![]() |
Hukuma Nand Pandeya |
भाषा संस्कृतको ‘भाष्’ धातुबाट निर्मित शब्द हो । यसको शाब्दिक अर्थ ‘बोल्नु’ वा ‘भन्नु’ हो । भाषा वक्ताको बोली हो, वाक् ध्वनिको प्रतीक हो । भाषा विचार विनिमयको माध्यम हो । नेपाली भाषाको उत्पत्ति तत्कालीन कर्णाली अञ्चलको हुम्ला जिल्लाको सिन्जा, हालको प्रदेश नं. ६ को हुम्ला जिल्लाको सिन्जामा भएको हो । वि.सं. २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालमा १२५ जाति, १२३ भाषा र नेपाली भाषा मात्र बोल्नेको सङ्ख्या ४४.६ प्रतिशत छ ।
विचार परस्परमा आदाप्रदान गर्ने तीन तरिकाहरू :
(क) स्पर्शद्वारा विचार विनिमय :
कुनै पनि घटना वा विषयका बारेमा सङ्केत गर्दा कोट्याएर, कुहिनाले झक्झक्याएर, चिमोटेर सूचना प्रवाह गर्नु, जस्तै : कक्षामा गुरु आएको कुरा सङ्केत गर्नु आदि ।
(ख) सङ्केतद्वारा विचार विनिमय :
कुनै पनि घटना वा विषयका बारेमा सङ्केत गर्दा आङ्गिक अभिनय(नाक खुम्च्याउनु, आँखा झिम्क्याउनु, ओठ लेप्र्याउनु, टाउको हल्लाउनु, हात बनाउनु आदि) गर्नु, झन्डा देखाउनु, बत्तीको प्रयोग गर्नु जस्ता क्रियाकलापद्वारा सूचना प्रवाह गर्नु, जस्तै : सडकमा गाडी रोक्न सङ्केत गर्नु आदि ।
(ग) आवाजद्वारा विचार विनिमय :
कुनै पनि घटना वा विषयका बारेमा सङ्केत गर्दा कुरो बुझाउने प्रमाणिक उपाय यही हो । अन्य विविध तरिकाबाट विचार विनिमय भए पनि सबैभन्दा आधिकारिक उपाय बोल्नुलाई मानिन्छ ।
माथि उल्लिखित तीनवटै उपायबाट विचारको विनिमय हुन सक्ने भए पनि भाषामा उपर्युक्त सबै उपाय समेटिँदैनन् । व्यापक रूपमा भाषा भित्र सबै उपाय समेटिए पनि भाषावैज्ञानिक रूपमा चाहिँ विचार विनिमयको उपाय मानवीय उच्चारण अवयवद्वारा उच्चरित सार्थक ध्वनि समूह मात्र समेटिन्छन् ।
अतः मानिसले आफ्नो समुदायमा विचार विनिमय गर्ने वाक्प्रतीकहरूको विशिष्ट व्यवस्था नै भाषा हो ।
मानव भाषाका विशेषताहरू
(ख) भाषामा आफ्नै नियम हुन्छ ।
हरेक भाषा आ–आफ्नै नियममा बाधिएका हुन्छन् । जस्तै अङ्ग्रेजीमा क्ष् भबत चष्अभ। लेखिन्छ । नेपालीमा यसैलाई मैले भात खान्छु, लेखिन्छ । त्यसैले हरेक भाषाका भाषिक नियम फरक छन् ।
(ख) भाषा मौखिक प्रतिक्रिया हो ।
मानिसले आफ्ना रूचि, इच्छा, चाहना, मनोभावना, घटना र वस्तुको सम्प्रेषण बोलेर गर्छ ।
(ग) भाषा समष्टि रूप हो ।
भाषामा भाषिकाहरू, उपभाषिकाहरू र व्यक्तिबोलीहरूको समुच्चय हुन्छ ।
(घ) भाषा कथ्य र अभिव्यक्तिको योग हो ।
भाषिक वक्ताले सन्दर्भसापेक्ष गरेको कथनलाई बोद्धाले बुझ्छ । मान्छेले भन्नुपर्ने कुरा नै कथ्य हो । कथ्य नहुने भए भाषाको आवश्यकता पनि हुने थिएन होला । अतः भाषा भनेको कथ्य र अभिव्यक्तिको योग हो ।
(ङ) भाषामा याद्रिच्छिकता हुन्छ ।
कुनै खास वस्तु, घटना र भावलाई जनाउन खास किसिमका वाक्प्रतीकहरू स्थापित भई त्यसले परम्पराको रूप ग्रहण गर्नुलाई याद्रिच्छिकता भनिन्छ । कुनै पनि वस्तु, घटना र भावलाई जनाउने शब्द अग्रजहरूबाट नवोदित पिँढीले सुन्छन् र बिनातर्क, बिनाआनाकानी, प्रयोग व्यवहार गर्दछन्, यसैलाई याद्रिच्छिकता भनिन्छ ।
(च) भाषा परम्परित तथा बोधगम्य हुन्छ ।
भाषाको आफ्नै परम्परा हुन्छ । हरेक भाषामा पुरानो पिँढीले नयाँ पुस्तामा भाषालाई सुम्पदै जान्छ । परम्परादेखि चलेर आउने भएकाले भाषा समाजको साझा सम्पत्ति पनि हो । भाषा समाजका निमित्त बोधगम्य पनि हुन्छ ।
(छ) भाषाको प्रयोग खास समुदायमा हुन्छ ।
कुनै पनि भाषिक समाज भौगोलिक सीमा र समाज, जातीय सीमा र समाज अनि धार्मिक समाजभन्दा भिन्न र निरपेक्ष हुन्छ । त्यसैले खास समुदायका मानिसले मात्र खास भाषाको प्रयोग व्यवहार गर्दछ ।
(ज) भाषामा असीमित उत्पादनशीलता हुन्छ ।
मानिसले सुनेको भाषालाई आफ्नो मस्तिष्कमा पु¥याएपछि असीमित वाक्य निर्माण गर्छ । कहिल्यै नसुनेका, नपढेका र कसैले नभनेका वाक्य सुन्न, बुझ्न र भन्न सक्छ, त्यसैले भाषामा असीमित उत्पादनशीलता हुन्छ ।
(झ) मानवीय भाषामा अन्तःपरिवर्तनशीलता हुन्छ ।
भाषा समय सापेक्ष हुने हुँदाभाषामा परिवर्तन हुनु स्वभाविक ठानिन्छ । पहिले पुँडो भया, सुन्याको, भयाको जस्ता शब्द प्रयुक्त हुन्थे भने अहिले ती शब्द क्रमशः पर भए, सुनेको, भएको जस्ता रूपमा परिवर्तन भएको देखिन्छ । त्यसैले मानवीय भाषामा अन्तः परिवर्तनशीलता हुन्छ ।
(ञ) भाषामा भाव–अभाव र मूर्त–अमूर्त द्योतन गर्ने क्षमता हुन्छ ।
ईश्वर, ब्रह्म, दया, माया, स्वर्ग, नरक, आदिको अभिव्यक्ति मूर्त रूपमा सम्भव छैन । त्यस्तै भाषामा सुनकेस्रा मैयाँ, आकाश कुसुम, मनको लड्डू घिउसित खानु, टुसाएको ढुङ्गोजस्ता अस्तित्वमा नभएका वस्तु पनि हुन्छन् तर उक्त भाव भएको कुरा सुन्ने र भन्ने क्रम आदि अनादि कालदेखि चल्दै आयो । बुझ्ने मानिस र जाति जीवित रहेसम्म भाषाले अभाव र अमूर्त वस्तुलाई पनि बोध गराउने कुरामा सन्देह छैन । मानवेतर प्राणीको भाषामा यस्तो विशेषता पाइँदैन ।
(ट) भाषाबाट सांस्कृतिक सञ्चरण हुन्छ ।
प्रत्येक समुदायका मानिसले भाषाका माध्यमबाट आफ्नो अनुकूलको संस्कृतिको पक्षपोषण पाएको हुन्छ । उसले आफ्नो उत्तराधिकारीलाई भाषाका माध्यमबाट त्यसै संस्कृतिको अनुकरण र अनुशीलन गराउने गर्छ । त्यसैले भाषाबाट संस्कृतिक सञ्चरण हुन्छ ।
(ठ) भाषा अनुकरणजन्य हुन्छ ।
पुरानो पिँढीले नयाँ पिँढीलाई जेजस्ता वाक्प्रतीकहरू प्रयोग गरेर वस्तु, घटना र भावलाई जनाउँछ, त्यसलाई उसले अनुकरण गरेर प्रयोग गर्छ । त्यसैले भाषा अनुकरणजन्य हुन्छ ।
(ड) मानव भाषा व्यक्त हुन्छ ।
अमूर्त विचार, भाव, इच्छा र आवेगलाई भाषाका माध्यमबाट परस्परमा विनिमय गर्न सकिन्छ । पीर परको मान्छेले रुँदै भन्दै गरेको विचार र भावना सुनेर सुन्ने मान्छे कहिले बर्बरी आँसु काढ्छ त कहिले डाँको छाडेर रुन पुग्छ । त्यस्तै अदृश्य, अगोचर ईश्वरप्रति एकाकार र तल्लीन धार्मिकले आफ्नो विचारको प्रकटीकरण गरी अनन्य भक्त जन्माउँछ । भाषामा व्यक्त गर्ने क्षमता असीमित भएकै कारणले यस्तो कुरा सम्भव भएको हो ।
(ढ) मानव भाषामा विशिष्टता हुन्छ ।
अभाषिक क्रियाकलापमा संलग्न र सक्रिय रहेर पनि विचारको विनिमय सहज र स्वभाविक रूपमा हुन सक्नु मानवीय भाषाको विशिष्टता हो । जस्तै गाउँघरमा दाम्लो बाट्दै, कुरा गर्दै, बीउ काढ्दै गफ गर्दै गर्दछन् । भाषामा भएको विशिष्टताका कारणले नै यस्तो गर्न सम्भव भएको हो ।
(ण) भाषामा ध्वनिविभेदीकरण हुन्छ ।
मानव भाषा उत्तेजनाको प्रतिक्रिया भएको हुँदा उद्दीपनअनुसार ध्वन्यात्मक अन्तर देखिन्छ । दया, माया, क्रोध, आशक्ति आदिको अभिव्यक्तिमा ध्वन्यात्मक अन्तर हुन्छ ।
(त) भाषामा द्वैत व्यवस्था हुन्छ ।
प्रत्येक भाषामा दुई तत्त्व अनिवार्य रहेका हुन्छन् । (१) सार्थक ध्वनि अंश र (२) सार्थक रूप/रूपिम वा शब्द, जस्तै : ‘राम स्कुल गयो ।’ भन्ने वाक्यमा तीनओटा रूप÷शब्द छन् ः राम, स्कुल, गयो । यी सबै शब्दको समष्टि रूप हो ‘राम स्कुल गयो ।’ यसलाई छुट्याउने वा ध्वनि विचलन गर्ने हो भने केही अर्थ खुल्दैन । समष्टि र क्रमयुक्त रूप हुनु भनेको ध्वनि र रूपको द्वैत व्यवस्था हो ।
(थ) भाषा सरलतातिर उन्मुख हुन्छ ।
कुनै पनि भाषिक वक्ताले कुनै वस्तु, घटना र भावलाई बुझाउने दुरूह (गाह्रो) शब्दलाई सरल बनाई प्रयोग गर्छ । जस्तै : श्रावण – साउन, आषाढ – असार, ऋण – रिन आदि । त्यसैले भाषा सरलतिर उन्मुख हुन्छ ।
No comments:
Post a Comment