Monday, June 1, 2020

भाषिक दर्शन

– हुकुमानन्द पाण्डेय
लेखसार
        प्रस्तुत लेख भाषिक दर्शनमा आधारित भएर सम्पन्न गरिएको छ । भाषाका विषयमा के कस्ता चिन्तनहरू रहेका छन् ? भन्ने जिज्ञासा मेटाउन यो अध्ययन कार्य सम्पन्न गरिएको हो । अध्ययनका लागि पुस्तकालयीय सामग्री सङ्कलन विधिको सहायताले द्वितीयक स्रोतबाट सामग्री सङ्कलन गरी वर्णनात्मक एवम् विश्लेषणात्मक पद्धतिको प्रयोग गरेर निष्कर्ष निकालिएको छ । कुनै पनि विषयमा सत्य के हो ? भनेर हेर्नु नै दर्शन हो । अर्थात् ‘दृश्यत अनेन इति दर्शनम्’ जसद्वारा देखिन्छ वा जो देखिन्छ त्यो दर्शन हो । यसर्थ भित्री आँखाले देखेका वस्तुहरूको अर्थ निकाल्नु नै दर्शन हो । भाषाको उत्पत्ति, प्रयोग, विकास र यसका सन्दर्भमा वास्तविकता पहिल्याउने काम भाषिक दर्शनको विषय हो । भाषाको उत्पत्ति र विकासका सवालमा भाषिक चिन्तनका आधारमा निर्माण भएको भाषा उत्पत्ति सिद्धान्तले केही जिज्ञासा मेटाएको पाइन्छ । यस्ता सिद्धान्त र विचारको निकट रही भाषाको वास्तविकता देखाउने काम भाषिक दर्शनले प्रदान गर्दछ ।

मुख्य शब्दावली

        दर्शन, जिज्ञासा, सशक्त, परिष्कृत, परीक्षणीय, पृथक, मार्गदर्शन, वस्तुनिष्ठ, अस्तित्व, आविर्भाव, प्रामाणिक, अध्यात्म, संहिता, ब्राह्मण, आरण्यक, उपनिषद, सर्वज्ञ, सङ्कल्प, मिथ्याज्ञान

१. विषय प्रवेश

        भाषा विचार विनिमयको सशक्त माध्यम हो । भाषाका माध्यमबाट नै ज्ञान आर्जन हुन्छ । ज्ञानको उच्चतम तह दर्शन हो । भाषाबाटै ज्ञान आर्जन हुने हुँदा भाषाबिना दर्शन असम्भव छ । कुनै पनि विषयमा गरिने गहिरो अध्ययनले दर्शन जन्माउँछ । भाषा र दर्शनको प्रकृति हेर्दा भाषा दर्शनको र दर्शन भाषाको निकट रहन्छ । कुनै पनि विषय क्षेत्रमा गरिएको चिन्तन, मननबाट निस्कने सार भाषाका माध्यमबाट लिपिबद्ध हुने वा सम्प्रेषण हुने हुँदा यी एक अर्काका पर्याय मानिन्छन् । दर्शनले प्रकृति, जन्म, जीवन, मृत्यु, सत्य, धर्म, भाषा, मन, आत्मा, शरीर, प्राण, ज्ञान, बुद्धि, विवेक, पृथ्वी, आकाश, जल, वायु, आदिको सत्यता एवम् अस्तित्वका बारेमा गहिरो चिन्तन गरी नयाँ परिष्कृत ज्ञानको निर्माण गर्दछ । यी विविध पक्षमा भाषाका माध्यमबाट गहिरो चिन्तन, खोजतलास एवम् अनुसन्धान कार्य सम्पन्न गरी स्थापित गरिएको चिन्तनलाई लिपिबद्ध एवम् सम्प्रेषण गर्ने कार्य भाषाका माध्यमद्वारा गरिन्छ ।        

        सामान्यता कुनै पनि भाषामा गरिएको गहिरो चिन्तनबाट निकालिएको तथ्यपूर्ण पृथक एवम् नवीन परीक्षणीय ज्ञान नै भाषिक दर्शन हो । कुनै पनि भाषाको अस्तित्व के हो ?, भाषाको जन्म कसरी भयो ?, कहाँ भयो ? कहिले भयो ?, कसले ग¥यो ?, किन भाषा बन्यो ?, भाषा भन्नुको आधार के हो ?, भाषा कसरी बन्यो ? सबैभन्दा पहिले भाषाको प्रयोग कसरी भयो ?, भाषाको प्रयोग गर्ने पहिलो व्यक्ति को हुन् ? मानिसले भाषाको प्रयोग किन गर्न थाले ?, अरू भाषाको प्रयोग किन गरेनन् ?, मानव भाषा र पशुपन्छीको भाषामा के फरक छ ?, मानिसले प्रयोग गर्ने भाषा पशुपन्छीले किन प्रयोग गरेनन् ?, मानिसको भाषा पशुपन्छीले किन बोल्न जान्दैनन् ?, पशुपन्छीले बोलेको भाषा मानिसले किन बुझ्दैनन् ?, मनव भाषा र पशुपन्छीको भाषा एउटै किन भएन ?, मानव भाषा र पशुपन्छीको भाषा एउटै भएको भए के हुन्थ्यो ? स्थानअनुसार भाषा किन फरक बोलिन्छ ?, संसारभर एउटै भाषा किन बोलिएन ?, संसरभर फरकफरक भाषा बोलिनु पर्नाको कारण के हो ?, संसारभरको भाषा सबैले नबुझ्नुको कारण के हो ?, किन संसारभर एउटै भाषा प्रयोगमा आएन ?, संसरभर एउटै भाषा प्रयोग गरेको भए के हुन्थ्यो ?, भाषाको जन्म नभएको भए के हुन्थ्यो ? आदि जस्ता भाषाका विषयमा गरिने विविध तर्क एवम् गहिरो चिन्तनबाट उत्पत्ति हुने एउटा परीक्षणीय ज्ञान एवम् चिन्तनलाई भाषिक दर्शन भनिन्छ ।

        भाषा कुनै पनि ज्ञान आर्जन गर्ने माध्यम भएकाले भाषाका माध्यमबाट नयाँ सिद्धान्त एवम् ज्ञानको निर्माण हुन्छ । भाषासँग जोडिएको ‘दर्शन’ शब्द ‘दृश्’ धातुमा ‘अन’ प्रत्ययको योग भई बन्दछ । यसको अर्थ हेर्नु भन्ने हुन्छ । दर्शनको अङ्ग्रेजी रूपान्तर ‘फिलोसोफी’ हो । फिलोस् को अर्थ प्रेम र सोफीको अर्थ बुद्धि वा ज्ञान भन्ने हुन्छ । समग्रमा फिलोसोफीको अर्थ प्रकृति, जीवन, मृत्यु, सत्य, भाषा, मन, विवेक आदिको विवेचनात्मक अध्ययन गरिने शास्त्र भन्ने हुन्छ । ‘दर्शन’का सम्बन्धमा विभिन्न विद्वान्ले आ–आफ्ना मत अगाडि सारेका छन् । दर्शनको उत्पत्ति मानव मस्तिष्कमा उत्पन्न हुने जिज्ञासा, आश्चर्य, सन्देह, दुःख, व्यग्रता, उदासिनता जस्ता विभिन्न कारणबाट भएको हो (ढकाल, कोइराला, २०६५, पृ. ५) । सामान्यतया मानव सभ्यताको विकास क्रमसँगै जब मानवले आफ्नो जीवन र जगतका बारेमा चिन्तन मनन गर्न थाले त्यसै बेलादेखि दर्शनको सुरु भएको अनुमान गर्न सकिन्छ ।

        पाणिनिका अनुसार संस्कृत व्याकरण परम्पराका साथै विश्वका विभिन्न भाषाका व्याकरणलाई मार्गदर्शन गर्ने वैज्ञानिक विधि÷पद्धति एवम् आत्माको वस्तुनिष्ठ र शास्त्रानुकूल अध्ययन गर्ने, मिथ्या ज्ञान र तत्वज्ञानको भिन्नता छुट्याउने विषय दर्शन हो । नेपाली बृहत् शब्दकोशमा दर्शनलाई प्रकृति, ईश्वर, ज्ञान, विज्ञान, वस्तु, जीवनजगत् र चेतनाका बारेमा व्याख्या, वेवेचना र विश्लेषण गरिने विद्याका रूपमा अथ्र्याएको छ । दर्शनबाट गरिने चिन्तनले म को हुँ ? म कसरी यो संसारमा आइपुगेँ ? यो संसारको सृष्टि किन र कसरी भयो ? ईश्वरले बनाए कि परमाणुबाट आफैँ बन्यो ? ईश्वर छन् ? कि छैनन् ? ईश्वरको अस्तित्वमा के प्रमाण छ ? मानव जीवनको चरम लक्ष्य के हो ? जडबाट चेतनाको आविर्भाव भयो वा चेतनाबाट जडको ? मान्छे किन जन्मन्छ र मर्छ ? व्यक्ति र समाजमा के सम्बन्ध छ ? यस्तै यस्ता प्रश्नहरूको युक्तिपूर्वक उत्तर खोज्ने प्रयास गर्दछ ।

        
दर्शन जीवन र जगत्का समग्र पक्षको अध्ययन गर्ने ज्ञानको शाखा हो । पहिले भाषाको अध्ययन पनि दर्शनशास्त्रमा नै गरिन्थ्यो । परम्परागत व्याकरण दर्शनशास्त्रबाट प्रभावित छ । भाषाव्याकरणका पारिभाषिक शब्दहरू प्रकृति, प्रत्यय, उद्देश्य, विधेय तथा नामिक पदको व्यक्तिवाचक, जातिवाचक, द्रव्यवाचक, समूहवाचक, भाववाचक वर्गीकरणमा दर्शनशास्त्रको प्रभाव रहेको देखिन्छ । भाषाविज्ञानले भाषाका अर्थको अध्ययन गर्नु अघि पनि अर्थको अध्ययन दर्शनशास्त्रकै विषय मानिन्थ्यो । प्रस्तुत अध्ययन भाषिक दर्शनको पहिचानका लागि पुस्तकलयीय सामग्री सङ्कलन विधिको प्रयोग गरी द्वितीयक स्रोत सामग्रीअन्तर्गत पर्ने विभिन्न पुस्तक, लेखरचना तथा अनलाइनका माध्यमबाट सामग्री सङ्कलन गरी वर्णनात्मक एवम् विश्लेषणात्मक पद्धति अपनाई सम्पन्न गरिएको छ ।
        
२. विश्लेषण
२.१ भाषा र आध्यात्मिक दर्शन
        भाषा विचार विनिमयको सशक्त माध्यम हो । भाषाकै माध्यमबाट मात्र पूर्णतया ज्ञान आर्जन सम्भव हुन्छ । दर्शन हरेक क्षेत्रसँग जोडिको गहिरो चिन्तनबाट प्राप्त हुने तथ्यपूर्ण एवम् प्रामाणिक ज्ञान हो । हरेक कुराको विनिमयको माध्यम भाषा भएकाले हरेक क्षेत्रमा गरिने गहिरो अध्ययनसँग भाषा जोडिएको हुन्छ । भाषा समाज, राजनीति, साहित्य, विज्ञान, प्रविधि, कला, धर्म एवम् अध्यात्मजस्ता विविध पक्षसँग जोडिएको हुन्छ । दर्शनको उत्पत्ति र सुरूवातका बारेमा पूर्वमा दर्शनको सुरूवात जिज्ञासा र भौतिकताप्रतिको निराशा र पश्चिममा ज्ञानप्राप्तिको प्रेम÷ज्ञानको अन्वेषणका लागि भएको पाइन्छ ।

        आध्यात्मिक दर्शन भनेकै पूर्वीय दर्शन हो । यसमा वेदको विशिष्ट स्थान छ । वेदकै टीकाटिप्पणी र समालोचना गरिएका आरण्यक, ब्राह्मण, उपनिषद् आदिबाट विभिन्न दार्शनिक सम्प्रदाय विकसित भएको मानिन्छ । पूर्वीय संस्कृति, साहित्य, कला, भाषा र दर्शनको पृष्ठभूमि भनेर क्रग्वेदलाई मानिदै आएको पाइन्छ । वेद समावेशात्मक अर्थयुक्त शब्द रहको पाइन्छ । जसअन्तर्गत संहिता, ब्राह्मण, आरण्यक, उपनिषद् आदि समावेश भएको पाइन्छ । वैदिककालीन ऋषिहरूले आफ्ना विचार र व्यवहारलाई मानिसको कल्याणका लागि सुखवादी सोच अँगाल्दै अघि बढाएको पाइन्छ (शर्मा, २०६९, पृ. ४८) । वेदलाई प्रमाण मान्ने, ईश्वरको अस्तित्व स्विकार्ने र परलोकप्रति आस्था राख्ने र नराख्नेका आधारमा आस्तिक र नास्तिक दर्शनको विभाजन भएको छ । साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांशा र वेदान्त दर्शन आस्तिक तथा चार्वाक्, जैन र शुद्ध दर्शन नास्तिक मानिन्छन् । परमतत्वमा गरिने विश्वासका आधारमा चार्वाक्मात्र भौतिकवादी नास्तिक दर्शन र अरू आध्यात्मिक दर्शन हुन् । कपिल मुनिद्वारा प्रवर्तित साङ्ख्य दर्शनमा प्रकृति र पुरुष तत्वको घनत्व र ऋणात्मक पक्षको मिलान र वियोगबाट सांसारिक कार्य चल्छ । यहाँ पुरुषले ईश्वरीय शक्ति, आत्मा र चेतनालाई तथा प्रकृतिले अचेतन, जड भौतिक पक्षलाई जनाउँछ । पतञ्जलीद्वारा प्रवर्तित योगदर्शनको वास्तविक लक्ष्य मोक्ष्य प्राप्ति नै हो । साङ्ख्यका सैद्धान्तिक पक्षको व्यावहारिक प्रयोग योग दर्शन हो । अष्टाग योग (यम, नियम, आसन, प्रणायम, प्रत्यहार, धारण तथा समाधि) द्वारा मनका विकार हटाई चित्तवृत्ति निरोध गर्नु र भवसागरबाट मुक्ति पाउनु । गौतमद्वारा प्रवर्तित न्यायदर्शन तर्कशास्त्र र प्रमाणशास्त्रमा जोड दिन्छ । यसले प्रत्यक्ष, अनुमान र शब्दलाई प्रमाणको आधार बनाउँछ । यसअनुसार इन्द्रिय पदार्थको संयोगबाट उत्पन्न ज्ञान नै प्रमाण हो । यस दर्शनमा शब्द, शब्दार्थ, शब्दशक्ति शब्दार्थ शक्तिको प्रमाणका बारेमा चर्चा गरिएको छ । कणाद मुनिद्वारा प्रतिपादित वैशेषिक दर्शनमा विशेष पदार्थ (परमाणु) को व्याख्या गरिएको छ । मोक्ष, जीवात्मा, ईश्वर, परमाणु सम्बन्धी न्याय र वैशेषिक दर्शनको भनाइ उस्तै छ । परमाणु निस्क्रिय छ । ईश्वरेच्छाका कारण त्यसमा गति पैदा भएपछि जगत्को सृष्टि, विकास र संहार हुन्छ । जैमिनि मुनिद्वारा प्रवर्तित मीमांसा दर्शनमा वेदसम्मत यज्ञ, बलि, हवन, पूजापाठजस्ता कर्मकाण्डको व्याख्या गरिएको हुन्छ । कर्म गर्नाले निष्क्रिय परमाणु गतिशील हुन्छ र कर्मकर्ता कर्मफल भोग्न बाध्य हुन्छ । यस दर्शनमा प्रत्यक्ष, अनुमान, उपकार, शब्द, अर्थापत्ति र अनुपलब्धिको चर्चा पाइन्छ । वेदको नित्यता र अपौरुषेयता सिद्ध गर्न यहाँ शब्द, अर्थ र शब्दार्थको सम्बन्ध नित्य मानिएको छ ।

        वेदान्त दर्शनको आधारमा उपनिषद ग्रन्थ हुन् । व्यासद्वारा प्रवर्तित ब्रह्मसूत्रमा जीवनजगत्सम्बन्धी चर्चा छ । शंकरचार्यले लेखेको उक्त कृतिको टीकालाई वेदान्त् दर्शन वा शांकर भाष्य भन्ने चलन छ । यसअनुसार संसारमा ब्रह्म नै सत्य हो , अरू सबै मिथ्या हुन् । जगत् उत्पत्ति, सञ्चालन र प्रयोग कर्ता पनि ब्रह्म हो । वृहस्पतिद्वारा प्रवर्तित चार्वाक दर्शनमा ईश्वर, आत्मा, पुनर्जन्म, स्वर्ग, पाप, पुण्य वेदसम्मत भनाइलाई काल्पनिक विषय ठानिन्छ । यसमा जगत्को सिर्जना पृथ्वी, जल, अग्नि र वायु भएको मानिन्छ । चेतनाको उत्पत्ति भौतिक तत्वबाट हुन्छ । आत्मा भनेकै शरीर हो । शरीर नष्ट भएपछि आत्मा पनि नाश हुन्छ । ऋषभदेवबाट प्रारम्भ भई महावीरबाट व्याख्या विवेचना एवम् उपदेश दिइएको जैन दर्शनले भौतिक जगत्लाई पृथ्वी, जल, तेज, वायूको सम्मिश्रण ठान्छ । यसमा कुनै पनि वस्तुलाई समयसापेक्षताका आधारमा हेर्न खोज्छ । संसार परिवर्तनशील भएकाले पहिले सत्य ठानिएका विचार भविष्यमा आंशिक सत्य वा असत्य पनि हुन सक्छन् । कुनै पनि सत्य सार्वकालिक हुन सक्दैन । जन्म र मृत्यु निरन्तर प्रक्रिया हुन् । गौतम बुद्धद्वारा स्थापित बौद्धदर्शनमा चार आर्य सत्यमा दुखको विशद् वर्णन छ ः संसार दुखमय छ, दुखको कारण छ, दुखको नाश सम्भव छ र दुखनाशको उपाय छ । यिनै दुखबाट उन्मुक्ति मोक्ष । मानवीय जीवनका व्यावहारिक सत्य ।

२.२ आध्यात्मिक दर्शनका आधारभूत पक्ष

        आध्यात्मिक दर्शनका आधारभूत पक्षअन्तर्गत ईश्वर, जगत्, मन, माया, आत्मा, जीव, ज्ञान, कर्म वैराज्ञ, मुक्ति आदि जस्ता विषयवस्तुलाई लिइएको छ ।

(क) ईश्वर

        आध्यात्मिक दर्शनमा ईश्वर मायाशक्तिबाट प्रभावित ब्रह्मलाई मानिएको छ । यसलाई देवता पनि भनिन्छ । ईश्वर सर्वज्ञ, सर्वव्यापी र अन्तर्यामी छ । यो उपासनाको विषय हो । दर्शनमा ईश्वरको उपासनालाई ब्रह्मप्राप्तिको क्रममा आउने एउटा आवश्यक खुड्किलो मानिएको छ ।

(ख) जगत्
        जगतका सन्दर्भमा जगतकाे सृष्टि ईश्वरको स्वभाव हो । ईश्वर कुनै बाह्य सामग्री उपयोगमा नल्याई आफैँमा सृष्टि गर्दछ । दर्शनशास्त्रमा सत्यलाका तीन खुड्किला छन् । पहिलो खुड्किलोमा व्यावहारिक दृष्टिकोणबाट हेर्दा जगत् सत्य हो । दोस्रो खुड्किलोमा व्यावहारिक दृष्टिकोणबाट हेर्दा जगत् र त्यसको रचयिता ईश्वर दुबै सत्य हुन् तेस्रो खुड्किलो पारमार्थिक दृष्टिकोणबाट हेर्दा जगत् र ईश्वर दुबै असत्य हुन् एकमात्र सत्य वस्तु ब्रह्म   हो ।

(ग) मन

        सङ्कल्प र विकल्प, निरन्तर उठिरहन्छ । विवेक शक्तिको प्रयोग गरेर असल र खराब मन छुट्याइन्छ । विवेक मार्ग वा ज्ञानमार्गमा मानको निरोध गरिन्छ, यसको पराकाष्ठा शून्यमा परिणत हुन्छ । भक्तिमार्गमा मनलाई परिणत गरिन्छ । यसको पराकाष्ठा भगवान्को दर्शनमा हुन्छ । वैशेषिक दर्शनमा मनलाई अन्तरिन्द्रिय र अदृश्य मानिएको छ । यसको ज्ञान अनुमानका आधारमा गरिन्छ । बाह्य वस्तुको ज्ञानका लागि बाह्य इन्द्रियको आवश्यकता परेजस्तै आत्मा, सुख, दुःख जस्ता आन्तरिक व्यापार थाहा पाउन आन्तरिक इन्द्रिय आवश्यक हुन्छ । त्यही नै मन हो । बाह्य इन्द्रिय (कर्मेन्द्रिय)हरू आफ्नो विषयमा संयुक्त हुँदा पनि व्यक्तिले रूप, रस, गन्ध, स्पर्श, शब्दको अनुभू ितगर्न सक्दैन । यसबाट ज्ञानका लागि कर्मेन्द्रियका साथै अन्तरिन्द्रियको पनि आवश्यकता पर्छ । यही इन्द्रिय मन हो । यो निरवयव हुन्छ । एउटा समयमा एकै प्रकारको अनुभूति हुन्छ । किनभने मन अविभाज्य हुन्छ । मन नित्य र अवयवहीन हुन्छ । विनाश र विभाजन हुँदैन । पृथकीकरण हुँदैन । मन आकाश, काल, दिक् भन्दा मन पृथक हुन्छ । कारण के हो भने मन सदैव सक्रिय हुन्छ । आकाश, काल, दिक् निष्क्रिय हुन्छन् । 

(घ) माया
        माया नै बन्धनको कारण हो । व्यक्तिमा मायाको प्रभाव रहेसम्म उसले आफ्नो वास्तविक स्परूप बिर्सिंरहन्छ । जगत्को वास्तविकतालाई बुझ्न सक्दैन र ब्रह्मको स्वरूपलाई पनि चिन्न सक्दैन । जीवमा उत्पन्न हुने मिथ्याज्ञान र ब्रह्ममा निहित ईश्वरीय शक्ति दुबै माया नै हुन् । ब्रह्म र आत्मा एउटै वस्तु हो र इन्द्रियहरूद्वारा प्रभावित सशरीर आत्मा नै जीव हो । त्यसकारण जीवमा रहने अज्ञानरूपी माया र ब्रह्ममा रहने सृष्टिशक्ति माया एउटै वस्तु हुन् ।

(ङ) आत्मा

        दर्शनको लक्ष्य मानवीय आत्माको विश्लेषण र अन्वेषण हो । चार्वाक दर्शनमा शरीर नै आत्मा मानिएको छ । अरू दर्शनका अनुसार आत्मा शरीरभन्दा भिन्न अजर र अमर हुन्छ । व्यवहारमा ‘म दुब्लो छु’, ‘म मोटो छु’, ‘म लङ्गडो छु’ यस्ता वाक्यहरूको पनि प्रयोग गरिन्छ । दुब्लो हुनु, मोटो हुनु र लङ्गडो हुनु शरीरका लक्षणहरू हुन् । यी वाक्यहरूमा ‘म’ को प्रयोग शरीरलाई बुझाउन भएको छ । यस्ता वाक्यहरूमा ‘म’ को प्रयोग अज्ञानको कारणले आत्मालाई शरीर सम्झिनाले भएको हो ।

(च) जीव

        इन्द्रिय, मन, बुद्धि आदिसँग सम्बद्ध भई अज्ञानद्वारा प्रभावित आत्मालाई जीव भनिन्छ । जीव अविद्याको बन्धनमा बाँधिएको हुन्छ । कर्म उपासनाद्वारा जीवले आफूभित्र रहेको ईश्वरलाई प्रसन्न गराउँछ, उसमा ज्ञान उत्पन्न हुन्छ र उसमा वास्तविक स्वरूपको प्रत्यभिज्ञा हुन्छ । जीव कर्ता र कर्मफलको भोक्ता पनि हो । जीव पाप र पुण्य कर्मको फल भोग्दछ र सुखदुःखको अनुभव गर्दछ । ‘म जीव हुँ’ भन्ने भावना वास्तवमा बन्धन वा अविद्या हो ।

(छ) ज्ञान

        ब्रह्मप्राप्तिको साधन हो । आत्मा र ब्रह्म एउटै हुन् भन्ने जान्नु नै ज्ञान हो । जीवका मनमा इष्टदेवप्रतिको भक्तिभावको जागरण, विषयप्रति अरूचि अवस्था, मोक्ष्य प्राप्तिको उत्कण्ठा, वैराग्य, तत्परता र श्रद्धा उत्पन्न भएपछि सद्गुरुको शरणमा पुगी लिइने ज्ञानार्जनका प्रक्रिया परोक्ष ज्ञानसम्बद्ध विषय हुन् भने यसका आधारमा मनन, निदिध्यासन र अभ्यासका खुड्किलाहरू अनुभवात्मक भएकाले अपरोक्ष ज्ञानका विषय मानिन्छन् । पछिल्लो ज्ञान मोक्षावस्थामा पुग्न सहायक हुन्छ ।

(ज) कर्म

        व्यक्ति जस्तो कर्म गर्छ त्यस्तै फल भोग्दछ । शुभ कर्मको फल राम्रो हुन्छ र अशुभ कर्मको फल नराम्रो हुन्छ । कर्मसिद्धान्तमा कार्य–कारणको नियम लागु हुन्छ । कर्म दुई किसिमको पाइन्छ – सकामकर्म र निष्काम कर्म ।

(झ) वैराग्य

        निष्काम कर्म गर्नका लागि वैराग्य आवश्यक हुन्छ । कुनै पनि सांसारिक पदार्थप्रति आसक्ति नहुनु नै वैराग्य हो । जब कुनै पनि सांसारिक पदार्थप्रति आसक्ति रहँदैन त्यति बेला मात्र निष्कामकर्म सम्भव हुन्छ । निष्कामकर्म गर्नका लागि मनका कुनै पनि इच्छा हुनुहुँदैन र मनमा कुनै पनि इच्छा जागृत नहुनका लागि वैराग्य आवश्यक हुन्छ । जबसम्म सांसारिक सुखदुःखले मनलाई प्रभावित पार्दछ, तबसम्म इच्छा जागृत भइरहन्छ र निष्कामकर्म सम्भव हुँदैन । त्यसकारण सांसारिक सुख, दुःख, राग, द्वेष धनी, गरिब, मीठो, नमीठो आदि इन्द्रियजन्य अनुभवहरूबाट मनलाई अप्रभावित राख्न सक्नुपर्छ । यसैबाट मुक्तिमार्गको ढोका खुल्छ ।

(ञ) मुक्ति
        सांसारिक मायामोह, दुःख, बन्धनबाट छुटकारा पाउनु नै मोक्ष÷मुक्ति हो । जीवमा अन्तर्निहित अज्ञातको आधरण हटेपछि ब्रह्म सत्य हो र जगत् मिथ्या हो भन्ने ज्ञान हुन्छ । यस किसिमको मुक्तावस्थाको आत्माको स्थितिलाई सदेह मुक्ति र विदेहमुक्ति गरी छुट्याइन्छ ः सदेह मुक्तिको अवस्थामा जीव कुनै लोभलालचमा नफसी निष्काम कर्म गर्छ भने विदेह मुक्तिको अवस्थामा जीव जन्ममृत्युको चक्करबाट मुत्तः भई असीम आनन्द ग्रहण गर्छ ।

२.३ भाषा र मन

        मन शरीरभित्रको अदृश्य भाग हो । यसबाट विचारको उपत्ति हुन्छ । यो मस्तिष्कको कार्यशक्तिको द्योतक हो । यो कार्य शक्ति धेरै किसिमको हुन्छ । जस्तै ः चिन्तन शक्ति, स्मरण शक्ति, निर्णय शक्ति, बुद्धि, भाव, इन्द्रिय ग्राह्यता, एकाग्रता, व्यवहार, अन्तदृष्टि । भाषा र मनका सम्बन्धको अध्ययन मनोभाषाविज्ञानमा गरिन्छ । व्यक्तिको मनोवैज्ञानिक प्रक्रिया र भाषाको घनिष्ट सम्बन्ध छ । यो सम्बन्ध धेरै किसिमको हुन्छ । मानिसको जन्मपछि उसको शारीरिक विकासका साथै भाषाको पनि विकास हुन्छ । व्यक्तिले जीवनमा पहिलो भाषापछि अरू भाषा पनि सिक्न सक्छ । बहुभाषिक समाजमा एकभन्दा बढी भाषाको प्रयोग हुन्छ । व्यक्ति मातृभाषाका साथै अरू भाषा पनि बोल्छन् । अर्को भाषा सिक्नु मातृभाषाको प्रयोग गर्नु जस्तो सजिलो छैन । व्यक्तिले भाषा बोल्दा उसको मन सक्रिय रहन्छ । भाषा व्यक्तिको स्मरणशक्तिसँग पनि सम्बन्धित छ । कुनै कारणले मस्तिष्कमा आघात हुँदा त्यसले उसको बोलीलाई पनि असर पार्छ ।

२.४ सत्य र अर्थ

        ब्रह्म सत्य हुन्छ । बाँकी व्यक्तिविशेषका सत्य हुन् । मृत्यु सत्य हो । यसलाई नमान्नु असत्य हो । शवयात्रामा रामनाम सत्य हुन्छ, बाँकी असत्य । नष्ट हुने कुरालाई सत्य मान्दा परम सत्यप्रति बेवास्ता । एउटालाई जुन कुरा सत्य हुन्छ, त्यो कुरा अर्कालाई असत्य पनि हुन सक्छ । नेपालमा अँध्यारो हुँदै छ, यो सत्य हो । त्यही समयमा अमेरिकामा उज्यालो हुँदै छ त्यो पनि सत्य हो । तसर्थ सत्य स्थान र परिस्थितिअनुसार बदलिन्छ । कुनै शब्दले बुझाउने कुरा धोको शब्दको शाब्दिक अर्थ हो । कुनै विषयवस्तुप्रति मनमा उठ्ने प्रबल इच्छा, चाहना, अभिलाषा, धीत, पैसा, धनदौलत कुनै कुराको महत्त्व । अर्थको प्रकृति भाषाका अन्य पक्षको भन्दा फरक छ । भाषाका उच्चरित ध्वनि र तिनबाट बनेका पद, पदावली, उपवाक्य र वाक्यहरू बढी ठोस छन् तर अर्थ त्यस्तो छैन । यो अमूर्त छ र वक्ता, श्रोता र स्थितिका आधारमा गरिने अध्ययन पनि एउटै किसिमका हुँदैनन् । आज साहित्यिक प्रतियोगितामा विजेताहरूलाई पुरस्कार दिइने छ भन्दा श्रोताहरूमध्ये सबैमा समान रूपले प्रभाव पार्दैन  । 

२.५ भाषा र तर्क

        सत्यको खोजका लागि गरिने अनुमान, जिज्ञासा र परीक्षणमूलक चिन्तन तर्क हो । तर्कले वस्तुगत जगत्को सही ज्ञान हासिल गर्ने विधिका माध्यमबाट चिन्तनको विविधता र नियमको अध्ययन गर्दछ । विश्वलाई समग्रतामा बुझ्न मद्दत गर्ने प्रक्रिया दर्शनकै विषय भएकाले तर्क शास्त्रलाई पनि दर्शनको एउटा शाखाको मान्यता दिइन्छ । वस्तुगत ज्ञानको सत्यापनका लागि तर्क एउटा साधन हो । यसले सम्भावनालाई प्राकृतिक नियम र सिद्ध तथ्यका आधारमा निष्कर्षमा बदल्न मद्दत गर्दछ । अज्ञानबाट ज्ञान तर्फ, अपूर्णबाट पूर्ण तर्फ र वस्तुबाट विचारतर्फको यात्रा गर्दा मानिसहरू आफ्ना जिज्ञासामा अडिएर तर्क गर्दछन् । तर्क वस्तुगत हुन्छ र विचारहरू तार्किक भए पनि ती बिम्बगत हुन्छन् । बिम्बबोध मस्तिष्कले गर्दछ र त्यो प्रत्ययिक वस्तुको रूपमा रहन्छ । कलम वस्तु हो  र त्यो विचारमा रहँदा प्रत्यायिक वस्तु बन्न पुग्दछ । वैचारिक वस्तु सरह मानिसमा प्रतिविम्बन हुन्छ । यथार्थको प्रतिविम्बनबाट निर्मित ज्ञानको आधार व्यवहार हो र व्यवहार सिद्ध सत्य नै वास्तविक सत्य हो ।

२.६ मानव भाषा र मानवेतर भाषा

        आफ्ना अनुभूतिहरू अरू समक्ष पु¥याउने काम मानव र पशुपक्षी दुवैले गर्दछन् । यसरी आफ्ना अनुभूतिको हस्तान्तरण गर्ने कार्यलाई सम्प्रेषण भनिन्छ । अनुभूति वा विचारको हस्तान्तरणका लागि प्राणीहरूले विविध माध्यम वा सङ्केतको प्रयोग गर्दछन् । मानवले भाषाका माध्यमबाट सहजै आफ्ना अनुभूतिहरू अर्को समक्ष सम्प्रेषण गर्दछन् भने पशुपक्षीहरूले विभिन्न आवाज एवम् शारीरिक क्रिया प्रतिक्रियाका माध्यमबाट एक आपसमा भावसञ्चार गर्छन् । मानवमा भाषिक सञ्चार हुन्छ भने पशुपक्षीमा भाव सञ्चार हन्छ (गौतम, ओझ, सुवेदी, २०६७, पृ. ७) । प्राणीहरूमध्ये मानवले सबै किसिमका विचार वा अनुभूतिलाई सम्पे्रषण गर्न सक्तछ । भाषा मानवीय विचार सम्प्रेषणको सशक्त माध्यम हो । अन्य सङ्केतका तुलनामा मानवले भाषिक सङ्केतका माध्यमबाट आपूmलाई बढी सम्प्रेषित गर्न सक्छ । 
    मानवेतर पशुपंक्षी एवम् वनस्पतिहरूले पनि विविध सङ्केतका माध्यमबाट सञ्चार गर्दछन् । मौरी, सुगा, मैना, काग, डल्फिन, चिम्पान्जीजस्ता प्राणीहरूले मान्छेले जस्तै ध्वनिद्वारा सीमित अनुभूति वा विचारलाई सम्प्रेषित गर्दछन् । तर मानवेतर अन्य प्राणीका ध्वनिसङ्केतलाई भाषा भनिँदैन । पशुपंक्षीहरूको सञ्चार प्रक्रिया विविध सङ्केतमा आधारित हुन्छ । यिनीहरूले भिन्नभिन्न सन्देशका लागि केही सीमित ध्वनिहरूको प्रयोग गर्न सक्छन् । शत्रुको सूचना दिँदा, आपसमा खेल्दा, छरिएका साथीहरूलाई एकत्रित गर्दा यिनीहरूले फरक–फरक ध्वनिहरूको प्रयोग गरे पनि यिनीहरूले प्रयोग गरेका ध्वनिहरू विच्छिन्न वा विश्लेषणीय हुँदैनन् । मौरीको सञ्चार दृश्य सङ्केतमा आधारित हुन्छ । यिनीहरूले दिशा र दूरताको सूचनाका लागि फरक–फरक किसिमका नृत्यको प्रयोग गर्दछन् । अधिकांश चराको सञ्चार स्पर्श सङ्केतमा आधारित हुन्छ । बचेरा भोकाएपछि माउको छातीमा चुच्चाले स्पर्श गरेपछि माउले चारो खुवाउने क्रिया स्पर्श सङ्केतमा आाधरित भए पनि यी ध्वनिहरू सीमित  र विश्लेषणीय नै देखिन्छन् ।

        यी विविध सन्दर्भलाई अगाडि सार्दा मानव र मानवेतर अन्य प्राणीहरूले सञ्चार गर्ने कुरा पुष्टि भए पनि गुणात्मक एवम् परिमाणात्मक दृष्टिले अन्य सञ्चारभन्दा मानवीय भाषिक सञ्चार जटिल एवम् विशिष्ट किसिमको रहेको देखिन्छ । भाषाशास्त्री हकेटले मानवीय भाषिक सञ्चार र पशुपंक्षीका सञ्चारका बीचमा पाइने भिन्नतालाई विश्लेषण गर्दै पशुपंक्षीमा नपाइने र मानव भाषिक सङ्केतमा मात्र पाइने विशेषताअन्तर्गत संरचनात्मक द्वैतता, उत्पादनशीलता, यादृच्छिकता, अन्तर्विनिमय योग्यता, विशिष्टीकरण, विस्थापन र सांस्कृतिक सञ्चरण जस्ता कुराहरू उल्लेख गरेका छन् । 

        हकेटले उल्लेख गरेका यी विशेषताहरूका अतिरिक्त विच्छिन्नता, व्यवस्था, परिवर्तनीयता, खुला व्यवस्था जस्ता विशेषताहरू केवल भाषिक सञ्चारमा मात्र पाइन्छन् । यी विशेषताहरू पशुपंक्षीहरूमा देखिए पनि तिनीहरूको मात्रा सीमित हुने गर्दछ । पशुपंक्षी र मानवको सम्प्रेषणमा पाइने अन्तरलाई हेर्दा मानवीय भाषिक सम्प्रेषणअन्तर्गत यो भाषा असीमित र अनिश्चित, असहज, आर्जित, विस्तारशील र परिवर्तनशील, खुला व्यवस्था, लचकदार र विविधतामय, व्याकरणिक, वर्णनात्मक एवम् विश्लेषणात्मक, संज्ञानात्मक एवम् व्यवहारात्मक, भूगोल एवम् समाजसापेक्ष, नवीनतायुक्त, उत्पादनशील, विस्थापनशील, वाक्यात्मक, स्वर र व्यञ्जनमा विश्लेषणीयता, द्वैतता, सांस्कृतिक सञ्चरण जस्ता विविध विशेषता रहेको भाषा हो भने पशुपक्षीको भाषिक सम्प्रेषणमा देखिने विशेषताअन्तर्गत पशुपक्षीको भाषा सीमित र निश्चित, सहज, आनुवंशिक, विस्तार र परिवर्तनको अभाव, बन्द व्यवस्था, लचकताहीन र एकरूप, अव्याकरणीक, सीमित र निश्चित, सहज, आनुवंशिक, विस्तार र परिवर्तनको अभाव, बन्द व्यवस्था, लचकताहीन र एकरूप, अव्याकरणिक, वर्णन एवम् विश्लेषण गर्न नसकिने, व्यवहारात्मक मात्र, भूगोल एवम् समाजनिरपेक्ष, सार्वभौम, नवीनताहीन, अनुत्पादक, स्थिर, विस्थापनहीन, अवाक्यात्मक, अविश्लेषणीयता, अद्वैतता, सांस्कृतिक सञ्चरणको अभाव जस्ता विविध विशेषता पशुपक्षीको भाषामा रहेको पाइन्छ । जुनसुकै प्राणीको भाषा भनेको सम्प्रेषणको माध्यम मात्र हो तर पनि हरेक प्राणीका भाषामा आ–आफ्नै विशेषता रहने हुँदा मानवीय भाषा र पशुपक्षीको भाषामा आ–आफ्नै भाषिक विशेषता रहेका छन् ।

२.७ भाषाको उत्पत्ति सम्बन्धी सिद्धान्त

  नेपाली भाषाको उत्पत्ति आर्य (संस्कृत) भाषाका प्राकृतमध्ये कुनचाहिँ प्राकृतको अपभ्रंशबाट भएको हो भन्ने विषयमा मतान्तर रहेको पाइन्छ । यहाँ विदेशी र स्वदेशी विद्वान्हरूका मतमतान्तरको मन्थन गरी निष्कर्षमा पुग्ने प्रयास गरिएको छ । भाषा सम्प्रेषण वा भावबोधको महत्त्वपूर्ण साधन हो । विचार सम्प्रेषण गर्न भाषा चाहिन्छ । भाषा सम्पर्क स्थापनाको माध्यम । मान्छेलाई सामाजिक तथा व्यावहारिक कार्य सुसम्पन्न गर्न भाषा आवश्यक पर्दछ । दैनिक जीवन यापनदेखि अनेकौँ काममा भाषाको उपयोग गरिन्छ । भाषाले व्यक्तिलाई सामाजिक प्राणी बनाउन सहयोग गर्दछ । भाषाको उत्पत्तिका सम्बन्धमा निश्चित मत छैन । भाषाविद्ले यसबारे चासो नदेखाउनु अर्को समस्या हो । सन् १८६६ मा पेरिसमा स्थापना भएको भाषाविज्ञानको एक समितिले भाषाको उपत्तिका विषयमा प्रश्न उठाउन नपाइने निर्णय गरेको थियो । यसलाई समाज, मानव उत्पत्ति, विज्ञान, इतिहास, मनोविज्ञान आदिसँग जोडेर विश्लेषण गर्न सकिन्छ ।

(क) दैवी उत्पत्ति सिद्धान्त
        भाषाको उत्पत्ति सम्बन्धी प्राचीन मत हो । यसले सृष्टिको समग्र निर्माणकर्ता देवता ठान्दछ । पूर्वीय संस्कृतिमा वैदिक संस्कृतलाई भाषाको मूल रुप मान्दछ । पाश्चात्य चिन्तनमा पनि जर्मन विद्वान् सुसमिल्सले पनि भाषालाई दैवी उत्पत्ति मान्दै परमात्माको साक्षात् उपहार मानेका छन् । भाषाको उत्पत्ति सम्बन्धी यस मतलाई प्रामाणिक र तर्कसङ्गत मान्न सकिँदैन ।

(ख) विकासवादी सिद्धान्त

        यस सिद्धान्तअनुसार भाषाको विकास विस्तारै विस्तारै भएको हो । मान्छे आङ्गिक गतिविधिबाट बिस्तारै वाचिक गतिविधितिर प्रवेश गरेको विश्वास गरिन्छ । यो सिद्धान्त भाषाको ध्वनि र अर्थका सम्बन्धमा अस्पष्ट छ ।

(ग) धातु सिद्धान्त/डिङ डोङ सिद्धान्त/रणन सिद्धान्त 

        संसारका प्रत्येक वस्तुका आ–आफ्नै किसिमका ध्वनिहरू छन् । एउटा लठ्ठी लिएर कुर्ची, टेबुल, थाल, कचौरा, कपडा, किताब आदिलाई हिर्काउँदा प्रत्येकबाट छुट्टाछुट्टै आवाज निस्किन्छ । यसरी मान्छे जुन वस्तुको जस्तो आवाज सुन्छ सोही अनुरुपको ध्वनि निकाल्छ । धातुको विकास धेरैपछि भएको र सबै शब्द धातुमा आधारित नभएकाले यस सिद्धान्तलाई पनि त्यति महत्त्वपूर्ण मान्न सकिँदैन ।

(घ) सङ्केत सिद्धान्त/निर्णयवाद/निर्णय सिद्धान्त/स्वीकारवाद

        व्यक्तिले वस्तुलाई जनाउन विभिन्न ध्वनि सङ्केत, साङ्केतिक नाम चयन गरेबाट भाषाको उत्पत्ति भएको विश्वास गरिन्छ । व्यक्तिहरू जम्मा भएर कुनै वस्तुलाई निश्चित सङ्केतले चिनाउने गरेकाले यो परम्परा कायम रहेको बताइन्छ ।

(ङ) अनुकरण सिद्धान्त

        यसअन्तर्गत ध्वन्यात्मक अनुकरण, अनुरणन र दृश्यानुकरण पर्दछ । जीवजन्तुको आवाजलाई अनुकरणलाई ध्वन्यात्मक अनुकरण, प्राणी बाहेकको आवाजलाई अनुरणन र दृश्यको अनुकरणलाई दृश्यानुकरण भनिएको छ । अनुकरणात्मक शब्द रहेका भाषामा भने यो मान्यता उपयुक्त देखिन्छ तर भाषाको समग्रतालाई भने यसले समेट्न सक्दैन ।

(च) गति सिद्धान्त/टाटा सिद्धान्त 

        आदिम कालका मानिस कुनै काम गर्दा उच्चारण अवयवद्वारा क्रियाशील अङ्गका गतिको ध्वन्यात्मक अनुकरण गर्थे । यस्तै ध्वनिहरूबाट पछि शब्दहरू बने र तिनै शब्दहरूको संयोगले भाषाको विकास भयो । भाषाको प्रारम्भमा यस्तो पद्धतिले काम गरे पनि दीर्घकालीन प्रभाव मान्न सकिँदैन ।

(छ) सङ्गीत सिद्धान्त/प्रेम सिद्धान्त 
        डार्विन, स्पेन्सर, येस्पर्सन आदिका अनुसार सङ्गीतबाट भाषाको उत्पत्ति भएको हो । आदिम मानवको भावुकता खेल्दा, नाच्दा, रमाउँदा प्रकट हुने ध्वनिको गुनगुनाहटबाट भाषाको विकास भएको मानिन्छ । यो सिद्धान्त पनि अनुमानमै केन्द्रित छ ।

(ज) श्रम सिद्धान्त

        लड्बिग न्वारेका अनुसार एकथरी चिन्तकहरू श्रमजन्य ध्वनिबाट भाषाको विकास भएको बताउँछन् । कठिन परिश्रम गर्दा, भारी बोक्दा, दाउरा चिर्दा पनि मानिसका मुखबाट ह्या, ह्मु, या, आ जस्ता ध्वनिहरू पैदा हुन्छन् र ती ध्वनिहरू कालान्तरमा त्यस्ताखाले क्रियाबोधक शब्द बन्न पुग्छन् । श्रम सिद्धान्तबाट केही शब्दको उत्पत्ति हुन सके पनि भाषाको उत्पत्तिको वास्तविकतालाई समेट्न सकेको छैन ।

(झ) भावावेगात्मक सिद्धान्त

        मानिसका मनमा सुखदुःखका बेला अनेक भावहरू उदाउँछन् । जब ती भावहरू तीव्र आवेगमा हुन्छन् । त्यति बेला मुखबाट अनौठा शब्दहरू प्रकट हुन्छन् । आदिम मानवका मुखबाट निस्किएका यस्तै शब्दहरूले कालान्तरमा भाषाको रुप लियो । विस्मयादिबोधक प्रकृतिका शब्दहरूलाई यसको उदाहरण मान्न सकिन्छ ।

(ञ) सम्पर्क सिद्धान्त

        जि. रेवेजका अनुसार मानिसले समाजमा सम्पर्क गर्न विभिन्न ध्वनि निकाल्यो र त्यही कार्यबाट भाषाको उत्प ित्त भएको मानिन्छ । सम्पर्ककै क्रममा भाव र विचारको स्तर तय भएको ठानिन्छ  । यस मतलाई भने केही विश्वसनीय मान्न सकिन्छ ।

(ट) समन्वय सिद्धान्त 

        भाषाशास्त्री हेनरी स्विटले भाषाको प्रारम्भ अनुकरण, भावाव्यक्ति र शब्द प्रतीकबाट भएको बताउँदै सबै सिद्धान्तको अधिक उपयोग गरी साझा सिद्धान्तको समन्वयमा जोड दिएका छन् ।

(ठ) प्रतिभा सिद्धान्त

        भर्तृहरिले भाषालाई नेत्र र प्रतिभालाई आत्मा मानेका छन् । प्रतिभाका आधारमा शब्द विविध रुपमा प्रकट हुन्छ । वैयक्तिक क्षमतालाई जोड दिएकाले यस मान्यतालाई महत्त्वपूर्ण मानिन्छ ।

(ड) समाजशास्त्रीय सिद्धान्त

        समाज संरचना, वर्ग सङ्घर्ष, सञ्चार आदि कार्यका लागि भाषाको उत्पत्ति भएको बताइएको ।

(ढ) मनोवैज्ञानिक सिद्धान्त

        व्यवहारवादीहरू अनुकरण, अभ्यास र वातावरणको प्रभावबाट भाषाको विकास भएको मान्दछन् भने मनोवादीहरू आन्तरिक क्षमताबाट भाषाको प्रयोग र विकास भएको मान्दछन् । भाषाको प्रयोग गर्ने क्षमता मानवमस्तिष्कको बायाँ भागमा केन्द्रित हुन्छ ।   

३. निष्कर्ष
  मानव सभ्यताको विकास सँगै जीवन र जगत्प्रति चिन्तन गर्न थालेपछि दर्शनको शुरूवात भएको हो । दर्शन शब्दको अर्थ जीवन र जगतलाई हेर्ने, बुझ्ने र व्याख्या गर्ने दृष्टिकोण हो । प्रकृति र मानव समाजको भित्री आँखा हो । यही आँखाले हरेक वस्तुलाई हेर्ने, जाँच्ने, बुझ्ने र सोहीअनुरूप आफ्नो धारणा र जीवन व्यवहार निर्धारण गर्दछ । साँचो कुरा बुझ्न, सही दृष्टिकोण वा धारणा निर्माण गर्न, मानव समाज रूपान्तरणको लागि मार्गदर्शन गर्न, चिन्तनका नियमहरू लागु गर्न, पदार्थ र चेतनाको अन्तरसम्बन्धको अध्ययन गर्न र समाजको वास्तविकता बोध गर्न दर्शनको महत्त्वपूर्ण भूमिका हुन्छ । मानव मस्तिष्कबाट जीवन, मृत्यु, जगत्, ईश्वर आदिका बारेमा उब्जेका आश्चर्य, शङ्का एवम् उत्सुकताबाट दर्शन सुरु हुन्छ । विशेषगरी दर्शनले अन्तर्निहित विश्वासप्रति आफ्नो मत तथा स्वतःसिद्ध प्रमाणप्रति शङ्का गर्ने गर्दछ । यही दर्शनको एक शाखाकारूपमा भाषिक दर्शनको विकास भएको छ । भाषिक दर्शनले भाषाका क्षेत्रमा गहिरो अध्ययन गर्दछ । भाषा उत्पत्तिका सवालमा भाषा कसरी जन्मियो ?, भाषा र आध्यात्मिक दर्शनको के सम्बन्ध छ ? आध्यात्मिक दर्शनअन्तर्गत ईश्वर, जगत्, मन, आत्मा, जीव, ज्ञान, कर्म, वैराग्य, मुक्त लगायतका कुराहरू त्यसैगरी भाषा र मनको सम्बन्ध, सत्य र अर्थसँग जोडिएको भाषा, भाषा र तर्कको दार्शनिक अर्थको कुराजस्ता कुराहरूका आधारमा भाषिक सन्देश समाधान हुने देखिन्छ । यसैगरी भाषाको उत्पत्तिका सवालमा दैवी उत्पत्ति सिद्धान्त, विकासवादी सिद्धान्त, धातु सिद्धान्त/डिङ डोङ सिद्धान्त/रणन सिद्धान्त, सङ्केत सिद्धान्त/निर्णयवाद/निर्णय सिद्धान्त/स्वीकारवाद, अनुकरण सिद्धान्त, गति सिद्धान्त/टाटा सिद्धान्त, सङ्गीत सिद्धान्त/प्रेम सिद्धान्त, श्रम सिद्धान्त, भावावेगात्मक सिद्धान्त, सम्पर्क सिद्धान्त, समन्वय सिद्धान्त, प्रतिभा सिद्धान्त, समाजशास्त्रीय सिद्धान्त र मनोवैज्ञानिक सिद्धान्तका आधारमा भाषाको जन्म भएको देखिन्छ । यी विविध कुराहरूको अध्ययन समग्रमा भाषिक दर्शनले गर्ने गरेको पाइन्छ ।

सन्दर्भ सामग्री

गौतम, देवीप्रसाद, ओझा, रामनाथ, सुवेदी, सखिशरण (२०६७), सामान्य भाषाविज्ञान, काठमाडौँ : पिनाकल पब्लिकेसन प्रा.लि. ।
ढकाल, माधवप्रसाद र कोइराला, मातृकाप्रसाद (२०६५), शिक्षाका आधारहरू, काठमाडौँ : रत्न पुस्तक भण्डार ।
भण्डारी, पारसमणि र पोख्रेल, केशवराज (२०७७), नेपाली भाषा शिक्षणका दार्शनिक आधारहरू (अप्रकाशित मुडल सामग्री), काठमाडौँ : नेपाल खुला विश्वविद्यालय ।
शर्मा, अभय (२०६९), नेपालका दार्शनिकहरू, काठमाडौँ : नेपाल प्रज्ञा प्रतिष्ठान ।

No comments:

Post a Comment