Sunday, May 16, 2021

अन्धकारमा ज्योति बाल्ने शिक्षक

Topa Ram Pandeya (टाेपाराम पाण्डेय)
            - हुकुमानन्द पाण्डेय
मानवकर्म अपरिहार्य तर प्रकृति फरक फरक ... । हजारौँ कर्मको भिडमा एउटा अनवरत कर्म ः शिक्षण कर्ममा आफ्नो जीवन भोगाइको ४३ वर्ष ६ महिना २८ दिन व्यतित गरी शिक्षाको उज्यालो ज्योति छर्न तल्लीन प्राज्ञ व्यक्तित्वहरूको भिडमा एउटा छुट्टै र बेग्लै पहिचान बनाउन सफल व्यक्तिको नाम हो, टोपाराम पाण्डेय । पितामह टीकाराम पाण्डेय र पितामही मनकली पाण्डेयका नाति एवम् पिता टङकनाथ पाण्डेय र माता लीलादेवी पाण्डेयका काहिँलाे सन्तानका रूपमा पाण्डेय स्यूजा - ५, रापधारा, दाङमा जन्मनु भएकाे थियाे । आफ्नो जीवनको केही आयाम स्यूजा – ४, कालीमाटी, दाङमा व्यतित गरी हाल उहाँ घोराही उपमहानगरपालिका – ३, वर्गद्दी, दाङमा बस्दै आउनु भएको छ । 
            वि. सं. २०१२ साल फाल्गुन २५ गते जन्मनुभएका पाण्डेयले आफू ८ वर्षको हुँदा नै आफ्ना पिता गुमाउनु भयो । पहाडको ठाउँ, बाबुको निधनको पीडा र आर्थिक सङ्कटको सामना गर्दै आफ्ना आफन्तहरूका सरसहयोगमा उहाँ दुखजिलो गर्दै अगाडि बढ्नु भयो । जस्तो सुकै कठिन पस्थितिमा पनि अविचलित भई आफ्नो कर्मलाई निरन्तरता दिने आँट र साहससहित उहाँले आफ्नो अध्ययनलाई भने निरन्तरता दिइरहनुभयो । आई.ए. सम्मको अध्ययन सम्पन्न गर्नुभएका उहाँलाई कक्षा ८ पढ्दै गर्दा एक विद्यालयले शिक्षकका रूपमा आइदिन अनुरोध गर्‍यो । तत्पश्चात् उहाँले आफ्नो पढाइसँग सँगै जागिरे जीवन पनि सुरु गर्नुभयो । 
            १९ वर्षको उमेरमा १४ वर्षकी झगा भण्डारीसँग विवाह गर्नु भएका उहाँका ५ सन्तान जन्मिए । दुई छोरा र तीन छोरीका बुबा बन्न पाउँदा खुसी थपिएको उहाँको जीन्दगीमा चुनौतीमा पहाडहरू पनि थपिए । आफ्ना सन्तानको शिक्षादीक्षामा सहजता थपियोस् भनी २०६२ सालमा उहाँ आफ्नो सपरिवारसहित घोराही उपमहानगरपालिका – १७, वर्गद्दीमा स्थायी रूपमा बसाइँ साराइ गर्नुभयो । “ज्ञान नै धन हो, योभन्दा ठुलो धन हुनै सक्दैन ।” भन्ने आदर्शलाई आत्मसात् गर्ने पाण्डेयका ५ छोराछोरीमध्ये जेठी छोरी डेमा पाण्डेयले एस. एल. सी., माइली छोरी बालिका पाण्डेयले आई. ए., कान्छी छोरी तीला पाणडेयले बी. ए. त्यसैगरी जेठो छोरो नवराज पाण्डेयले बी. ए. र कान्छो छोरो हुकुमानन्द पाण्डेयले एम. फिल. सम्मको अध्ययन गरेका छन् । 
          
            आफ्ना सबै सन्तानलाई राम्रो पालनपोषणसहित राम्रो शिक्षादीक्षा दिन सफल भएकाले अहिले उहाँको एक सन्तान निजामती सेवामा, दुई सन्तान शिक्षण सेवामा र दुई सन्तान व्यापारमा अब्बल देखिएका छन् । उहाँले आफ्ना सन्तान मात्र बनाउनु भएन, आफ्नो ऊर्जाशील समय दाङको स्यूजा गाविसअन्तर्गत पर्ने बोचपोखरा (महेन्द्र मा. वि. स्यूजा), होडबाङ (भगवती मा.वि. होडबाङ) र (प्रा. वि. मर्पेस) मर्पेसजस्ता पहाडी क्षेत्रको विकट ठाउँमा विताएर गरिब जनताका छोराछोरीलाई ज्ञानको दियो बालिदिनुभयो । उहाँका हजारौँ शिष्यहरू अहिले देश विदेशका विभिन्न ठाउँका विभिन्न क्षेत्रमा कार्यरत छन् ।  
            आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर उहाँले शिक्षा क्षेत्रमा गरेको अतुलनीय एवम् अविस्मरणीय योगदानको उच्च मूल्याङ्कन गर्दै समय समयमा विभिन्न सङ्घ संस्थाले उहालाई कदर पत्रले सम्मानसमेत गरेका छन् । यसै क्रममा उहाँ वि. सं. २०४५ सालको शिक्षा दिवसको अवसरमा शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरे बाफत जिल्ला शिक्षा समिति दाङद्वारा नगद पुरस्कार तथा प्रमाणपत्रले पुरस्कृत तथा सम्मानित हुनुभयो । यसैगरी वि. सं. २०७० पौष १९ गते स्यूजा गाविसलाई दाङ जिल्लाको खुला दिसा मुक्त क्षेत्र बनाउने अभियानको क्रममा २६ औँ गाविसको रूपमा खुला दिसा मुक्त गर्न गराउन निरन्तर सक्रिय भई अतुलनीय योगदान दिएकामा उच्च प्रशंसा गर्दै गाविस खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको तर्फबाट सम्मानपत्रले सम्मानित हुनु भयो । यसैगरी श्री प्रा.वि. मर्पेस दाङमा ३७ वर्ष ९ महिना अटुट रूपले प्रधानाध्यापक शिक्षक पदमा रही लामो समयसम्म योगदान गरी सोही विद्यालयबाट निवृत्त हुनुभएको हँुदा योगदानको उच्च मूल्याङ्कन गर्दै वि.सं. २०७२ साल चैत्र १ गते सम्मानपत्रले सम्मानित हुनुभयो । यसैगरी शिक्षा क्षेत्रमा लामो समयसम्म शिक्षा दान गर्दै जीवन व्यतित गरी नेपाल शिक्षक संघको आदर्श र गरिमालाई समेत उच्च राख्न सदैव क्रियाशील रहनुभई शिक्षण सेवाबाट निवृत्त हुनु भएकाले भावी जीवनको सुखमय कामनासहित कुशल शिक्षकको रूपमा शिक्षक दिवस २०७३ को उपलक्ष्यमा वि.सं. २०७३ साल वैशाख ३० गते नेपाल शिक्षक संघ दाङद्वारा कदर पत्रले सम्मानित हुनुभयो । 











 



            शैक्षिक इतिहासमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्राज्ञ व्यक्तित्व पाण्डेय प्राथमिक तह प्रथम श्रेणीबाट अनिवार्य अवकाश प्राप्त गरी वर्तमान समयमा पनि शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि गर्न र भावी पुस्तालाई गोरेटो प्रदान गर्न टेवा पुगोस भन्ने आशयले विभिन्न सोसल मिडियाबाट ज्ञान बाड्ने अभियानमा सरिक हुनुहुन्छ ।
          


1 comment:

  1. हाम्रो आदरणीय गुरु एच.एन.सरको बुवाले शिक्षण क्षेत्रमा आमूल परिवर्तन ल्याउनका निम्ति अतुलनीय एवम् अवीस्मरणीय योगदान दिनुका साथै एउटा असल नागरिकको कर्तव्यलाई निर्वाह गरी सामाजिक कृयाकलापमा पनि सम्लग्न भएरस्यूजा गाविसलाई दाङ जिल्लाको खुला दिसा मुक्त क्षेत्र बनाउने काममा सक्रिय हुनु भयो ..र अन्तिममा ज्ञान नै धन हो, योभन्दा ठुलो धन हुनै सक्दैन ।” भन्ने आदर्शलाई आत्मसात् गर्ने हाम्रा आदरणीय गुरु एच.एन.सरको बुवालाई कोटि कोटि प्रणाम अनि सलाम छ।🙏

    ReplyDelete