Sunday, June 16, 2024

कथ्य स्वर वर्णको वर्गीकरण

कथ्य स्वर वर्णको वर्गीकरण 



अग्र             पश्च       गोलित

                     उच्च

    शिथिल              मध्य

अगोलित      निम्न

            


(क) जिब्राको उचाइ

स्वरवर्णको उच्चारणमा जिब्रो उच्च, मध्य र निम्न स्थानमा तलमाथि गरिरहने आधारमा यसलाई निम्न तीन प्रकारमा विभाजन गर्न सकिन्छ :

(अ) उच्च स्वर : जुन स्वर उच्चारण गर्दा जिब्रो सबैभन्दा माथि उठ्छ, त्यस्तो स्वरलाई उच्च स्वर भनिन्छ । नेपालीका इ, उ उच्च स्वर हुन् ।

(आ) मध्य स्वर : जुन स्वर उच्चारण गर्दा जिब्रो मध्य भागसम्म उठ्छ, त्यस्तो स्वरलाई मध्य स्वर भनिन्छ । नेपालीका ए, ओ मध्य स्वर हुन् ।

(इ) निम्न स्वर : जुन स्वर उच्चारण गर्दा जिब्रो नउठी निम्न भागमै रहन्छ, त्यस्तो स्वरलाई निम्न स्वर भनिन्छ । नेपाली भाषाका अ, आ निम्न स्वर हुन् । 

(ख) जिब्राको सक्रियता 

स्वर वर्णको उच्चारण गर्दा जिब्राका विभिन्न भाग सक्रिय हुने आधारमा यसलाई दुई वर्गमा वर्गीकरण गर्न सकिन्छ :

(अ) अग्र स्वर : जुन स्वर उच्चारण गर्दा जिब्राको अग्रभाग सक्रिय हुन्छ, त्यस्तो स्वरलाई अग्रस्वर भनिन्छ । नेपाली भाषाका इ, ए अग्रस्वर हुन् ।

(आ) पश्च स्वर : जुन स्वर उच्चारण गर्दा जिब्राको पश्चभाग सक्रिय हुन्छ, त्यस्तो स्वरलाई पश्चस्वर भनिन्छ । नेपाली भाषाका अ,आ, उ, ओ पश्च स्वर हुन् ।

(ग) ओठको स्थिति 

स्वरको उच्चारण गर्दा ओठ कहिले गोलो हुने त कहिले फैलिने आधारमा यसलाई दुई वर्गमा वर्गीकरण गर्न सकिन्छ : 

(अ) गोलित : जुन स्वर उच्चारण गर्दा ओठ गोलो हुन्छ, त्यस्तो स्वरलाई गोलित स्वर भनिन्छ । नेपाली भाषाका उ, ओ गोलित स्वर हुन् ।

(आ) अगोलित : जुन स्वर उच्चारण गर्दा ओठ गोलो हुँदैन, त्यस्तो स्वरलाई अगोलित स्वर भनिन्छ । नेपाली भाषाका अ, आ, इ, ए अगोलित स्वर हुन् ।

(घ) मांसपेशीको अवस्था  

स्वर वर्णको उच्चारण गर्दा मुखविवरको मांसपेशी कहिले दह्रो हुने त कहिले शिथिल हुने आधारमा आधारमा स्वर वर्ण दुई प्रकारका हुन्छन् :

(अ) दृढ स्वर : मुखविवरको मांसपेशी कसिएको अवस्थामा उच्चरित हुने स्वरलाई दृढ स्वर भनिन्छ । नेपाली भाषाका आ, इ, उ दृढ स्वर हुन् । 

(आ) शिथिल स्वर : कलनासो र ओठका बिचको मुखभित्रको खाली भाग (मुखविवर) को मांसपेशी नकस्सिई झोलिएको अवस्थामा उच्चरित हुने स्वरलाई शिथिल स्वर भनिन्छ । नेपाली भाषाका अ, ए, ओ शिथिल स्वर हुन् ।


No comments:

Post a Comment