- हुकुमानन्द पाण्डेय
चोइटेर फगत खेर गएको त्यो शब्द, “नेताजी जागिर दिनु पर्यो ।” देशको ‘ए’ लेवलको नागरिक भिख माग्दै थियो त्यो दिन बारम्बार उही शब्द दोहोराउँदै । देशले उसलाई 'ए' लेवलको बिल्ला लगाइदिएको थियो तर जागिर माग्दै थियो त्यो पनि नेताको घरमा । चाकडी र चाप्लुसीका माहुर खुहाउन ऊ माहिर देखिन्थ्यो । जिजीविषा जागिरसँग गासिएको आजको मान्छे जस्तै उसले पनि आफ्नो स्वभाव परिवर्तन गर्न सकेको थिएन ।
"नेताजी नमस्कार !" ऊ 'बि' पार्टीको चर्तापुर्दा नेताका गएर सिफारिस ल्याएर आयो । बीच बाटोमा सुन्यो त्यहाँ त 'ए' पार्टिको पो चल्छ रे ! उसले पत्रिकामा प्रकाशित विज्ञापनमा आफ्नो ध्यान दौडायो र दृढ विश्वासका साथ सम्झियो र सोच्यो म स्थानीय हुँ । यो मेरो अधिकारको विषय पनि हो । म यसमा चुक्नु हुँदैन । निष्पक्ष र प्रतिस्पर्धात्मक ज्ञानको परीक्षा मैले पनि दिनु पर्दछ । औलामा गन्दै गयो अन्तिमसम्म कति जना पुगे त आवेदन दिनेहरूमा भनेर । अन्तिम दिन ऊ सरासर अफिसमा गएर खराखर रू १५००/- बुझायो, ऊँ पनि प्रतिस्पर्धी भयो । केही जिल्ला बाहिरका उमेद्वारले पनि उमेद्वारी दिएका रहेछन् तर ऊ ढुक्क थियो आफू नभएपनि स्थानीयले स्थान पाउँछन्, भन्नेमा । ११ जनाको लडाइँ थियो । जागिर खालि १ जनाका लागि मात्र सीमित थियो । जसले जागिर खाएपनि १० जना त बेरोजगार नभई छुट्टी थिएन । आवेदन दिएर ऊँँ सरासर आफ्नो घरतिर तानिँदै थियो । बीच बाटोमा एउटाले भन्यो, "बेकारमा पैसा चडाउनु भयाे, तपाइँ !" ऊ खिन्न भएर प्रश्न तेर्सायो, "किन ?" जवाफमा पायो, "के तपाइँ ए पार्टिको मान्छे हो ?" ऊ चुपचाप लाग्यो र भन्यो, "म केही पनि होईन, खालि उमेद्वार मात्र हुँ ।" फेरि जबाफमा पायो, "कि त्यसो भए आवेदन दिन नहुने थियो । योग्यता र क्षमतालाई पार्टिको खोलमा ओडाउनेहरूको घुइँचो लागेको यो समय आखिर सोझासाझा क्षमतावानका लागि कहिल्यै आफ्नो पक्षमा भएन ।" फेरि उसको मस्तिष्कमा बजारिन आयो यो सन्देश । पावर र पहुँचको खेतीमा मडारिएको यो समयप्रति हर मन आक्रान्त देखिन्छन् ।
जागिरको खडेरी लागेको समय, पावर र पहुँच भिडाउनुपर्ने समय, खानपिन र उठबसले आक्रान्त बनाएको थियो । ऊसँग सबथोक थियो, सिर्फ जागिर थिएन । धेरै लामो समय भएको थियो, ऊँ वेरोजगार भएको । त्यसैले गर्दा पनि उसले त्यो परीक्षा दिएरै छाड्ने निर्णय गर्याे । अब उसले पुनः आफ्नो कुटिल माहुर खुवाउने माहिर काम सम्हाल्दै ए पार्टीको नेताका गएर आफ्ना सबै कुरा राख्यो तर जवाफमा पायो, "टिकट काट्नुस् । हामीलाई सजिलो हुन्छ ।" उसले सजिलै टिकट काट्ने कुरा मानेन र भन्यो, "के पर्टीका सदस्यले हो जागिर खाने ? जागिर खाने जति सबै राजनैतिक सङ्गठनमा आबद्ध हुन्छन् ? शिक्षक बन्ने जस्तो कुरा, अरूलाई सिकाउने, शिक्षित बनाउने र समृद्ध समाज निर्माणमा अहम भूमिका खेल्ने ज्ञान, सीप भएका दक्ष एवम् क्षमतावान व्यक्तिलाई बाइपास गरेर राजनैतिक भागबन्डामा स्थानीय महिला दलित केही पनि नभनेर अर्कै पाराले तपाइँहरू राजनैतिक स्वार्थ पूरा गर्न अर्कै मान्छे नियूक्ति गरेमा के होला त्यो समाजको अवस्था, त्यो परिवेश, त्यो स्कुलको शैक्षिक अवस्था, सोच्नु भएको छ छैन ?" प्रश्न तेर्साउँदै ऊ तीन छक परेर केही नभनी सरासर घर गयो र अफ्नो तयारी गर्याे, भेट्ने जति, लाग्ने जति नातागोता सबैलाई खबर गर्याे, नेतासँग नम्रताकासाथ पुन: भेट भएर अनेक गर्याे । यस्तैमा परीक्षाको समय आयो । परीक्षा भयाे नतिजा उल्टो आयो । कुनै पनि स्थानीय, दलित, जनजाति महिला कसैलाई पनि ग्रहायता दिइएन । जिल्ला बाहिरको उमेद्वारलाई नियुक्त गरियो । किन ? कसरी ? भन्ने कुराकाे प्रश्न तेर्साउने त्यहाँ कुनै आट भएको हिम्मतिलो व्यक्ति भेटिएन । सबै उमेद्वार हराए कसैले आवाज उठाएनन् । प्रकासित विज्ञापनका शब्द शब्दमा कसैको ध्यान पुग्न सकेन ।
समयको भेलले जानिनजानि केही पर हुत्याउँदै थियो । एक दिन उसैसँग भेट भयाे, जसलाई केहीँ समय अघि ए पार्टिको कार्यालयमा देखेको थिए स्कुल ड्रेसमा ऊँ स्कूल जाँदै थियो । समय समयमा घटिरहने यी र यस्ता घटनाको विरासताले आक्रान्त बनेको मन आजसम्म कतै विश्वस्त हुन मान्दैन । जताततै ठग र तस्करहरूको भिड छ । शिक्षामा नजानिँदो तरिकाले राजनीति चलाउने र हैकम जमाउने प्रवृत्ति बढ्दो छ । दिनप्रतिदिन राजनीतिक दलालहरूको तानासाही प्रवृत्तिले शिक्षाको समान अवसरमा निसास्सिएका छन्, आजका बालबालिका । पाइला पाइलामा आफन्तवाद र अवसरवादी प्रवृत्तिले जरो गाड्दै गएको छ । योग्यता, क्षमता र ज्ञानको उचित मूल्याङ्कन हुन छाडिसकेको छ । ज्ञान त्योसँग हुन्छ, जोसँग राजनीतिक पावर छ, आफन्तवादी धब्बा छ भन्ने प्रवृत्ति मौलाउँदै छ ।
यो समयको वितन्डता यहाँको मात्र हो या यो संसारमै यस्तै छ यो बुझ्न अति कठिन छ परीक्षामा चोर्ने र चोराउने प्रवृत्ति मौलाउँदो छ, आजका प्राध्यापक/परीक्षागार्ड आफ्ना आफन्तलाई हर बहानामा चिट चोराउँछन्, आजका डाक्टर नक्कली सर्टीफिकेर्ट देखाएर आफ्नो डाक्टरी उपाधि हासिल गरेको छारो जनताको आखामा हालिदिन्छन् । सरकारी तथा गैरसरकारी कार्यलय लगायत जताततै आजको सिस्टम घुसखोरी बनको छ । उसो त कोही त्यस्ता सज्जन पनि छन् तर जोगिन जोगाउन र आफू बच्न उनीहरूलाई आजको यो सिस्टममा हम्मे हम्मे छ । उसो त कही कही खाने एउटाले नाम भने अर्काको पनि सुन्ने गरिन्छ । चित्त कसैको नदुखोस्, हुन त दुखोस् पनि कसरी, खानेहरू बलिया हुन्छन् । त्यसैले मन र चित्त पनि बलियो हुन्छ होला उनीहरूको । ठूलो झड्का नलागुन्जेल दुख्दैनन् उनीहरू । जनताको नाममा कसम खानेहरूको पनि नैतिकता छरपस्ट छ । भोका निमुखा र उत्पीडित जनताको श्रम र पसिनामा हैकम जमाएर धन कुम्ल्याउने प्रवृत्ति नेतृत्वमा देखिन लागेको छ । आजको यो दुर्दसा युक्त समय र घुसखोरी सिस्टममा कानुनलाई आफ्नो खल्तीमा राख्ने बस्तु सम्झेर हिड्नेहरू, जनताको हर पाइलापाइलामा सुरक्षा प्रदान गर्ने जिम्मा पाएकाहरू तथा जनतालाई अधिकार दिलाउनेहरू, गलत काम गर्ने र सिस्टम विगार्नेहरूलाई सजाए दिई सही बाटो देखाउनेहरूकै दुस्साहस र दुर्दसा छरपस्ट देखिन्छ .....। उसो त सबै त्यस्तै भन्ने होइन । कति इमान्दार पनि छन् यो दुनियामा तर एउटा माछाले समुन्द्र धमुल्छ भन्छन् त्यहीँ चरितार्थ हो । यस्तो अबस्थामा जनता कसको विश्वास गर्ने ? कसरी सुरक्षाको महसुस गर्ने ? जनतालाई न्याय कसले दिलाइदिने ? यो आम सोचनिय विषय हो यसमा जिम्मेवार सबैले आफ्नो आफ्नो ठाउँबाट आजैदेखि कदम चलाउनु बेस हुन्छ । गलत र अनैतिक कार्यमा लाग्नेहरुलाई पाखा लगाऔं । सचेत बनाउनका लागि औला उठाऔँ, खबरदारी गरौं, सचेत बनौँ र बनाऔँ । यसैमा सबैको भलो हुने छ ।
घमण्ड, क्षेमता र व्यक्तित्व
- हुकुमानन्द पाण्डेय
आफू को हुँ ? कहाँ छु ? के गर्दै छु ? भन्ने कुरामा मानिसहरु आफू नै अनविज्ञ हुन्छन् । यस कुरामा आजका आधुनिक सभ्यताका भनाउँदा मानिसहरू त झन् यसको ठूलो सिकार भएको अनुमान गर्न सकिन्छ ।मान्छे कसरी स्माट बन्ने, कसरी अरूलाई दु:ख दिएर आफू सुखी बन्ने भन्ने सोचमा तड्पिरहेको हामी अनुमान मात्र होइन व्यवहारतह ठोकुवा समेत गर्न सक्छौँ । निराशाजनक कुरा त यो छ कि, देश निर्माणका सशक्त कर्णधारको बिल्ला लगाइएका आजका केही युवापुस्तामा आफ्नो क्षमता भन्दा पनि पुर्खौली हैकममा अरूलाई लाध्न खोज्ने प्रवृत्ति मौलाएको पाउन सकिन्छ ।
आफूले कसरी सिक्ने र सक्षम बन्ने भन्दा पनि कम र त्रुटिपूर्ण सिकाइमा आफू रूमलिएर अरूलाई सिकाउन खोज्ने प्रवृत्ति आजको होइन यो सदियौँदेखि चल्दै आएको रीत जस्तै हो । आफूले हृदयदेखि नै मन पराएको तर आफ्नो जीवनकाल भर प्राप्त गर्न नसक्ने निश्चित भएकाहरूप्रति व्यक्त गरिने गुनासो, खेद, असन्तुष्टि तथा नकारात्मकताप्रति अकर्षित हुने मान्छेको अभिव्यक्तिसँग मिल्दो जुल्दो हुनआउने मानवीय जीवन शैली अत्यन्त क्लिष्ट र दुर्बाेध्य रहेको पाउन सकिन्छ ।
उसले आफूले यसो गर्छु, उसो गर्छु भनेर सधैँ भनिरहन्छ तर पलपलमा ठूला भनाउँदाहरूको गुलामी र चाकडी गर्न पछि पर्दैन, उहीँ युवा जो देश निर्माणको सशक्त कर्णधार हो, उसले सधैँ आफ्ना इष्टमित्र, आफ्नै बुबा, दादा, मामा, फुपू, फुपाजु आदिका कुरा गर्छ तर आफ्नो कुरा कहिल्यै गर्दैन किनकि उसले कुनै उदाहरण दिन लायक कुरा प्राप्त गर्न नै सकेको हुँदैन तर पल पलमा आफ्नो पुस्ता (बाबा, आमा, दादा, फुपू, फुपाजु आदि) को कुरा गर्दै फगत आफ्नो समय खेर फालिरहेको हुन्छ र अरूकै कुरा गर्दा गर्दै सारा समय बर्बाद बनाइरहेको हुन्छ घमण्डै घमण्डमा ।
क्षमतै नभएको मान्छेले अरूलाई गाइड गर्दा त्रुटिपूर्ण सिकाइको व्यपकता बढ्न सक्छ र सिकारू पनि असक्षम बन्न सक्छ र थुप्रैलाई असन्तुष्ट बनाउन सक्छ । घमण्ड देखाउँदै ठूलो आवाज बाेल्नेहरूको गला एक न एक दिन बस्छ नै ! त्यसैले अर्काको क्षमताको आड लिएर काम गर्नेहरूले आफूले सिक्ने र सक्षम बन्ने बानीको विकास गर्दा राम्रो हुन्थ्यो कि किनकि सदा सदा अर्काको सपोर्टमा काम गर्दा कहिलेकाही सपोर्ट भाचियो भने जिन्दगी नै तहस नहस हुने गरी खतरामा पर्न सक्छ ।
जानि – जानि तपाई आफू आफैँलाई धोका दिँदै हुनुहुन्छ । आफ्नो जीवनमा आफैँ खेलवाड गर्दै हुनुहुन्छ । उमेरले परिवर्तन चाहेको वेला तपाई कसैको लहलहैमा लाग्दै हुनुहुन्छ । तपाई आफू यो निस्सारमय जीवनको खेलौना हुनुहुन्छ भन्ने थाहा नहुन सक्छ तपाईलाई र पनि अझै आफू क्लिष्टतामा फस्दैहुनुहुन्छ । कसैको जीवनलाई खेलौना सम्झनुहुन्छ तपाई झुट अवास्तविक र अनावस्यक कुरा गरी यो दुनियालाई समेत बेकुफ र कठपुतली बनाउन खोज्दै हुनुहुन्छ तपाई । आफ्नो हैसियतलाई नाघेर छलाङ मार्न खोज्दैहुनुहुन्छ तपाई ।
हामी जहाँ तहीँ देख्ने गर्छौँ कहीँ कसैले सोर्स फोर्समा जागिर पनि खाने गरेको पाउन सकिन्छ तर विना सोर्स खाएको जागिरमा कति दम हुन्छ । देख्ने र चिन्नेहरूले मूल्याङ्कन के गरिरहेका हुन्छन् ? व्यक्तित्व त्यसमा हुन्छ, जसमा आफ्नै क्षमता हुन्छ । दुनियाले त्यसलाई मान्छ, जसमा क्षमता हुन्छ । व्यक्तित्व सवल त्यसको हुन्छ, जसको क्षमता हुन्छ ....।
No comments:
Post a Comment