Tuesday, October 9, 2012

पैसाले लखेटिएको आजको मान्छे

                                                   - हुकुमानन्द पाण्डेय
        होइन खिजाउनुसम्म खिजाउनुहोस्, सकेजति दुःख अनि पीडा दिनुहोस्, जति सक्नुहुन्छ अपमान गर्नुहोस्, अपेक्षा के थियो र के छ अझै तपाईंको न मलाई नै थाहा छ, न त तपाईलाई नै ! मन नपरेको चिज बारम्बार तपाईं समिप आउँदा असहज लाग्न सक्छ; अप्ठ्यारो लाग्न सक्छ; चित्त दुख्न सक्छ; तपाईंको । हो, पैसा आजको खोक्रो युगमा अहमताको खेतीमा लगानी बढाउने स्रोत भएको छ तर त्यो स्रोत सबैसँग प्रयाप्त पनि छैन । मान्छु तपाईंसँग प्रयाप्त पैसाको फल फलेको छ र यो पनि दृष्यात्मक सत्य हो कि, फलेको बोटको हाँगो नुगेको हुन्छ तर तपाईं कहिल्यै निहुरिनु भएन । तपाईंको त्यो बोटको फल, फल जस्तो मात्र रहेछ । त्यसको कुनै तौल रहेनछ । जो कि उसले निहुराउन सकोस् ।
     
        मान्छेले पैसा राखेको होइन पैसाले मान्छे राखेको हो । आजको वस्तु सत्य यहीँ हो, जहाँ पैसाका गन्ध आउँछन्; रस चुहिन्छन्; हो, त्यस्तै ठाउँमा मान्छे रम्न चाहन्छ । त्यस्तैसँग मान्छे नाता जोड्न चाहन्छ । अफ्नो बनाउन चाहन्छ । थुप्रै मान्छेहरू पैसाको पछि लागेका छन् । पैसाबिनाको आजको भविष्य जोखिम छ । पैसाबिनाको आजको समय सार्थक छैन । टक्क अडाउँछ पैसाले । फटाफट दौडाउछ पैसाले । पैसाले मान्छेलाई छमछमी नचाउँछ; हसाउँछ र कतिलाई रुहाउँछ पनि ! हो, यो सब पैसाले गराएको हो, न कि मान्छेले । मान्छे एउटा स्वरूप मात्र हो । त्यसलाई चलायमान त पैसाले पो गराउँदो रहेछ । पैसाकै कारण साथी साथी चिन्दैन । आफ्नो पराई हुन्छ । छोराले बाबु चिन्दिन । बाबुले छोरा चिन्दिन । मान्छेले व्यवहार बिर्सन्छ । नाता बिर्सन्छ। सम्बन्ध बिर्सन्छ । कुटुम्ब बिर्सन्छ । पैसाको नाममा निमिटान्न भएको आजको मानव समुल पिँजडामा अल्झिएको  छ ।
     
        धन पैसाको होडबाजीमा आज कैयौँको ज्यान जोखिममा रहेको छ । भोक, प्यास र निद्रालाई थाती राखी कैयौँ मान्छे आज आफ्नो जन्मभूमिलाई बर्सी खाडी, अनकन्टार, सुनसानमा ज्यानको बाजी राख्दै पासिना बगाइरहेका छन् । आजका मान्छेलाई जहाँ पुर्‍यायाे पैसाले पुर्‍याएकाे हो । निस्वार्थ सेवाका लागि आजका सबै मान्छे आफ्नो ज्यानको जोखिम उठाउन चाहान्नन्। तर आफ्नो स्वार्थ सिद्धिका लागि भने जे पनि गर्छ आजको मान्छे । एउटालाई दुःख दिएर आफू ठूलो र भद्र सम्झने परचक्रीहरू मौलाइरहेको यो परिवेशको पवन मन्द छ । अठ्यारा, भयानक र बीभत्स घटनाहरूले व्यापकता छाएका छन् । मन दोसादमा अल्झएर परपीडा सम्प्रेषणमा रमाउनेहरूको बीजले छलाङ मारिरहेको छ । आज मेची रोएको छ । महाकाली रोएको छ । सारा विश्व रोएकोछ । केवल तपाईंको मन रोएको छैन किनकि तपाईंमा अहमता छ । पानी माथिको ओभानु बन्न कोसिस गर्ने तपाईं, धर्तीमा पाइला टेकी धर्तीलाई धिकार्ने तपाईं, चाकडी र चाप्लुसीमा बेस्त भई आफ्नो र पराई भुल्न कोसिस गर्ने तपाईं, तपाईंलाई सम्बोधन गर्ने थुप्रै शब्दहरू भेटिन्छन् अमृत कोशमा तर विडम्बना यो छ कि तपाईंका लागि कुनै एउटा शब्द मात्र काफी छैन । बितन्डता मच्याएर त्रास फैलाउने, दुःख र सास्ती दिने, जनताकै पैसा खाएर उनीहरूकै काममा हेलचक्राई गर्ने, असिना पसिना गरेर जम्मा गरेको अर्काको चिजमा कब्जा जमाउने हावा फैलाउँदै सारा मानिसलाई भ्रामक सहरको भुलभुलैयामा भुलाएर सुइकुच्चा ठोक्न ब्यस्त आजका मान्छेहरूको एउटा छाया तपाई हो । अप्रत्यासित हार, लखेटिएको मान्छे, छिया छिया जस्तै दृश्य, कपोकल्पित भावनाहरू, असामान्य जस्तै व्यवहार जिन्दगीका अदृश्य काल्पनिक जस्तै लाग्ने यथार्थता आज प्रष्ट देखिन्छन् ।

        मान्छे एक्लो बन्ने कुरा र मरेर जाने कुरा बिर्सन्छ । बाचुन्जेल कसरी अरूलाई कजाउने, आफ्नो कैदमा पार्ने, कसरी आफू स्मार्ट बन्ने, कसरी अरूलाई दुःख दिएर आफू रमाउने भनी सदासदा चिन्तित भइरहेको हुन्छ जति भए पनि, जति नभएपनि, आजको मान्छे आफ्नाआफ्ना मृग तृष्णारूपी आकाङ्क्षाका धमिलो तर चिसो पोखरीमा पैडी खेलिरहेका हुन्छन् । झुठ, अवास्तविक र असान्दर्भिक प्रसङ्गहरूको लाम लगाएर चर्को घाममा अनायास पाइलाहरू चालाउन बाध्य बनाउने आजका शासक जस्तै तपाईंको स्वभाव पनि शासित भएको छ आज । स्वयम् शासित तपाईं आमाको कोख विर्सनु भयो; आफ्नो पृष्ठभूमी र आधार विर्सनु भयो; आफ्नो संस्कार विर्सनु भयो; अह, त्यसो होइन बिर्से जस्तो मात्र गर्नु भएको हो । बनावटी हाँसो हाँसेर दुनिया हसाउन चाहानुहुने तपाईं, विगत र भविष्यलाई विर्सिएर वर्तमानमा हैकम चलाउने लालचा देखाउनु भएको छ ।

      आजका बालबालिका तपाईंका विगत हुन् र आजका बुढापाका तपाईंका भोलिका भविष्य हुन्, ठीकै छ विगत त तपाईंले भुलेर आज रजाई गरिरहनु भएको छ तर भविष्य सम्झनुहोस् तपाईं पनि वृद्ध बन्नु हुनेछ । उमेरले परिवर्तन खोज्नेछ । शक्ति ह्रास हुनेछ । शासन अर्कैले चलाउनेछ । तपाईं स्वयम् आफू शासित बन्नु हुनेछ । मन परेको चिज प्राप्त गर्न कसैको साहारा माग्नु पर्नेछ त्यो बेला तपाईंलाई पनि ! तपाईं, आज नसोच्नुहोस कि, म वृद्ध हुन्न भनेर, यो सस्वत सत्य हो, जो कोही एक न एक दिन वृद्ध हुन्छ; असक्त हुन्छ; बिरामी पर्छ र अन्ततः यो धर्ती छोडेर जान्छ । आफूसँग भएको सबै कुरा छोडेर जान्छ । तपाईं रित्तो हात जानुहुन्छ, तपाईंसँग भएको चाहेर या नचाहेर केही लग्न पाउनु हुँदैन । त्यसैले आफू शक्तिवान् भएको बेला आ–आफ्नो ठाउँबाट के गर्ने के नगर्ने राम्रोसँग छुट्याएर मात्र गर्नुहोस् । हर मनले चाहान्छ आफ्नो अस्तित्वलाई अमर राख्ने, सबैको प्रिय पात्र बन्ने तर जानेर या नजानेर यसैका लागि आजको मान्छे पैसाको पछि लागेको छ । धन सम्पत्तिको पछि लागेको छ । मरेर जाने चोल फेरि भेट होला नहोला । त्यसैले आफ्नो अस्तित्वलाई अमर राख्न के गर्ने ? अरुलाई दुख, दिने ?, सास्ति दिने ?, तड्पाउने ?, या दुःखीको सहयोग गर्ने; संस्कार नभुल्ने; नैतिकता ह्रास हुन नदिने; सबैको प्रिय पात्र बन्ने  । यो सब लगानीको समय हो । लगानी यहीँ बेला गर्नु उचित हुन्छ, न कि बुढेसकालमा ।    

No comments:

Post a Comment