परिचय :
कुनै पनि समसामयिक विषयमा प्रबुद्ध समाजको ध्यानाकर्षण गराउने एउटा सजिलो माध्यम सम्पादकलाई चिठी पनि हो । पत्र पत्रिकामा छापिएका सामग्रीहरूका विषयमा आफ्नो सहमति वा असहमति व्यक्त गर्ने र त्यस्ता सामग्रीहरू भ्रमात्मक छन् भने तथ्य सहित तिनको खण्डन गरी सत्यतथ्यको जानकारी दिने प्रयोजनका निम्ति पनि सम्पादकलाई चिठी लेखिन्छ । समाजसँग सम्बन्धित कुनै पनि समस्यालाई उजागर गर्नका निम्ति पनि सम्पादकलाई चिठी लेख्ने गरिन्छ ।
सम्बद्ध विषयमा समाजको ध्यानाकर्षण गराउने यस्तो चिठी लेख्दा निम्न कुराहरूमा ध्यान दिनुपर्छ :
- चिठीको बेहोरा सङ्क्षिप्त एवम् पाठकलाई प्रभाव पार्ने खालको हुनुपर्छ ।
- चिठीमा लेखिने कुराहरू तर्कपूर्ण एवम् सत्यतथ्यमा आधारित हुनुपर्छ ।
- पत्रिकामा प्रकाशित सामग्रीलाई लिएर आफ्ना प्रतिक्रिया वा असहमति व्यक्त गर्ने उद्देश्यले लेखिएको हो भने यस्तो चिठी आक्षेपात्मक एवम् आक्रामक नभई शिष्ट मर्यादित एवम् सुपाच्य हुनुपर्छ ।
- यस्तो चिठी लेख्दा अनावश्यक गन्धन नहोस्, भाषाशैली अस्पष्ट एवम् अमूर्त नहोस् भन्ने कुरामा सजग हुनुपर्छ ।
- सम्पादकलाई चिठी लेख्दा सम्बोधन, विषय वस्तुको प्रस्तुति तथा समापनको क्रमबद्ध ढाँचाप्रति पनि सचेत हुनु पर्छ ।
नमुना – १
मिति : २०६७।०१।१०
श्री सम्पादकज्यू,
गोरखा पत्र संस्थान,
धर्मपथ, काठमाडौँ ।
धर्मपथ, काठमाडौँ ।
विषय : ध्यानाकर्षण सम्बन्धमा ।
महोदय,
गोरखा पत्रका हालसालैका अङ्कहरूमा फेरि पनि मुलुकमा देखा परेका राजनीतिक समस्याहरूको समाधान खोज्ने निहुमा केही राजनीतिक दलहरूले नेपाल बन्दको आह्वान गर्न थालेको खबर छापिएको पढ्न पाउँदा हामी विद्यार्थीहरू अत्यन्त मर्माहत भएका छौं। विगतको ऐतिहासिक जन आन्दोलन र लोकतन्त्रको स्थापनापछि अब कुनै पनि समस्याको निराकरणका निम्ति देशका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरू एकै ठाउँमा बसी आपसमा छलफल गर्छन् र सबैलाई स्वीकार्य हुने गरी समस्याको उचित समाधान निकाल्छन् भन्ने हाम्रो सपना थियो । तर यस्तो पद्धति र प्रक्रियाको बेवास्ता गरी फेरि पनि बन्द हडताल जस्ता दबाबमूलक गतिविधि मार्फत आफ्ना मागहरू पुरा गराउने बाटो रोज्न थालिएको छ। यदि यस खालको पद्धति र परिपाटीलाई प्रोत्साहित गर्दै गयौं भने हामीले चाहेको नयाँ नेपाल र सच्चा लोकतान्त्रिक संस्कृतिको निर्माण हुन सक्ला ? त्यसैले यस विषयमा मुलुकका सबै राजनीतिक दलहरू बेलैमा सचेत एवम् जागरूक भई पारस्परिक छलफलद्वारा कुनै पनि समस्याको समाधान निकाल्ने संस्कृतिको निर्माणमा लाग्न यस पत्रिका मार्फत सम्बद्धः सबैमा हार्दिक अनुरोध गर्दछु र यस्तो लोकतान्त्रिक अभ्यासबाट मात्रै शान्त वातावरणमा पढ्न पाउने विद्यार्थीहरूको मौलिक अधिकार सुरक्षित हुनेतर्फ पनि सम्बद्ध सबैको ध्यानाकर्षण गराउन चाहन्छु । धन्यवाद !
भवदीय
चन्द्र बहादुर थेबे
सुभाङ–४, पाँचथर
स्राेत : सबैकाे नेपाली, २०६९, साझा प्रकाशन
सुभाङ–४, पाँचथर
स्राेत : सबैकाे नेपाली, २०६९, साझा प्रकाशन
No comments:
Post a Comment