टिप्पणी भनेको के हो ?
कुनै समसामयिक महत्त्वपूर्ण समस्या, घटना वा विषयका बारेमा प्रकाश पारी लेखिने खदिलो लेखाइलाई टिप्पणी भनिन्छ । यो समसामयिक जल्दाबल्दा समस्या, घटना वा विषयमा लेखिने त्यस्तो लेख हो जसमा सम्बन्धित समस्या, घटना वा विषयको सङ्क्षिप्त परिचय दिई त्यसका असर / प्रभाव / विशेषता आदिको विवेचना सहित आफ्नो ठोस सुझाउ पनि प्रस्तुत गरिएको हुन्छ ।
टिप्पणी लेख्ता ध्यान दिनु पर्ने मुख्य कुराहरू :
- टिप्पणी कुनै एक शीर्षकमा लेखिन्छ, त्यसैले जुन शीर्षकमा टिप्पणी लेख्नु पर्ने हो, सो शीर्षक उल्लेख गर्नु पर्दछ ।
- टिप्पणी लेखनका मुख्य तिन भाग हुन्छन्- आदि भाग, मध्य भाग र अन्त्य भाग ।
- यसको आदि भागमा सम्बन्धित विषय वा शीर्षकको परिचय दिनु पर्दछ ।
- यसको शीर्षक समस्यामूलक हुने हुँदा आदि भागमै त्यसलाई एक समस्याका रूपमा चिनाउनु पर्दछ
- मध्य भागमा शीर्षकका बारेमा खँदिलो व्याख्या गरी त्यसले सङ्केत गरेको समस्याले पार्ने प्रभावको प्रस्तुति प्रभावकारी ढङ्गमा गर्नु पर्दछ ।
- अन्त्य भागमा निचोडका रूपमा सबै कुरा झल्काई आफ्नो राय पनि प्रकट गर्नु पर्दछ । समस्यामूलक शीर्षक भए त्यसको समाधानको उपाय पनि अन्त्य भागमा बताउनु पर्दछ ।
नमुना – १
यात्रीहरू लिएर हिँडेको सवारी साधन अकस्मात् क्षति भई जनधनको हानि नोक्सानी हुनुलाई सवारी दुर्घटना भनिन्छ । हिजोआज हरेक हप्ताजसो सञ्चार माध्यममा सवारी दुर्घटनाका समाचारहरू आउने गर्छन् । दुर्घटनामा यति जनाको घटना स्थलमा यति जनाको उपचारार्थ अस्पताल लाँदालाँदै बाटामा र यतिको उपचार हुँदाहुँदै अस्पतालमा मृत्यु भयो भन्ने दुखद समाचार सुनिन्छ । घाइते र अपाङ्ग भएको समाचार पनि त्यतिकै आउँछ । यस्ता दुर्घटनासँगै बाटो बन्द, घेराउ, चालक तथा खलासीमाथि कुटपिट, नारा जुलुस आदिका समाचार र त्यसको कारणले सर्वसाधारणलाई कष्ट र हैरानी भइरहेको हुन्छ ।
वास्तवमा सवारी दुर्घटना कसरी र किन हुन्छ, यस कुरालाई गम्भीरतासाथ सोच्नु पर्ने भएको छ । सहरी क्षेत्रमा सवारी साधनको अत्यधिक चाप छ। साँगुरा सडक, सवारी साधनको तीव्र गति बाटो काट्ने पदयात्रीहरूको असावधानी, ट्राफिक नियमको अज्ञानता र ज्ञान भए पनि बेवास्ता आदि कारणले सहरी क्षेत्रमा सवारी दुर्घटना हुने गरेका छन् भने राजमार्गमा चल्ने सवारी साधनको छतमा समेत यात्रुहरू राख्ने प्रवृत्ति, चालकको लापरबाही, मदिरा सेवन र यात्रु चढाउन सवारी साधनहरूको तछाडमछाड गर्ने प्रवृत्ति पनि त्यत्तिकै जिम्मेवार बनेको छ । राजमार्गमा चल्ने कतिपय सवारी साधनमा सिकारु चालकले तालिमको मौका पाउँछन्, फलत: यसबाट पनि दुर्घटना हुने गर्छ भन्ने समाचार सुनिन्छ । कारण अरू पनि होलान् तर यस्ता सामान्य गल्तीले अनमोल जीवन गुम्ने, बाँचे पनि अपाङ्ग बन्ने, दुख पाउने साथै यही कारणले हुने बन्द, घेराउ, गाडी तोडफोड, चालकमाथि कुटपिट तथा सवारी साधनमाथि आगजनी जस्ता कार्य कसैका लागि पनि प्रिय होइनन ।
यातायातका साधनको सञ्चालन आम जनताको सुविधाका निम्ति गरिन्छ। यसलाई व्यवस्थित नियमित र सुरक्षित बनाउनु पर्छ । यसका निम्ति चालक, यात्रु र ट्राफिक प्रहरीले ध्यान पुर्याए मात्र पनि दुर्घटनाको मात्रा कम हुन सक्छ । तत्काल बाटो चौडा राम्रो र सुरक्षित गर्न नसकिएला तर मदिरा सेवन, यात्रीको कोचाकोच, जथाभावी बाटो काट्ने प्रवृत्ति आदिलाई घटाउन नसकिने होइन । राम्रो तालिम प्राप्त कुशल चालकले मात्र गाडी चलाउने गरेमा र कहाँ कुन गतिले गाडी चलाउनु सुरक्षित हुन्छ भन्ने विवेकपूर्ण सोचाइ राखेर चलाएमा निश्चय नै दुर्घटनाको मात्रा घट्न सक्छ । यसप्रति सवारी चालक, यात्रु र सवारीलाई व्यवस्थित गर्ने ट्राफिक प्रहरीवर्गले समेत ध्यान दिनु जरुरी छ ।
नमुना – २
सञ्चार माध्यम र जिम्मेवारी
कुनै समाचार वा सूचना एक ठाउँबाट अर्को ठाउँमा पठाउने काम सञ्चार हो अनि विश्वको कुनै पनि कुनामा घटेको घटनाका बारेमा विश्वभर जानकारी गराइदिने रेडियो, टेलिभिजन, इन्टरनेट, समाचारपत्र आदि सञ्चारका माध्यम हुन् ।
राष्ट्रनिर्माणका काममा महत्त्वपूर्ण भूमिका खेल्ने हुँदा सञ्चारलाई राष्ट्रको चौथो अङ्ग मानिन्छ । सञ्चार माध्यमकै कारण व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वको चौतर्फी विकास सम्भव हुने हुँदा यिनको निकै ठुलो जिम्मेवारी रहेको देखिन्छ । अहिले विश्वमा जे जस्तो उन्नति भइ रहेको छ त्यसमा सञ्चार माध्यमको पनि विशेष भूमिका रहेको छ । यसले विशाल विश्वलाई ज्यादै साँघुरो तुल्याइदिएको छ । यसकै सहयोग लिई मानिस घरमै बसेर ठुलठुला कामहरू गर्न सफल भएको छ । त्यसैले अहिले सञ्चार माध्यमहरू मानिसका लागि वरदान साबित भएका छन् । सञ्चार माध्यमबाट प्रसारित एवम् प्रकाशित समाचारहरू तथ्यमा आधारित हुनुपर्दछ र ती कुनै पनि देशको राष्ट्रियतामाथि सङ्कट निम्त्याउने र विश्वलाई नै युद्ध मैदानमा परिणत गराइदिने खालका कदापि हुनु हुँदैन । सञ्चार माध्यमकै कारण वेला वेलामा ठाउँ ठाउँमा सामाजिक सद्भाव खलबलिने र राष्ट्र राष्ट्रका बिचमा द्वन्द्व चर्किने गरेको पनि देखिएको छ । तथ्यहीन सामग्रीका कारण संसारमा डर लाग्दो उथलपुथल हुन सक्ने भएकाले त्यसतर्फ यी बढी जिम्मेवार हुनुपर्ने देखिन्छ ।
विश्वभरका मानिसलाई एक अर्काका नजिकमा ल्याउन र समग्र विश्वको विकासका लागि रचनात्मक भूमिका खेल्न सकेमा मात्र सञ्चार माध्यमले सही जिम्मेवारी पुरा गरेको ठहर्ने छ । यसतर्फ समग्र सञ्चार माध्यम सचेत तथा गम्भीर हुनु जरुरी छ ।
स्राेत : सबैकाे नेपाली, २०६९, साझा प्रकाशन
No comments:
Post a Comment