![]() |
Hukuma Nand Pandeya |
भाषा विचार विनिमयको सशक्त माध्यम हो । भाषाका माध्यमबाट नै मानिसहरूले आफ्ना मनमा लागेका अनेक कुराहरू अरू समक्ष प्रकट गर्न सक्छन् । संसारभर हजारौँ भाषा छन् । ती भाषाका आआफ्नै विशेषता रहेका छन् । नेपालमा रहेका अत्याधिक नेपालीले प्रयोग गर्ने भाषा हो, नेपाली भाषा । भारतको देवनगरबाट विकसित भई गुप्त लिपि, कुटिल लिपिका रूपमा रहँदै बारौँ शताब्दीदेखि आधुनिक रूपमा विकसित भएको देवनागरी लिपिमा लेखिने नेपाली भाषामा नेपालीहरूको संस्कृति र पहिचान लुकेको छ । तसर्थ नेपाली भाषालाई जोगाउनु हाम्रो दायित्व हो । हरेक भाषाको आआफ्नै महत्त्व हुन्छ तर अन्य भाषाभन्दा नेपाली भाषाको प्रयोग कर्ता धेरै हुनुले नेपाली भाषाको महत्त्व अन्य भाषाभन्दा धेरै रहेकाे कुरा पुष्टि हुन्छ । २०६८ सालको जनगणनाअनुसार नेपालमा १२५ जाति, १२३ भाषा र नेपाली भाषा मात्र बोल्नेको सङ्ख्या ४४.६ प्रतिशत रहेको छ ।
जुन सुकै भाषा होस्, त्यो त सम्प्रेषणको माध्यम मात्र हो भन्ने कुरा नबुझेर अङ्ग्रेजी भाषाप्रतिको अपूर्व माया भाव देखाई नेपाली भाषाको समूल नष्ट गर्ने पथमा लम्कन खोज्नु राम्रो कुरा होइन । केसम्म भएको छ भने नेपाली बाजामा अङ्ग्रेजी गीत भनेझैँ नेपाली माटो सुहाउँदो, स्थानीय परिवेश सुहाउँदो सिप सिकाउनका लागि समेत आफ्नै मौलिक भाषाको प्रयोग नगरी अङ्ग्रेजी भाषालाई प्रयोगमा ल्याइएको छ । यसो गर्दा विद्यार्थी अङ्ग्रेजी भाषा सिकुन् कि सिप ? यसो भनिरहँदा अङ्ग्रेजी भाषा जान्नै हुँदैन, पढ्नै हुँदैन भनेको होइन । यसको अन्तर्राष्ट्रिय महत्त्व व्यापक छ । यसको ऐच्छिक महत्त्व पनि छ । यसको करण सिकाइमा क्लिष्टता सिर्जना गरी सिकारुले सिक्नुपर्ने जति ज्ञानबाट बञ्चित गरिनु हुँदैन । उसो त नेपाली भाषा सरल छ, भनेको होइन, त्यो त नेपाली भाषालाई नजिकबाट बुझ्नेहरूलाई राम्रो अनुभव होला । वास्तवमा नेपाली भाषाको अपरिहार्यता र महत्त्वलाई नबुझेर यो भाषाप्रति लगाइएको लाञ्छनाका कारण वर्तमान समयमा नेपाली भाषाप्रतिको हेय भावले भावी पुस्तामा भाषिक अपाङ्गता सिर्जना हुने सम्भावना बढेर गएको छ ।
कक्षा १० पास गरेकोे एउटा विद्यार्थीले कतैबाट कसैले पठाएको १ पेज चिठी पढ्न नसक्ने अवस्था अहिलेको वास्तविकता हो । यसमा सम्बन्धित स्कुलमा आबद्ध शिक्षक र अभिभावकको दोष प्रस्ट देखिन्छ । विद्यार्थीको शैक्षिक स्तर कसरी उकास्नेभन्दा पनि स्कुललाई हरेक वर्ष जे भए पनि नयाँ गरेर देखाउनुछ भने अभिभावकलाई आफ्ना सन्तानले के कति ज्ञान तथा सिप हाँसिल गरेभन्दा पनि अाफ्ना सन्तान जसरी भए पनि पास हुनुपर्ने छ ।
सिकारुकाे ज्ञान र सिप विकासका लागि हामीले हामीसँग भएका पाठ्यपुस्तकको भरपुर प्रयोग गर्न र साेहीअनुरूप सिकाउन सकिरहेका छैनौँ । खालि पाठ्यक्रम र पाठ्यपुस्तकलाई दोष लगाउँदै अनजानमा त्रुटिपूर्ण नयाँ पुस्तककाे प्रयाेग बढाउन थालेका छाैँ । यति मात्र होइन्, शैक्षिक अभियानमा अनवरत रूपमा नवीनता प्रदान गर्न सक्रिय सीमित प्राज्ञिक टाउकाहरूलाई अधीनमा राख्ने कोसिस गरिरहेका छौँ । यही निर छ हाम्रो कमजोरी । शैक्षिक माहोल सिर्जना गर्न सौहार्दपूर्ण वतावरण सिर्जना गरी शैक्षिक उन्नयनका लागि प्राज्ञिक व्यक्तिको प्राज्ञ ज्ञान र सिपलाई भरपुर उपयोग कसरी गर्न सकिन्छ यसतर्फ सचेत हुनुपर्ने देखिन्छ ।
नेपाली भाषामा विद्यार्थीहरूलाई थप अब्बल बनाउनका लागि अवलम्बन गर्न सकिने प्रयासहरू :
– नेपाली भाषाप्रतिको सबल दृष्टिकोण निर्माण गर्ने ।
– नेपाली भाषा त जसले पढाए पनि हुन्छ भन्ने सोचको अन्त्य गर्नु पर्ने ।
– विद्यालयको तल्लो तहदेखि नै सम्बन्धित विषय शिक्षकको व्यवस्था गर्नु पर्ने ।
– शिक्षकको मनोविज्ञान बुझी सम्बन्धित विद्यालयले शिक्षिकलाई खुसी र सन्तुष्ट बनाउनु पर्ने ।
– शिक्षकलाई पूर्ण रूपमा विषयगत जिम्मेवारी दिनु पर्ने ।
– हरेक विद्यालयमा नेपाली भाषाकाे छुट्टै विभाग बनाउनु पर्ने ।
– हरेक भाषा विषयक शिक्षकले आफ्ना विद्यार्थीहरूलाई आफ्नो भाषा विषयको महत्त्व बोध गराउनु पर्ने ।
– शिक्षकले हरेक विद्यार्थीको आफू शिक्षकसँगै अभिभावक पनि भएको महसुस गरी शैक्षिक गतिविधि सञ्चालन गर्नु पर्ने ।
– शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थी केन्द्रित विधि, सामग्री केन्द्रित विधि, नाटकीय विधि एवम् साङ्गीतिक विधिको हरेक दिन फरक फरक तरिकाले प्रयोग गर्नु पर्ने ।
– शिक्षण सिकाइ क्रियाकलापमा पर्याप्त मात्रामा शैक्षिक सामाग्रीको प्रयोग गर्नु पर्ने ।
– शिक्षण सिकाइ क्रियाकलापमा सूचना तथा प्रविधिको प्रयोग गर्नु पर्ने ।
– सिकारुको पूर्वज्ञान शिक्षकले थाहा पाउनु पर्ने ।
– सिकारुसँगै अभिभावकको पनि मनोविज्ञान बुझेर शिक्षण गर्नु पर्ने ।
– विद्यार्थीका अभिभावक नियमित रूपमा विद्यालयमा गई आफ्ना बालबालिकाका शैक्षिक गतिविधिका बारेमा जानकारी लिने र विद्यालयलाई रचनात्मक सुझाव दिने ।
– कम्तिमा १५ दिनमा १ पटक प्रत्येक भाषा विषयक शिक्षकसँग विद्यार्थीका अभिभावकहरूले सम्भव भएसम्म स्कुलमै भेटेर नभए फोन सम्पर्क गरी आफ्ना बालबालिकाको शैक्षिक अवस्थाका बारेमा जानकारी लिने र रचनात्मक सुझव दिने ।
– विद्यार्थीका अभिभावक शिक्षकको सहयोगी बन्नु पर्ने ।
– सम्बन्धित विद्यालयले कम्तिमा वर्षमा २ पटक विषयगत तालिमको व्यवस्था गर्नु पर्ने ।
– हरेक पालिकामा सञ्चालित सामुदायिक एवम् संस्थागत विद्यालयका शिक्षकहरूका लागि वर्षमा कम्तिमा २ पटक विषयगत गोष्ठी एवम् सेमिनारको व्यवस्था गर्नु पर्ने ।
– पुनर्बल स्वरूप प्रदान गरिने दण्डलाई पूर्ण रूपमा निस्तेज गर्नु पर्ने ।
– भाषा शिक्षण एवम् प्रस्तुतिमा कठिन शब्द प्रयोग गर्नु पर्छ भन्ने दृष्टिकोणको अन्त्य गरी भाषिक सिकाइलाई जति सक्यो सरल बनाउनु पर्ने ।
– मौलिक एवम् मानक शब्द प्रयोगमा चनाखो हुनु पर्ने ।
– हरेक पाठ पढिसकेपछि त्यसलाई आफ्नो परिवेशमा ढाल्दै विषयगत रूपमा सारांश लेख्ने बानीको विकास गर्नु पर्ने ।
नेपाली भाषाको सुधारका लागि गर्नुपर्ने थप उपायहरू :
– कम्तिमा ३ देखि ५ कक्षासम्मका विद्यार्थीहरूले नेपाली भाषामा लेखिएका पाठ्यसमग्री राम्ररी चिन्न, पढ्न र लेख्न सक्ने हुनु पर्दछ, तब मात्र माथिल्लो कक्षामा विद्यार्थीहरूलाई कुनै पनि समस्या पर्दैन । कखरा राम्ररी नचिन्ने बालबालिकाले कसरी वर्णविन्यासको नियम थाहा पाउँछन् ? कसरी अक्षर चिन्न, पढ्न र लेख्न सक्छन् ? तसर्थ यस्ता कुरामा विशेष ध्यान दिनु पर्ने ।
– आफ्ना सन्तानले कति कक्षामा पढ्छन् ? भन्दा पनि के कति जानेका छन् ? भन्ने कुरालाई प्रमुखताका साथ लिई शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध विस्तार गरी शैक्षिक गतिविधि अगाडि बढाउने ।
– कक्षा २ सम्म सङ्गीतयुक्त शिक्षणमा जोड दिने ।
– कक्षा ३ देखि ५ सम्म विशेषगरी पाठ्यक्रमसँग सम्बन्धित भएर थप सीप विकासका लागि उपयोगी सामग्रीका रूपमा लघु कथा लेखन लगायतका क्रियाकलाप गराउने ।
– कक्षा ६ देखि ८ सम्म प्राज्ञिक ढङ्गले पाठ्यपुस्तकमा भएका कथा, कविता, नाटक, निबन्ध, जीवनी आदिको पूर्ण पाठ सारांश लेखनको क्रियाकलाप गराउने ।
– कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा समावेश भएका हरेक पाठ समेटिने गरी वर्षमा २ ओटा विश्लेषणमूलक प्राज्ञिक लेख लेखनको क्रियाकलाप गराउने ।
– कक्षा ११ मा पाठ्यपुस्तकमा समावेश गरिएका पाठसँग मिल्ने गरी कुनै शीर्षकमा शोध प्रस्ताव लेखन र कक्षा १२ मा सोही शीर्षकमा शोध प्रतिवेदन लेखन कार्य गर्न लगाउने ।
यसो कार्य गर्दा गराउँदा हाल नेपाली भाषामा देखिएको अशुद्ध लेखन र रचनात्मक एवम् प्राज्ञिक अनुसन्धानमूलक लेखनको अभाव जस्ता कुरामा सुधार आउने थियो ।
वार्तमान समय सुहाउँदो व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक, वस्तुनिष्ठ एवम् परीक्षणीय ज्ञानका लागि सम्बन्धित निकाय निकै चनाखो भई नेपाली भाषाको साख बचाएर नेपाली भाषालाई समयानुसार परिवर्तन गर्दै लैजानु पर्ने देखिन्छ । हाल सम्बन्धित पालिकाले शैक्षिक नेतृत्व गरिरहेको हुँदा पलिकाभित्र सञ्चालनमा आएका सामुदायिक एवम् संस्थागत विद्यालयमा शिक्षककाे छनाेट तथा याेग्यताकाे प्रमाणीकरण गर्ने काम सम्बन्धित पालिकाले गर्नुपर्दछ । यसैगरी एकरूपताका लागि एउटै पाठ्यक्रम लागु गर्नुपर्ने देखिन्छ ताकि सम्बन्धित पालिकाभित्रका विद्यार्थीहरूले जुन स्कुलमा पढे पनि समान खालको शिक्षा पाउन् ।
साभार :
No comments:
Post a Comment