्तित्वलाई अमर राख्ने, सबैको प्रिय पात्र बन्ने तर जानेर या नजानेर यसैका लागि आजको मान्छे पैसाको पछि लागेको छ । धन सम्पत्तिको पछि लागेको छ । मरेर जाने चोल फेरि भेट होला नहोला, त्यसैले आफ्नो अस्तित्वलाई अमर राख्न के गर्ने ? अरुलाई दुःख दिने ?, सास्ति दिने ?, तड्पाउने ?, या दुःखीको सहयोग गर्ने, संस्कार नभुल्ने, नैतिकताको ह्रास हुन नदिने ?, सबैको प्रिय पात्र बन्ने ? यो सबै लगानीको समय हो, लगानी यही बेला गर्नु उचित हुन्छ न कि बुढेसकालमा । जसरी आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपाल एकीकरण अभियानको पहिलो खुड्किलो मानिने नुवाकोटको रणनीतिक महत्त्वको माहामन्डल कब्जा गर्दा सेना नायकको भूमिका खेल्ने काजी कालु पाण्डेलाई आज देशले सम्झन्छ । नेपालको इतिहासमा मकमानपुर विजय हासिल गर्ने सिलसिलामा ११०० सेनको नेतृत्व लिने मध्येका एक काजी वंशराज पाण्डेको नाम आज जसरी नेपालको इतिहासको पानापानामा हामी पढ्छौँ ।
यस्ता थुप्रै पाण्डेहरू छन्, जसको नाम हामी पटक पटक इतिहासका पाना पानामा भेटाउँछाैँ । पाण्डेयका सन्तान काजी कालु पाण्डेय, काजी वंशराज पाण्डेय र काजी दामोदर पाण्डेय आजको युगका मान्छे जस्तै उनीहरू पनि पैसा कै पछि लाग्थे त सायद इतिहासमा उनीहरूको नाम अटाउने थिएन र आज हामी जस्ता थुप्रै पुस्ताले उनीहरूको नाम पढ्न त के सुन्न समेत पाउने थिएनौँ । त्यसैले निस्वार्थ भावनाका साथ आजैबाट सबै लागौँ, सेवा गरौँ र आफू मरेर पनि अमर हुने काम गराैँ, यसैमा सबैको कल्याण हुनेछ । जय पाण्डेय समाज !!!
No comments:
Post a Comment