![]() |
Hukuma Nand Pandeya |
–हुकुमानन्द पाण्डेय
लेखसार
प्रस्तुत लेख मनोवादी भाषावैज्ञानिक तथा आधुनिक भाषाविज्ञानका चर्चित अमेरिकी भाषाविद् अब्राहम नोम चम्स्कीको रूपान्तरण व्याकरणका मान्यताहरूमा आधारित भएर सम्पन्न गरिएको छ । व्यवहारवादी मान्यताको ठीक विपरित मान्यताका आधारमा रचना गरिएको चम्स्कीको रूपान्तरण व्याकरणका मान्यताहरू र ती मान्यताहरूको भाषा शिक्षणमा के कस्तो उपयोगिता छ ? भन्ने जिज्ञासा मेटाउन यो अनुसन्धानात्मक लेख तयार पारिएको हो । अध्ययनका लागि पुस्तकालय तथा विभिन्न द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी वर्णनात्मक एवम् विश्लेषणात्मक पद्धतिको प्रयोग गरेर निष्कर्ष निकालिएको छ । चम्स्कीको रूपान्तरण व्याकरणमा बालकले जन्मजातरूपमा ज्ञान आर्जनको संयन्त्र लिएर आउने र हरेक भाषमा भाषिक सार्वभौमिकता, सिर्जनशीलता र सामथ्र्यजस्ता विविध भाषिक पक्षहरूका कारण ती भाषाहरू उसले सहजै सिक्ने कुरा उल्लेख गरेका छन् । उनले यही संयन्त्रका कारण बालकले संसारका सम्पूर्ण भाषा सिक्न सक्दछ भन्ने मान्यता अगाडि सारेका छन् । यसरी बालक जन्मदा खाली दिमाग हुन्छ र विस्तारै अनुभवका आधारमा उसले भाषा सिक्छ भन्ने व्यवहारवादी, अनुभववादी एवम् संरचनावादी विचारलाई मनोवादी चम्स्कीले संज्ञानात्मक कोणबाट विरोध गर्दै आफ्ना मान्यताहरू अगाडि सारेको पाइन्छ ।
मुख्य शब्दावली
संयन्त्र, वाङ्मय, क्रान्ति, सामर्थ्य, चिन्तन, रूपान्तरण, दार्शनिक, निरर्थक
१. विषय प्रवेश
विचार विनिमयको सशक्त माध्यम मानिने भाषाको उत्पत्ति मानव सभ्यताको विकाससँगै भएको मानिन्छ । भाषाका सवालमा विभिन्न समयमा पूर्व र पश्चिममा आआफ्नै किसिमले चिन्तन गरिएको पाइन्छ । पूर्वमा भाषा चिन्तनको मुहान वेदलाई मानिन्छ भने पश्चिममा ग्रिक ल्याटिन भाषाको वाङ्मयलाई मानिन्छ (गौतम, ओझा, सुवेदी, २०६७, पृ. २८१–२८२) । यसरी निकै पहिलेदेखि भाषाका बारेमा चिन्तनहरू हुँदै आएकोमा पाश्चात्य जगत्मा व्यवहारवादी एवम् मनोवादी दार्शनिकहरूको जन्म भएको पाइन्छ । उनीहरू व्यवहारवादी सिद्धान्त र मनोवादी सिद्धान्तको फरक फरक पक्षमा लागेर आआफ्नै ढङ्गले भाषाको व्याख्या गरेको पाइन्छ । यी मध्येका मनोवादी सिद्धान्तका पक्षमा चम्स्की देखा पर्दछन् ( भण्डारी, पौड्याल, २०६८, पृ. १३५) । मनोवादी भाषावैज्ञानिक तथा आधुनिक भाषाविज्ञानका चर्चित अमेरिकी भाषाविद् एवम् रूपान्तरण व्याकरणका जन्मदाता अब्राहम नोम चम्स्कीको जन्म सन् १९२८ डिसेम्बर ७ मा अमेरिकाको फिलाडेल्फियामा भएको थियो । चम्स्की जन्मदा अमेरिकामा सपिर, बोआस र ब्लुमफिल्डका भाषासम्बन्धी चिन्तनको प्रभाव थियो । सन् १९५५ मा पेनसिलभानिया विश्वविद्यालयबाट ‘ट्रान्सफर मेसनल एनालाइसिस’ शीर्षकमा विद्यावारिधि गरेका चम्स्कीले संरचनावादी व्याकरण मान्यताको खण्डन गर्दै रूपान्तरण व्याकरणको प्रतिपादन गरी आधुनिक भाषाविज्ञानका क्षेत्रमा निकै ठूलो योगदान दिएका छन् । भाषामा रूपान्तरण हुन्छ भन्ने कुरा परम्परागत व्याकरण र संरचनावादी भाषा विज्ञानका क्षेत्रमा पनि चर्चा हुँदै आए तापनि यसले सैद्धान्तिक स्वरूप भने चम्स्कीबाट मात्र प्राप्त गरेको देखिन्छ । यसैगरी परम्परागत व्याकरण र संरचनावादी भाषाविज्ञानका क्षेत्रमा रूपान्तरणको प्रसङ्ग आए तापनि भाषिक उत्पादनको कुरा आएको हुँदा तत्कालीन समयमा प्रत्येक भाषाको वाक्यका संरचनालाई हेरेर नियम बनाइन्थ्यो । संरचनावादले भाषिक तथ्य र अनुसन्धान प्रक्रियालाई जोड दिई मानवमस्तिष्कलाई महत्त्व दिँदैनथे (न्यौपाने, भण्डारी, न्यौपाने, २०६८, पृ. ८५) । यस्तो पृष्ठभूमिमा चम्स्कीले आफ्ना गुरु नेल्सन गुडम्यानबाट अनुभववादी दर्शन सिकेका थिए भने सन् १९५१ मा भाषाशास्त्री ह्यारिसका निर्देशनमा ‘आधुनिक हिब्रु भाषामा रूपध्वनिप्रक्रिया’ शीर्षकमा स्नातकोत्तरको शोधकार्य गर्दा नै भाषिक तथ्यका वर्णनमा सीमित हुने संरचनावादी पद्धति उनलाई मन परेको थिएन । तसर्थ यस पद्धतिभन्दा भिन्न रहेर उक्त शोधकार्य गर्दा सन्धिसूत्रहरूलाई उत्पादक सूत्रहरूमा प्रस्तुत गरेका थिए ।
चम्स्कीको योगदानलाई मनोविज्ञानका क्षेत्रमा फ्रायडले र अर्थशास्त्रका क्षेत्रमा केनिसले दिएका योगदानसँग तुलना समेत गर्न सकिन्छ । सन् १९४५ मा जेलिङ ह्यारिसजस्ता प्रसिद्ध संरचनावादी भाषाशास्त्रीको प्रेरणाबाट भाषा क्षेत्रमा प्रवेश गरेका चम्स्कीले सन् १९५७ मा सिन्ट्याक्टिक स्ट्रक्चर्स मार्फत नयाँ क्रन्ति थालेका थिए । उनले स्कुलमा परम्परागत व्याकरण पढेका थिए भने ११ वर्षको उमेरमा आफ्ना बुबाद्वारा लेखिएको हिब्रू भाषाको व्याकरणको प्रुफ पढेका थिए (गैरे, २०६४, पृ. ३४३) । यसरी हेर्दा उनी परम्परावादी र संरचनावादी दुबैखाले व्याकरणबाट परिचित भएको पुष्टि हुन्छ । चम्स्कीले पेन्सिलभानिया विश्वविद्यालयमा रहँदा आफ्ना गुरु जेलिङ्ग ह्यारिसका निर्देशनमा संरचनावादकै सीमाभित्र रही वाक्य रूपान्तरण बारे काम गरेका थिए । उनले अमेरिकामा संरचनावादी पद्धति निकै चर्चित भएका बेला त्यसलाई चुनौति दिँदै आफ्नो मान्यता अगाडि सारेको पाइन्छ ।
चम्स्कीद्वारा प्रतिपादित रूपान्तरण व्याकरणका कतिपय धारणाहरू समय समयमा सामयिक सुधार, परिमार्जन एवम् परिष्कार गर्दै लगेको पाइन्छ । यसरी समय समयमा परिमार्जन गरिए तापनि रूपान्तरण र उत्पादक व्याकरणका आधारभूत मान्यता परिवर्तन भने गरिएको छैन । सामान्यतया चम्स्कीका रूपान्तरण व्याकरणका विकासक्रमलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :
(क) क्लासिकल सिद्धान्त : वाक्यात्मक संरचना – सन् १९५७
(ख) मानक सिद्धान्त : वाक्यविन्यासको सैद्धान्तिक पक्ष – सन् १९६५
(घ) विस्तारित मानक सिद्धान्त – सन् १९७०
(ङ) संशोधित विस्तारित मानक सिद्धान्त – सन् १९७५
(च) अधिशासन र सम्बद्धता सिद्धान्त – सन् १९७९
(छ) न्यूनतमवादी सिद्धान्त - १९९५ (न्यौपाने, भण्डारी, न्यौपाने, २०६८, पृ. ८६) ।
यसरी चम्स्कीद्वारा प्रतिपादित रूपान्तरण व्याकरणका यी विकासक्रमहरू देखा परेका छन् । उनले आफ्नो विद्यावारिधिकानिम्ति प्रस्तुत शोधप्रबन्धको संशोधित पुस्तक भाषिक सिद्धान्तको तार्किक संरचना कुनै प्रकाशन संस्थाले अस्वीकार गरेपछि सन् १९७५ मा त्यहीँ पुस्तकलाई ‘वाक्यात्मक संरचना’ भन्ने ग्रन्थमार्फत प्रकाशन गरेका थिए । उक्त ग्रन्थमार्फत स्थापित क्लासिकल सिद्धान्तदेखि न्यूनतावादी सिद्धान्तसम्म आइपुग्दा समय समयमा विभिन्न परिष्कार एवम् परिमार्जन भएको देखिन्छ । आधुनिक भाषावैज्ञानिक चम्स्कीद्वारा प्रतिपादित रूपान्तरण व्याकरणका मान्यताहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
(क) अनुभववाद र व्यवहारवादको विरोध
(ख) बुद्धिवाद र मानसिकतावादी अवधारणाको समर्थन
(ग) भाषिक सम्पादनको विरोध र भाषिक सामथ्र्यमा जोड
(घ) भाषिक सार्वभौमिकताको खोजीमा जोड
(ङ) द्विस्तरीय संरचनाको स्वीकार
(च) भाषिक सिर्जनशीलता वा उत्पादनशीलतामा जोड
(छ) वाक्यवादी व्याकरणात्मक अवधारणाको स्वीकार
(ज) भाषिक व्यवहार नियमशासित हुने दृष्टिकोण
(झ) नयाँ सैद्धान्तिक आधार (न्यौपाने, भण्डारी, न्यौपाने, २०६८, पृ. ८६) ।
चम्स्कीको रूपान्तरण व्याकरणका यी विविध मान्यताहरूमध्ये भाषिक सामथ्र्य, भाषिक सार्वभौमिकता र भाषिक सिर्जनशीलताको अभिप्रायलाई यस लेखमा विश्लेषण गरिएको छ ।
२. समस्या कथन र अध्ययनको उद्देश्य
भाषिक चिन्तनका सवालमा विभिन्न सम्प्रदायका विद्वानहरूले विभिन्न तर्कहरू प्रस्तुत गरेको पाइन्छ । यसैगरी व्यवहारवादी र मनोवादी भाषावैज्ञानिकहरूको भाषाप्रतिको मान्यता पनि फरक रहेको छ । भाषिक मान्यताका सवालमा मनोवादी भाषावैज्ञानिक अब्राहम नोम चम्स्कीका भाषासम्बन्धी के कस्ता मान्यताहरू छन् ? र उनका मान्यताको भाषा शिक्षणमा केकस्तो उपयोगिता छ ? भन्ने कुरा पत्ता लगाउनु नै यस अध्ययनको उद्देश्य रहेको छ ।
३. अध्ययन विधि
प्रस्तुत लेख सम्पन्न गर्नका लागि पुस्तकलय तथा विभिन्न पुस्तक, प्रकाशित लेखरचना एवम् द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरेर उपलब्ध सामग्रीलाई वर्णनात्मक एवम् विश्लेषणात्मक पद्धतिको प्रयोग गरी विश्लेषण गरिएको छ ।
४. विश्लेषण
(क) भाषिक सामर्थ्य
चम्स्कीको रूपान्तरण व्याकरणले संरचनावादीहरूले महत्त्व दिएको भाषिक सम्पादनसम्बन्धी मान्यतालाई अस्वीकार गरी भाषिक सामथ्र्यलाई जोड दिएको छ । भाषिक सामथ्र्य भनेको भाषाभाषीमा रहेको भाषासम्बन्धी वास्तविक ज्ञान हो । यो भाषिक वक्तामा रहेको त्यस्तो क्षमता हो जसका आधारमा भाषिक वक्ताले नसुनेका, नपढेका, नबोलेका, नलेखेका वाक्य सुन्न, पढ्न, बोल्न र लेख्न समर्थ हुनुका साथै स्वीकृत र अस्वीकृत, निरर्थक र अर्थयुक्त, व्याकरणिक र अव्याकरणिक वाक्यलाई छुट्याउन समर्थ हुन्छ । चम्स्कीले बालकले उसको भाषिक सामथ्र्यलाई जन्मजातरूपमा लिएर आउने हुँदा उसले कहिल्यै नसुनेका र प्रयोग नगरेका वाक्यहरू बुझ्न सक्ने र सन्दर्भअनुसार प्रयोग गर्न सक्ने, भाषाको आदर्श वक्ता वा स्रोतामा सहज भाषिक ज्ञान हुने, अपठित वक्तामा पनि सहजरूपमा अन्तर्निष्ठ व्याकरण रहने, वक्तामा वाक्यको संरचना र त्रुटिहरूको पहिचान गर्ने, द्वयार्थक शब्द तथा वाक्यहरूको अर्थ बुझ्नेजस्ता गुणहरू हुने मान्यता राख्दै चमस्कीले यसप्रकारको क्षमतालाई भाषिक सामथ्र्य भनेका छन् ।
चम्स्कीको रूपान्तरण व्याकरणको अर्को मान्यता भाषिक सार्वभौमिकता हो । भाषिक सार्वभौमिकता भनेको संसारका सम्पूर्ण भाषाहरूमा पाइने साझा पन हो । चम्स्कीको रूपान्तरण व्याकरणले संसारका सबै भाषाका आन्तरिक तहमा साझा विशेषताहरू रहेका हुन्छन् भन्ने मान्यता राखेको पाइन्छ । सबै मानिसका मस्तिष्कमा एकै किसिमका भाषिक संरचना हुने भएकाले मानिसमा संसारका जुनसुकै भाषा पनि सिक्न सक्ने क्षमता हुन्छ भने मानव भाषामा रहेका साझा विशेषताका कारणले मानिसले सबै भाषा सिक्न सक्षम भएको हो भन्ने मान्यता चम्स्कीको रहेको छ । उनले संसारका सम्पूर्ण भाषाको आन्तरिक संरचना समान हुने तर बाह्य संरचनामा आउँदा मात्र रूपान्तरण नियमका कारण फरक हुने धारणा व्यक्त गरेका छन् । बाह्य संरचनामा हुने भिन्नताले गर्दा एउटा भाषाभाषीले अर्को भाषा बुझ्दैन । यसरी बाह्य संरचनाका तहमा भाषाहरू विशिष्ट भए पनि आन्तरिक संरचनामा भाषाहरूका समान गुण पाइन्छ त्यसैलाई भाषिक सार्वभौमिकता भनेर चम्स्कीले अथ्र्याएका छन् ।
(ग) भाषिक सिर्जनशीलता
चम्स्कीको अर्को भाषिक मान्यता भनेको भाषिक सिर्जनशीलता हो । सीमित नियमका आधारमा असीमित वाक्यहरूको उत्पादन गर्ने मानवमस्तिष्कीय सामथ्र्यलाई सिर्जनशीलता भनिन्छ । चम्स्कीले हरेक भाषामा सिर्जनशीलता हुन्छ भन्ने मान्यता अगाडि सारेका छन् । मानिसले भाषाका नियमहरू जानेका आधारमा कहिल्यै नसुनेका वाक्यहरू बुझ्न, प्रयोग गर्न र नवीन वाक्यहरू निर्माण गर्न सक्दछ । यस मान्यताका आधारमा भाषिक वक्ताले सूत्रात्मक हिसाबले थोरै ज्ञानका आधारमा पनि धेरै भाषिक कार्य सम्पन्न गर्न सक्दछ । भाषिक प्रयोक्ताले कुनै एक वाक्यको नियमलाई देखाई त्यसका आधारमा उसले अनन्त वाक्यहरूको सिर्जना गर्न सक्दछ । त्यस्तै जानेका सीमित नियमका आधारमा कहिल्यै नसुनेका र नपढेका वाक्यहरू बुझ्न तथा नयाँ वाक्यहरू निर्माण गर्न समेत सक्दछ । यसैलाई भाषिक सिर्जनशीलता भनिन्छ । यही भाषाको सिर्जनशील गुणलाई चम्स्कीको रूपान्तरण व्याकरणले स्वीकार गरी भाषिक सिर्जनीलताको अभिप्रायलाई स्पष्ट पारेको छ ।
४.१ चम्स्कीको रूपान्तरण व्याकरणको भाषा शिक्षणमा उपयोगिता
रूपान्तरण व्याकरणका जन्मदाता एवम् मनोवादी भाषावैज्ञानिक अब्राहम नोम चम्स्कीको रूपान्तरण व्याकरण मनोवादी सिकाइ सिद्धान्तमा आधारित मान्यता हो । चम्स्कीको यस व्याकरणले आधुनिक भाषाविज्ञानमा नयाँ युगको थालनी गरेको मानिन्छ । उनले रचना गरेको रूपान्तरण व्याकरणलाई भाषा शिक्षणमा उपयोग गर्न सकिन्छ । चम्स्कीको रूपान्तरण व्याकरणको भाषा शिक्षणमा निकै महत्त्वपूर्ण उपयोगिताहरू रहेको पाइन्छ । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
(क) मनोभाषाविज्ञानको भाषा प्राप्ति प्रक्रियाअनुसार भाषा शिक्षणलाई सहज बनाउन सकिन्छ ।
(ख) हरेक बालबालिकाहरूमा संज्ञानात्मक क्षमता हुने हुँदा उक्त संज्ञानात्मक क्षमतालाई विकास गर्ने गरी शिक्षण गर्न सकिन्छ ।
(ग) बालबालिकाहरूको अन्तर्निहित क्षमताको भाषा सिकाइमा भरपुर उपयोग गर्न सकिन्छ ।
(घ) सीमित नियम र आधारभूत सूत्रको प्रयोग गरी असीमित ज्ञान सिक्न र बालबालिकामा स्वःसिकाइ प्रविधिको उपयोग गर्न सकिन्छ ।
(ङ) बालबालिकामा निहित भाषिक सामथ्र्यमा जोड दिई शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सकिन्छ ।
(च) सिकाइमा भाषा प्राप्ति संयन्त्र (एल्.ए.डी) को उपयोग गरी शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सकिन्छ ।
(छ) भाषिक सिर्जनशीलतामा आधारित शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सकिन्छ ।
(ज) सिकाइमा बालबालिकको भाषिक सिर्जनशीलताको उच्च मूल्याङ्कन गरी सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ ।
(झ) प्राकृतिक भाषिक वातावरण निर्माण गरी शिक्षण सिकाइ क्रियाकलाप गर्ने कलाको विकास गराउन सकिन्छ ।
(ञ) भाषिक उत्पादनशीलतालाई सिकाइ प्रक्रियामा भरपुर उपयोग गर्न सकिन्छ ।
(ट) सिकाइमा खण्डीकारण पद्धति नभई समग्रतावादी पद्धतिको उपयोग गर्न सकिन्छ ।
(ठ) भाषाका विशिष्ट तथा सार्वभौम नियम पहिल्याई शिक्षण गर्न सकिन्छ ।
५. निष्कर्ष
मनोवादी भाषावैज्ञानिक अब्राहम नोम चम्स्कीले आधुनिक भाषाविज्ञानका क्षेत्रमा रूपान्तरण व्याकरण लेखेर ठूलो योगदान दिएका छन् । संरचनावादी एवम् व्यवहारवादी भाषावैज्ञानिकहरूको एकछत्र राज चलिरहेको बेलामा आफू खरो रूपमा प्रस्तुत हुँदै उनले आफ्ना भाषिक मान्यताहरू अगाडि ल्याएका हुन् । बालकले जन्मदा खाली दिमाग लिएर आएको हुँन्छ र विस्तारै भाषिक व्यवहार गर्दै जाँदा उसले विभिन्न भाषा र भाषाका नियम सिक्दै जान्छ भन्ने अनुभववादी, व्यवहारवादी एवम् संरचनावादीहरूको मान्यतालाई चम्स्कीले चुनौती दिँदै उनी बालक जन्मँदा खाली दिमाग नहुने र बालकले जन्मजातरूपमा ज्ञान आर्जनको संयन्त्र (एल.ए. डी) लिएर आएको हुन्छ भन्दै व्यवहारवादीहरूको विपक्षमा खरो रूपमा प्रस्तुत भएका छन् । यसरी उनले व्यवहारवादीहरूको मतलाई खण्डन गर्दै रूपान्तरण व्याकरणको रचना गरी आफ्ना मान्यतालाई अगाडि सारेका छन् । उनको रूपान्तरण व्यारकणका मान्यताहरूमा अनुभववाद र व्यवहारवादको विरोध, बुद्धिवाद र मानसिकतावादी अवधारणाको समर्थन, भाषिक सम्पादनको विरोध र भाषिक सामथ्र्यमा जोड, भाषिक सार्वभौमिकताको खोजीमा जोड, द्विस्तरीय संरचनाको स्वीकार, भाषिक सिर्जनशीलता वा उत्पादनशीलतामा जोड, वाक्यवादी व्याकरणात्मक अवधारणाको स्वीकार, भाषिक व्यवहार नियमशासित हुने दृष्टिकोण र नयाँ सैद्धान्तिक आधारजस्ता मान्यता रहेका छन् । चम्स्कीले यिनै मान्यताको जगमा उभिएर बालकमा रहने ज्ञान आर्जनको संयन्त्र (एल.ए.डी) एकनास नभई उमेरअनुसार सक्रिय हुने कुरा बताएका छन् । यही ज्ञान आर्जनको संयन्त्रका कारण सबैमा अनिवार्यरूपमा भाषा सिक्न सक्ने सामथ्र्य हुने हुँदा हरेक बालकले विस्तारै भाषा सिक्दै जाने कुरा बताएका छन् । यस्तै बालकमा भाषिक सामथ्र्य र सिर्जनशीलता हुने हुँदा उसले सीमित नियमबाट असीमित वाक्यहरू निर्माण गर्न सक्ने र कहिल्यै नसुनेका, नपढेका कुरा पनि प्रयोग गर्न सक्छ भनेका छन् । उनले मानिसको मस्तिष्कमा हुने अन्तर्निहित सहजात शक्तिका आधारमा उसले भाषालाई सिर्जनात्मकरूपमा प्रयोग गर्ने हुँदा मानिस अरू प्रणीभन्दा भिन्न हुने मान्यता अगाडि सारेका छन् । यसैगरी संसारका भाषाको आन्तरिक संरचना एउटै हुने तर बाह्य संरचनामा आउँदा रूपान्तरण नियमका कारण फरक हुने हुँदा बालकमा संसारका सबै भाषा सिक्न सक्ने क्षमता हुन्छ भन्ने मान्यता राखेको पाइन्छ ।
गैरे, ईश्वरीप्रसाद (२०६४), भाषाविज्ञान र नेपाली भाषा, काठमाडौँ : हजुरको प्रकाशन ।
गौतम, देवीप्रसाद, ओझा, रामनाथ, सुवेदी सखिशरण (२०६७), सामान्य भाषाविज्ञान, काठमाडौँ : पिनाकल पब्लिकेसन प्रा.लि. ।
न्यौपाने, टंकप्रसाद, भण्डारी, पारसमणि, न्यौपाने, दीपकप्रसाद (२०६८), भाषाविज्ञानका प्रमुख सिद्धान्त, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
भण्डारी, पारसमणि र पौड्याल, सालिकराम (२०६८), सामाजिक भाषाविज्ञान र मनोभाषाविज्ञान, काठमाडौँ : विद्यार्थी पुस्तक भण्डार ।
No comments:
Post a Comment