Tuesday, June 2, 2020

वैदिक र लौकिक वाङ्मयमा भाषिक चिन्तन

– हुकुमानन्द पाण्डेय

लेखसार 
        प्रस्तुत लेख वैदिक र लौकिक वाङ्मयमा भाषिक चिन्तनको अवस्था कस्तो छ भन्ने बारेमा तयार पारिएको छ । प्राचीन कालदेखि नै भाषाको प्रयोग हुँदै आएको र भाषाका विषयमा चिन्तन भएको पाइन्छ । भाषाका सवालमा प्राचीन वैदिक एवम् लौकिक वाङ्मयमा भाषा र भाषाको नियमका विषयमा निकै चर्चा भएको पाइन्छ । वैदिक कालमा ब्राह्मण, आरण्यक, उपनिषद्, वेदाङ्ग, शिक्षा र प्रतिशाख्य, निघण्टु, निरुक्त तथा व्याकरणेतर ग्रन्थ, यास्क र उनको निरुक्तमा भाषाको उत्पक्ति, प्रयोग र विकासको अवस्थालाई नियमबद्ध ढङ्गले अध्ययन गरिएको पाइन्छ । यसैगरी लौकिक कालमा पनि भाषासम्बन्धी चिन्तन भएको पाइन्छ । लौकक संस्कृतमा पूर्वपाणिनि, पाणिनि र उत्तरपाणिनि युगमा विभिन्न भाषा चिन्तकहरूले भाषाको उत्पत्ति, प्रयोगको नियम र विकासका बारेमा चिन्तन गरेको पाइन्छ । पूर्वपाणिनि व्याकरण चिन्तनमा पाणिनिपूर्वका भारद्वाज सम्प्रदाय, शाकटायन सम्प्रदाय, अपिशलि सम्प्रदाय, शाकल्य सम्प्रदाय, काशकृत्स्न सम्प्रदाय, गाग्र्य सम्प्रदाय, गालव सम्प्रदाय आदि प्रामाणिक व्याकरण सम्प्रदायमा भाषाका बारेमा विभिन्न चिन्तनहरू प्रस्तुत भएको पाइन्छ । यसैगरी पाणिनीय युगमा विशेषगरी पाणिनी कात्यान र पतञ्जलका भाषासम्बन्धी चिन्तनहरू प्रबलरूपमा देखिएका छन् । भाषिक चिन्तनको सवालमा पाणिनिले अष्टाध्यायी, कात्यानले वार्तिक र पतञ्जलीले महाभाष्य लेखेर पाणिनीय युगमा भाषिक योगदान दिएका छन् । यसैगरी उत्तरपाणिनी युगमा टीका, वृत्ति, कौमुदी, प्राचीन र नव्यव्याकरण, दार्शनिक ग्रन्थकार र ग्रन्थहरू, भ्रर्तृहरि र स्फोट दर्शनजस्ता कुराहरूमा भाषासम्बन्धी चिन्तन गरिएको पाइन्छ । 

मुख्य शब्दावली
        निघण्टु, निरुक्त, स्फोट, टीका, वृत्ति, कौमुदी, वाङ्मय, सन्देह, मियो, चत्वारी, महाभाष्य, निघण्टु, निरूक्त, वाङ्मय   

१. विषय प्रवेश 
        भाषा मानव सभ्यतासँगै प्रयोगमा आएको विचार विनिमयको सशक्त माध्यम हो । भाषाको वर्तमान रूप निर्धारणमा विभिन्न समयमा भएका विभिन्न प्रयासहरूले निकै ठूलो भूमिका खेलेको पाइन्छ । भाषाको उत्पत्ति, विकास र प्रयोगको स्तरका विषयमा आआफ्नै पूर्वीय र पाश्चात्य मान्यताहरू रहेको पाइन्छ । पूर्वमा संस्कृत तथा पश्चिममा ल्याटिन भाषाको भाषिक वाङ्मयले आधुनिक भाषिक चिन्तनमा निकै ठूलो भूमिका निर्वाह गरेको देखिन्छ । यसै आधारमा नेपाली, अङ्ग्रेजी र संस्कृत भाषाका विभिन्न व्याकरणहरूको निर्माण भएको मानिन्छ । पूर्वीय आर्ष सभ्यातामा वैदिककालीन ऋषिहरूले आफ्ना विचार र व्यवहारलाई मानिसको कल्याणका लागि सुखवादी सोच अँगाल्दै अघि बढाएको पाइन्छ (शर्मा, २०६९, पृ. ४८) । यस कुराले वैदिककालीन ऋषिहरूले पनि हितकर भाषाको प्रयोग गरेको आधार दिन्छ । पूर्वीय भाषिक चिन्तनलाई हेर्दा पूर्वमा पनि वैदिक काल र लौकिक कालमा भाषिक चिन्तन भएको पाइन्छ । इ.पु. १५०० तिरबाट वैदिक संस्कृत युगमा भाषिक चिन्तन सुरू भएको मानिन्छ (रिसाल, २०७०) । वैदिक कालमा मानिसहरू प्रकृतिसँग निकट रहेको र सोही प्रकृतिबाट सिर्जित भावलाई महर्षिहरूले शब्दबद्ध तुल्याएर वैदिक मन्त्र वा ऋचाहरू निर्माण भएको पनि पाइन्छ । वैदिक कालमा मानवको शृष्टि र अन्त्यको शृङ्खलाको मूल वेद मानिएको छ । वैदिक कालमा भएका भाषिक चिन्तनमा वेदका चार भाग मानिने संहिता (ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद), ब्राहमण, आरण्यक र उपनिषद्ले खेलेको भूमिकालाई महत्त्वका साथ हेर्ने गरिन्छ । वेदका ६ अङ्ग मनिने शिक्षा, कल्प, ज्योतिष, छन्द, व्याकरण र निरुक्तमध्ये ज्योतिष र कल्प बाहेक वेदका अङ्गहरूमा भाषिक चिन्तन भएको पाइन्छ । वेदको भाषालाई दैवी वाक् भनिएको पाइन्छ । सर्वप्रचीन ग्रन्थ ऋग्वेदमा वेदमा पनि भाषाको चर्चा निकै ठाउँमा भएको पाइन्छ । चार प्रकारका वाक् अन्तर्गत पर्ने पारा, पश्यन्ती, मध्यमा र बैखरीमध्ये चौथो वाणी मानिसहरूले बोल्ने गरेको पाइन्छ । यसैगरी संस्कृतका निरूक्तकारले ॐ भू.भूव.स्व लाई चत्वारी वाक् मानेका छन् । अर्का विद्वान् पतञ्जलीले नाम, आख्यात, उपसर्ग र निपातलाई चत्वारी वाक् मानेका छन् । यसैगरी लौकिक कालमा पनि विभिन्न भाषिक चिन्तन भएको पाइन्छ । लौकिक कालमा पाणिनि पूर्व, पाणिनि र पाणिनिउत्तर युग विभाजन गरी ती युगमा भएका भाषिक चिन्तनलाई प्रस्तुत गरिएको छ । यसरी विभिन्न समयमा विभिन्न विद्वानले विभिन्न ग्रन्थको रचना गरी भाषिक चिन्तन गरेको पाइन्छ । प्रस्तुत लेखमा भाषिक चिन्तनका सवालमा वैदिक र लौकिक कालमा के कस्ता मान्यताहरू रहेका छन् ? भन्ने कुराको चर्चा गरिएको छ । 

२. समस्या कथन र अध्ययनको उद्देश्य
        भाषा विचार विनिमयको सशक्त माध्यम हो । मानव सभ्याताको विकाससँगै मानिसहरू भाषाकै सहायताले आफ्ना विचारहरू आदान प्रदान गर्न थाले । यहीँ भाषा कसरी उत्पत्ति भई प्रयोगमा आयो र विकास भयो ? यस प्रति वैदिक र लौकिक वाङ्मयमा के लेखिएको छ ? भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ । भाषाको उत्पत्तिका सबालमा पूर्वीय र पाश्चात्य वाङ्मयमा भिन्न भिन्न मत पाइन्छ । हाम्रो भाषा पूर्वीय भाषा हो । पूर्वीय भाषाका सवालमा सर्वप्राचीन वाङ्मय भनेर वैदिक र लौकिक वाङ्मयलाई लिइन्छ । वास्तवमा वैदिक र लौकिक वाङ्मयम भाषाको उत्पत्ति र विकाससम्बन्धी के कस्तो चिन्तन पाइन्छ ? भाषाको उत्पत्ति र विकासका सवालमा कसकसको र कुन कुन ग्रन्थको मान्यता के कस्तो छ ? भन्ने सन्देह हटाउनु यस लेखको उद्देश्य रहेको छ । 

३. अध्ययन विधि 
        प्रस्तुत लेख सम्पन्न गर्नका लागि पुस्तकलयीय सामग्री सङ्कलन विधिको प्रयोग गरी विभिन्न पुस्तक तथा प्रकाशित लेखरचनाबाट द्वितीयक स्रोत सामग्री सङ्कलन गरी उपलब्ध सामग्रीलाई वर्णनात्मक एवम् विश्लेषणात्मक पद्धतिको प्रयोग गरी विश्लेषण गरिएको छ ।  

४. विश्लेषण
४.१ वैदिक संस्कृतमा भाषिक चिन्तन 
        भाषा विचार विनिमयको सशक्त माध्यम हो । भाषाको उत्पत्तिका सवालमा पूर्वीय र पाश्चात्य विद्वानको फरक फरक मत रहेको पाइन्छ । पूर्वीय भाषिक चिन्तन परम्परामा वैदिक र लौकिक वाङ्मयको चर्चा छ । संस्कृत वाङ्मयको इतिहासमा वेद वा संहिता काल सर्वप्राचिन मानिन्छ । वेद समस्त भूमण्डलमा बस्ने सम्पूर्ण मानवको सबैभन्दा पहिलो साहित्य हो, पहिलो बोली हो (ढकाल, कोइराला, २०६५, पृ.६९) । यस कालमा संकलित मन्त्रहरू ऋक्, यजु, साम र अथर्व गरी चार भागमा विभाजित छन् । प्रत्येक संहिताका व्राह्मण, आरण्यक र उपपनिषद्हरू उपलब्ध छन् । यी समस्त मन्त्रहरूलाई गुरुमुखबाट सुनेर कण्ठस्थ पार्ने परम्परा रहेकाले वेदलाई श्रुति पनि भनिन्छ । वेदमा अनेक स्थानमा वाक्तत्व, भाषाको उत्पत्ति, व्याकरण, छन्दको विश्लेषण, वाणीका भेदहरू, मनस्तत्व तथा वाक्तत्वसम्बन्धी अक्षर, पद आदिको चर्चा गरिएको पाइन्छ । वेदमा अक्षरद्वारा नै सात प्रकारका वाणीको निर्माण हुने कुरा बताइएको छ । सात प्रकारका वाणी भन्नाले सात विभक्तिलाई लक्षित गरिएको बुझिन्छ । ती संस्कृतका सात विभक्तिहरूमा प्रथमा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी र सप्तमी हुन् । वेदमा यहाँ अक्षर भनेर भाषालाई सङ्केत गरिएको पाइन्छ । ऋग्वेदमा जहाँसम्म ब्रह्म पुगेको छ त्यहाँसम्म वाणीको व्यापकता छ भनिएको पाइन्छ । यसैगरी अथर्ववेदमा समुद्रको जल वायुमा परिणत भई संसारलाई सिञ्चन गरे जस्तै हजारौँ अक्षरका सूत्रहरू जगत्मा व्यापक भई सबैको कल्याण गर्दछन् भनिएको पाइन्छ । समग्रमा वेदले भाषालाई व्यापक मानेको पाइन्छ । अथर्ववेदमा वाणीको क्षेत्र सर्वोत्कृष्ट विशाल छ भनिएको पाइन्छ । यसैगरी ऋग्वेदमा चार प्रकारका वाणीका पदहरू भएको पाइन्छ । चार प्रकारका वाणीको अर्थ नाम आख्यात, उपसर्ग र निपात भनिएको छ भने कसैकसैले परा पश्यन्ती, मध्यमा र वैखरी गरी वाणीका चार अवस्थाको संकेत गरेका छन् । ऋग्वेदको एक ऋचामा वाणीका चार सीङ, दुई टाउका, सात हात र तीन खुट्टा भएको कुरा उल्लेख गरिएको छ । तीन ठाउँमा बाँधिएको वृषभ ठूलो शब्द गर्दछ भनिएको पाइन्छ । चार सीङको तात्पर्य नाम, आख्यात, उपसर्ग र निपात यसैगरी दुई टाउकाको अर्थ शब्दका दुई भेद नित्य र अनित्य त्यस्तै सात हातको तात्पर्य सात विभक्तिहरू र तीन खुट्टाको तात्पर्य भूत, भविष्यत् र वर्तमान भन्ने बुझिन्छ । तीन ठाउँमा बाँधिएको भन्नाले छाती, कण्ठ र शिर भन्ने एक अर्थ गरिएको छ भने अर्को अर्थमा एकवचन, दुईवचन र बहुवचन अथवा प्रथम पुरुष, मध्यम पुरुष र उत्तम पुरुष भनिएको हो । ऋग्वेदमा अक्षरको ज्ञानद्वारा ऋचाको ज्ञान हुने र ऋचाको ज्ञानद्वारा व्यक्तिले उच्च स्थान प्राप्त गर्ने र देवता पनि उसप्रति आश्रित हुने कुरा उल्लेख गर्दै अक्षर अर्थात् उच्चारण खण्डका ज्ञानलाई वेदले महत्त्व दिएको बुझिन्छ । ऋग्वेदको एक सूक्तमा पहिलेका पुर्खाहरूले पदको ज्ञान गरी हामीलाई नासोकारूपमा ती पदहरू (भाषा) प्रदान गरेका हुन् भन्ने कुरा उल्लेख भएको पाइन्छ । यसबाट भाषा यादृच्छिक र परम्परित हुन्छ भन्ने मान्यता वेदमा धेरै पहिले स्थापित भइसकेको देखिन्छ । ऋग्वेदमा वृहस्पतिलाई भाषाको प्रारम्भकर्ता मानिएको छ । उनले सर्वप्रथम पदार्थको नामाकरण गरेको पाइन्छ । सरस्वतिको कृपाबाट ज्ञान प्राप्त हुने कुरा पनि उल्लेख गरिएको छ । ऋग्वेदमा वाणीलाई सुनेर बुझ्न प्रयत्न गर्नेलाई वाणीकी देवी सरस्वती अत्यन्त कृपा गर्दछिन् भन्ने कुरा उल्लेख गरिएको छ । अजुर्वेदमा प्रजापतिले रूपलाई देखेर सत्य र असत्य अथवा प्रकृति र प्रत्यय विभाजन गरेको पाइन्छ । वेदका विभिन्न सूक्तहरूमा केही शब्दहरूमा निर्वाचन पनि गरिएको पाइन्छ । यसरी वैदिक कालमा ऋषिहरूले भाषिक चिन्तनको प्ररम्भ गरेको पाइन्छ ।         

४.१.१ ब्रह्मण कालमा भाषिक चिन्तन 
        संहितापछि वैदिक साहित्यमा ब्राह्मण ग्रन्थहरू देखा पर्दछन् । ब्राह्मण ग्रन्थको प्रधान विषय यज्ञको प्रतिपादन र त्यसका विधिहरूको व्याख्या गर्नु हो । वेदमा निहित कर्मकाण्ड विषयक विधिविधानको व्याख्या गरिएको हुनाले यी ब्राह्मण ग्रन्थलाई वेदकै कर्मकाण्डसम्बन्धी भाष्य (टीका) भनेर समेत परिचय दिइन्छ । ब्राह्मण ग्रन्थसम्म आइपुग्दा भाषाशास्त्रीय चिन्तनमा पर्याप्त विकास भएको पाइन्छ । गोपथ ब्राह्मणमा धातु, प्रातिपदिक, आख्यात, लिङ्ग, वचन, विभक्ति, प्रत्यय, स्वर उपसर्ग, निपात व्याकरण, विकार, मात्रा, वर्ण, अक्षर, पद, संयोग, स्थान, नाद आदि पारिभाषिक शब्दहरूको प्रयोग भएको पाइन्छ । मैत्रायणी संहितामा विभक्ति संज्ञाको उल्लेख पाइन्छ र यसको सङया ६ बताइएको छ । ऐतरेय ब्राह्मणमा वाणीका सात विभाग (विभक्ति) को वर्णन पाइन्छ । ऐतरेय आरण्यकमा वाणीका मानसिक पक्षको चर्चा नभएको उल्लेख गर्दै मन पूर्वरूप हो, वाणी उत्तर रूप हो । मनले पहिले सङ्कल्प गर्दछ अनि वाणीले बोल्दछ भनी शूरवीर माण्डुकेयका छोराले भनेको कुरा उल्लेख भएको पाइन्छ । उनले शतपथ ब्राह्मणमा पनि मानिस, पशुपक्षी, सरीसृपका वाणीमा हुने भिन्नताको चर्चा भएको उद्धरण दिएका छन् । यसप्रकार भाषिक विलेषण वा व्याकरणका लागि आवश्यक पारिभाषिक शब्दहरूको निर्माणको क्रम यस कालमा निकै विकसित भइसकेको पाइन्छ ।  

४.१.२ आरण्यक कालमा भाषिक चिन्तन 
        वैदिक कालमा ब्राह्मण ग्रन्थपछि आरण्यक ग्रन्थहरू देखापरेका मानिन्छन् । आरण्यमा पढिने र मनन गरिने हुनाले यी ग्रन्थहरूको नाम आरण्यक रहेको बताइन्छ । आरण्यक ग्रन्थको सङ्ख्या पनि ११३० बताइए पनि अहिले ८ ओटा मात्र पाइन्छन् । वैदिक साहित्यमा ऋग्वेदसँग सम्बद्ध दुई आरण्यकअतर्गत ऐतेरेय र शाङ्खायन कौषीतकि आरण्यक पर्दछन् । ऐतेरेय आरण्यक ऐतेरेय ब्राह्मणको परिशिष्ट भाग यसअन्तर्गत पाँच आरण्यक छन् । तेस्रो भेदमा संहिता, पद, क्रमपाठ, स्वर, व्यञ्जन आदिको चर्चा छ । 

४.१.३ उपनिषद् कालमा भाषिक चिन्तन 
        उपनिषद्हरू उत्तरवैदिक युगका अन्तिम रचना मानिन्छन् । उपनिषद्ले संसारको कारण स्वरूप अविद्यालाई शिचिल तुल्याई ब्रह्म ज्ञान प्राप्त गराउने कुरा उल्लेख छ । यसैगरी ‘उप समीपे निष्नीदति इति उपनिषद्’ भन्ने व्युत्पत्तिअनुसार ज्ञान प्राप्तिका लागि गुरुका नजिक रहनु अथवा परब्रह्मका नजिक रहनु भन्ने कुरा उपनिषद्मा उल्लेख भएको पाइन्छ । उपनिषद्मा प्रायः गरेर परब्रहम चिन्तन तथा आत्मा र मोक्षसम्बन्धी चर्चा गरिएको पाइन्छ । भाषिक चिन्तनका दृष्टिले उपनिषद्मा अक्षर ब्रह्मबाट यो विश्वको उपत्ति हुन्छ । जसलाई वाणीद्वारा बताउन सकिँदैन, जसले वाणीलाई उत्पत्ति गर्दछ त्यही ब्रह्म हो र अनन्त अक्षर ब्रह्मका विद्या र अविद्या गरी दुई रूप छन् भनी उल्लेख गरेको पाइन्छ । 

४.१.४ वेदाङ्ग कालमा भाषिक चिन्तन 
        संस्कृत परम्परामा वेदलाई राम्ररी अध्ययन गर्न, वेदको अर्थ गर्न र उचित ठाउँमा मन्त्रहरूको प्रयोग गर्नका लागि वेदाङ्गको व्यवस्था गरिएको पाइन्छ । वेदका हात कल्प, पाउ छन्द, आँखा ज्योतिष, कान निरुक्त मानिएको छ । वेदको रक्षा तथा यसका तात्विक अध्ययनका लागि शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष ६ प्रकारका वेदाङ्गमध्ये शिक्षा, व्याकरण, निरुक्त र छन्दमा भाषिक चिन्तन पाइन्छ । जसअन्तर्गत शिक्षालाई ध्वनिविज्ञान मान्दै यसमा उच्चारणसम्बन्धी नियमहरूको मात्र चर्चा गरिएको छ । व्याकरणमा पदविज्ञान र वाक्यविज्ञानको समन्वय देखाइएको छ भने निरुक्तमा भाषाको निर्वचन वा व्युत्पत्ति देखाइएको छ । यसैगरी छन्दमा छन्दको पाद (पाउ) व्यवस्था र प्रत्येक पाउमा वर्ण र मात्राहरूका निर्धारित सङ्ख्या वर्णन गरिएको छ ।  

(क) प्रतिशाख्य र शिक्षा  
        वैदिक मन्त्रहरूको शुद्ध उच्चारण र अर्थनियामकत्वका लागि स्वर, व्यञ्जन, वर्णेच्चारणसम्बन्धी नियमको शिषण आवश्यक परेकाले वेदाङ्गकारूपमा प्रतिशाख्य र शिक्षाग्रन्थहरू लेखिएका देखिन्छन् । ध्वनिविज्ञानको सबभन्दा पुरानो ग्रन्थ ऋग्वेद प्रतिशाख्य हो । प्रतिशाख्य र शिक्षाग्रन्थ दुवैमा ध्वनिसम्बन्धी विस्तृत चर्चा पाइन्छ । प्रतिशाख्यले भाषिक उच्चारण प्रक्रियाको अध्ययन गर्दछ भने शिक्षाग्रन्थले चाहिँ सामान्य उच्चारण प्रक्रिया वा वेदविशिष्ट ध्वनिको अध्ययन गर्दछ । शिक्षाको अर्थ हुन्छ ः स्वर र व्यञ्जन आदिको उच्चारणमा सम्बन्धी शिक्षा (ज्ञान) । उदात्त, अनुदात्त, स्वरित एवम् ह्रस्व, दीर्घ, लुप्त आदिको उच्चारण कसरी गरिन्छ भन्ने बताउनु नै प्रतिशाख्य र शिक्षा ग्रन्थको मुख्य उद्देश्य रहेको देखिन्छ ।   

(ख) निघण्टु, निरुक्त तथा व्याकरणेतर ग्रन्थमा भाषिक चिन्तन 
        पूर्वीय भाषाचिन्तन परम्परामा वेदको व्याख्या गर्ने सन्दर्भका लागि निघण्टु र निरुक्तको आवश्यकता भए पनि वेदाङ्गका रूपमा निरक्तमात्र उल्लेख पाइन्छ, वेदाङ्गमा निघण्टु पर्दैन । निघण्टु भनेको कठिन वैदिक शब्दहरूको वर्गीकृत कोश हो । निघण्टुहरू बीसवटा भएको बताइन्छ । निघण्टुमा शब्दको सङ्ग्रह मात्र हुन्छ, व्युत्पित्ति हुँदैन । 

(ग) यास्क तथा उनको निरुक्त  
        यास्कलाई वैदिक कालका अन्तिम भाषाचिन्तकका रूपमा लिने गरिन्छ । यिनको इ.पू. ७००० मानिन्छ । यस बेलासम्ममा ब्राह्मी लिपिको प्रयोग व्यापक भइसकेको, चारै वेद, ब्राह्मण, आरण्यक, उपनिषद र वेदाङ्गहरू लेखिइसकेका थिए । त्यस वेला यज्ञयागादि धार्मिक कर्मले प्रधानता पाएको हुँदा यसका लागि वैदिक वर्णहरूको शुद्ध उच्चारण तथा अर्थबोधसहितको पठन अनिवार्य थियो तर वैदिक भाषा अबोध्य भइसकेको थियो । यस अवस्थामा वैदिक वाङ्मयको रक्षाका निम्ति यास्कले निघण्टु र निरुक्तको रचना गरेको पायन्छ । निरुक्तको प्रथम अध्यायसम्म भाषासम्बन्धी चिन्तन र निर्वचन सिद्धान्तको उल्लेख पाइन्छ ।  

४.२ लौकिक वाङ्मयमा भाषिक चिन्तन 
        भाषाको उत्पत्तिका सवालमा वैदिक वाङ्मयमा विभिन्न भाषिक चिन्तन भएपछि लौकिक वाङ्मयमा पनि भाषासम्बन्धी चिन्तनहरू भएको पाइन्छ । लौकिक वाङ्मयमा भाषाका सम्बन्धमा विभिन्न चिन्तनहरू प्रस्तुत भएको पाइन्छ । वैदिक संस्कृत भाषा कालक्रमिकरूपमा विकास हुने क्रममा लौकिक संस्कृतकारूपमा विकास हुँदा भाषिक चिन्तनको परम्परा व्यापकरूपमा अगाडि बढेको पाइन्छ । पाणिनि, पतञ्जली र भतृहरि जस्ता विद्वानहरूले संस्कृत भाषिक चिन्तन परम्परालाई माथि उठाउँदै लौकिक वाङ्मयमा गहिरो भाषिक चिन्तन गरेको पाइन्छ । यसक्रममा विभिन्न खाले व्याकरण सम्प्रदायको उदय भएको पाइन्छ । जसमध्ये लौकिक वाङ्मयमा भाषिक चिन्तकको मियो भनेर पाणिनिलाई मानिन्छ । तसर्थ लौकिक वाङ्मयमा मियो मानिने पाणिनिलाई केन्द्रमा राखेर पूर्व पाणिनि युग, पाणिनि युग र उत्तरपाणिनि युग गरी तीन युगमा विभाजन गरेर लौकिक वाङ्मयमा भएका भाषिक चिन्तनलाई अध्ययन गर्न सकिन्छ ।

४.२.१ पूर्व पाणिनि युग 
        वैदिक वाङ्मयका अन्तिम मानिने यास्कपछि र पाणिनि युगभन्दा अगाडिको लौकिक वाङ्मयको सुरुको युगलाई पाणिनि पूर्वको युग भनिन्छ । यस समयमा वैदिक युग र त्यस युगका भाषाको प्रभावसँगै लौकिक संस्कृत भाषाको अध्ययन कार्य सुरु भइसकेको थियो । पाणिनिपूर्वको भाषिक चिन्तनको सुरुवाती चरणमा ऐन्द्र सम्प्रदायको उल्लेख पाइन्छ । वैदिक वाङ्मयमा देखिएका कठिन शब्द र यसको असर भोगिरहेका देवताहरूले स्वर्गका राजा इन्द्रलाई शब्द र अर्थको बोधमा भएको कठिनाइलाई समाधान गरिदिने व्यवस्था मिलाइदिन अनुरोध गरेपछि इन्द्रले प्रकृति र प्रत्ययको विभाजन गरी शब्दोपदेशको प्रक्रिया सुरु गरी सहजता प्रदान गरेको भन्ने कुरा संस्कृत व्याकरण परम्परामा पाइन्छ । यस समयमा भाषिक ध्वनिको उच्चारण प्रक्रिया र तिनमा भएका भिन्नताका आधारहरू निरुपण भएको र प्रकृति र प्रत्ययका रूपमा शब्दको विश्लेषण गरेको पाइन्छ । यसैगरी व्याडि, स्फोट आदि वैयाकरणबाट शब्दार्थसम्बन्ध र स्फोटका माध्यमबाट भाषा सम्बन्धी दार्शनिक चिन्तनको प्रारम्भ भएको र भाषिक ध्वनिका उच्चारण प्रक्रिया र तिनमा भएका भिन्नताका आधारहरू निरूपण गरिएको पाइन्छ । पूर्वपाणिनि व्याकरण चिन्तनमा पाणिनिपूर्वका भारद्वाज सम्प्रदाय, शाकटायन सम्प्रदाय, अपिशलि सम्प्रदाय, शाकल्य सम्प्रदाय, काशकृत्स्न सम्प्रदाय, गाग्र्य सम्प्रदाय, गालव सम्प्रदाय आदि प्रामाणिक व्याकरण सम्प्रदायमा भाषाका बारेमा विभिन्न चिन्तनहरू प्रस्तुत भएको पाइन्छ । पाणिनिपूर्वको भाषिक चिन्तनमा भाषिक ध्वनिको उच्चारण प्रक्रिया र तिनमा भएका भिन्नताको निरूपण गरिएको पाइन्छ । यस समयमा प्रकृति र प्रत्ययनका रूपमा शब्दको विश्लेषण, सूत्रमा भाषिक विश्लेषण गर्ने शैली प्रारम्भ, व्याडि, स्पोटायन जस्ता वैयाकरणबाट शब्दार्थ सम्बन्ध र स्फोटका माध्यमबाट भाषासम्बधी दार्शनिक चिन्तनको प्रारम्भ गरेको पाइन्छ । त्यसैगरी यस समयमा विभिन्न किसिमका पाठहरू जस्तै ः पदपाठ ः माध्यान्दिनी, व्याकरण सूत्रपाठ ः इन्द्र, माग्ररीको श्लोकबद्ध व्यारकण यसैगरी धातुपाठ ः काशकृत्स्न, आपिशलि, शाकटायन त्यस्तै उणदि पाठ ः काशकृत्स्न, आपिशलि र शिक्षा ः माध्यान्दिनी, आपिशलि, गालव तथा गठापाठ ः भागुरि , शन्तुनु, आपिशलि आदिको रचना भएको पाइन्छ । 

४.२.२ पाणिनि युग 
        पाणिनि युगमा त्रिमुनि मानिने पाणिनि, कात्यान र पतञ्जलीको भाषिक योगदान रहेको पाइन्छ । यीमध्ये पाणिनिले यस युगको प्रमुख एवम् बहुचर्चित मानिने व्याकरणिक ग्रन्थ ‘अष्टाध्यायी’ रचना गरेर उनी प्रमुख स्थानमा रहेको पाइन्छ । पाणिनिको यहीँ व्याकरणलाई आधार मानेर धेरै वैयाकरणहरूले लौकिक संस्कृत व्याकरणलाई अगाडि बढाउने कार्य गरेको पाइन्छ । यसमा लौकिक संस्कृतका प्रचलित नियमहरूलाई सङ्क्षिप्तरूपमा प्रस्तुत गरिएको पाइन्छ । ‘आष्टाध्यायी’ व्याकरण ग्रन्थमा निहित सूत्रहरू बीजगणितीय सूत्र जस्तै सङ्क्षिप्त रहेको पाइन्छ । पाणिनिले शिवसूत्र, प्रत्याहारसूत्र, धातुपाठ, गणपाठ, उणादिसूत्र, फिटसूत्र अदि कृतिहरू रचना गरेको पाइन्छ । पाणिनिका व्याकरणिक ग्रन्थहरूमा अष्टाध्यायी, पाणिनीय शिक्षा, द्विरूपकोश, धातुपाठ, गणपाठ, लिङ्गानुशासन र अष्टाध्यायीको स्वोपज्ञवृत्ति नामक टीका रहेका छन् । पणिनिले संस्कृत व्याकरणका पाँच अङ्गअन्तर्गत पर्ने सूत्रपाठ, धातुपाठ, गणपाठ, परिभाषापाठ र लिङ्गानुशासन जस्ता अङ्गहरूलाई समेटेको अनुमान गरिएको छ । सूत्रपाठका निम्ति अष्टाध्यायी रचिएको थियो । संस्कृतमा रूपायनका आधारमा दस गण वा समूह रहेका धातुहरूका लागि पाणिनिले धातुपाठ लेखेकोे सम्भवना देखिन्छ । प्रातिपदिकको रूपायनका लागि पनि भिन्नभिन्न किसिमका गण अर्थात् प्रातिपदिकको पठन पनि आवश्यक भएकाले पाणिनिले गणपाठ पनि लेखेको पाइन्छ । वैयाकरण सम्प्रदायका सुप्रसिद्ध आचार्य पाणिनिको ‘अष्टाध्यायी’मा पुलिङ्ग, स्त्रीलिङ्ग र नपुंसक लिङ्गको नाम त लिए तर के कस्ता प्रतिपदिकहरूले के–कस्ता लिङ्गका निम्ति के–कस्ता प्रत्यय लिन्छन् भन्नका निम्ति लिङ्गानुशासन लेखेको  सम्भावना छ । अष्टाध्यायी शब्दरचनाका प्रक्रियाका नियम(सूत्र)हरूको प्रतिपादन भएको ग्रन्थ हो । अष्टाध्यायीमा पहिला र दोस्रा अध्यायमा पदहरूको सङ्कलन, तेस्रो, चौथो र पाँचौ अध्यायमा प्रकृति– प्रत्यय विभाजन, छैटौँ , सातौँ र आठौँ अध्यायमा आगम, आदेश आदि सन्धि प्रक्रियाद्वारा शब्दनिर्माण जस्ता कुराहरू उल्लेख गरिएको पाइन्छ । पाणिनिले अइउण्, ऋलृक्, एओङ्, ऐऔच्, हयवरट्, लण्, ञमङणनम्, झभञ्, षढधष्, जबगडदश्, खफछठथचटतब्, कपय्, शषसर्, र हल् जस्ता सूत्रहरूको चर्चा गरेका छन् । पाणिनिले महेश्वर सूत्रमा प्रत्याहारको कल्पना गरेर सम्पूर्ण संस्कृत व्याकरणको विश्लेषण गरेका छन् । 

(क) पाणिनीय व्याकरण परम्परामा कात्यान  
        यस युगमा पाणिनिपछि कात्यानलाई लिइन्छ । कात्यान प्रसिद्ध वार्तिककार हुन् । यिनले पाणिनिको अष्टाध्यायीलाई बुझ्न सजिलो बनाइदिनुका साथै कात्यायनी शिक्षाको रचना समेत गरेको पाइन्छ । यिनले पाणिनिका सूत्रको परिपूर्णताका लागि वार्तिक रचना गरे तर प्रचलित सबै वार्तिक कात्यायनरचित होइनन् भन्ने मान्यता पनि रहेको पाइन्छ  । वार्तिकलाई वाक्य, व्याख्यानसूत्र, भाष्यसूत्र, अनुतन्त्र, अनुस्मृति आदि नामले पनि व्यवहार गरिएको पाइन्छ । पाणिनि व्याकरणमा धातुसम्बन्धी देखिएका समस्याको समाधान गर्दै कात्यायनले अकर्मक धातुका योगमा देश, काल, भाव र गन्तव्य मार्ग बताउने शब्दमा कर्मसंज्ञा गर्न वार्तिक बनाए । दोस्रो योगदान शब्दार्थसम्बन्धलाई नित्य मान्ने वैयाकरणका परम्परामा निरन्तरता दिनु हो ।  

(ख) पाणिनीय व्याकरण परम्परामा पतञ्जलि 
        पाणिनि युगका अर्का सशक्त मानिने विद्वान् महाभाष्यकार पतञ्जली हुन् । पतञ्जलिले महाभाष्य लेखेर पाणिनिको अष्टाध्यायीको विस्तृत व्याख्या गरी भाषिक क्षेत्रमा योगदान दिएका छन् । पतञ्जलीले पाणिनिका सूत्र र कात्यानका वार्तिकमा उल्लिखित सबै आशयको स्पष्टीकरण दिएका छन् । यसैगरी उनले व्याकरणको परिभाषा र प्रयोजनको व्याख्या गर्दै स्फोट र ध्वनिसिद्धान्तको स्थापना गरेका छन् । शब्द र अर्थका स्वरूपको निर्णय तथा शब्द नित्य र अनित्य पक्षको विशद विवेचन तथा शब्द नित्यत्व पक्षको स्थापना गरी अनेक देशप्रदेशका विभिन्न भाषाहरूमा स्थानीय अर्थभेदको उल्लेख गरेको पाइन्छ । यसैगरी लोकव्यवहार एवम् लोकप्रचलित भाषाको स्वरूपलाई साहित्यक भाषाभन्दा अधिक प्रामाणिक मान्दै भाषाको क्षेत्रमा पतञ्जलीले योगदन दिएका छन् । उनले वर्णविश्लेषण तथा वर्णसिद्धान्तको स्थापना गर्दै कूप, यूप, सूप जस्ता न्यूनतम युग्मको पहिचान गरी वर्णव्युत्पादनबाट अर्थभेदकता आउने कुराको उल्लेख गरेर द्रव्यत्व, शकुनिसादृश्य, आदित्यसादृश्य, रूपसामान्य जस्ता सिद्धान्तको विश्लेषण,  स्फोट र ध्वनिसिद्धान्तको विश्लेषण,  शब्द र अर्थका स्वरूपको निर्णय र प्रश्नोत्तर र अत्यन्त सरल गद्यशैलीमा व्याकरण सिद्धान्तका गूढ पक्षको स्पष्टीकरण दिएका छन् । यसरी संस्कृत व्याकरण परम्परामा त्रिमुनि (पाणिनि, कात्यायन, पतञ्जलि) बाट भाषिक तथा व्याकरणिक चिन्तनको आधारशिला सुदृढ बनाएको देखिन्छ ।  

४.२.३ उत्तरपाणिनि युग 
        त्रिमुनि मानिने पाणिनि, कात्यान र पतञ्जलीको युगपछि पाणिनि सम्प्रदायमा थप महत्त्वपूर्ण कार्यहरू भएको पाइन्छ । यस समयमा त्रिमुनिका व्याकरण एवम् भाषिक चिन्तनलाई जीवित राख्न भर्तृहरि, कैयट, नागेश जस्ता चिन्तक, जयादित्य, वामन तथा भट्टोजी दीक्षित जस्ता वृत्तिकार र व्याख्याताहरूको योगदान उत्तरपाणिनि युगमा महत्त्वपूर्ण रहेको छ । त्रिमुनिपछिका प्रमुख व्याकरणकार र प्रमुख व्याकरण ग्रन्थहरूलाई दुई दृष्टिले वर्गीकरण गर्नु उपयुक्त देखिन्छ ः पाणिनीय व्याकरण सम्प्रदाय र पाणिनिभिन्न सम्प्रदाय । पाणिनिय व्याकरण सम्प्रदाय र यसका मौलिक ग्रन्थअन्तर्गत प्रक्रियापरक र दार्शनिक व्याकरण ग्रन्थ देखिन्छन् । प्रक्रियापरक ग्रन्थअन्तर्गत संस्कृत व्याकरण परम्परामा टीका, वृत्ति र कौमुदी परम्पराको विकास भएको पाइन्छ । 

(क) दार्शनिक ग्रन्थकार र ग्रन्थहरू  
        यसअन्तर्गत पर्ने प्रमुख ग्रन्थहरूमा स्फोट, शब्दार्थसम्बन्ध, सबर्थ, तिङर्थ, धात्वर्थ, लकारार्थ, पदको अर्थ, शाब्दबोध, वाक्यार्थबोध, कारकार्थ, निपातार्थ, समासशच्चि शब्दशक्ति, व्याकरणिक कोटिहरूको आशय आदिका सम्बन्धमा दार्शनिक विवेचना पाइन्छ । पाणिनिभन्दा पहिले स्फोटायन, औदुम्बरायण, व्याडि हुँदै आएका यर परम्परामा पाणिनिपछि पनि निरन्तरता दिँदै आएका प्रतिनिनिधि ग्रन्थकार र ग्रन्थहरूमा भर्तृहरिको वाक्यपदीय, कौण्ड भट्टको वैयाकरणभूषणसार, नागेश भट्टको वैयाकरणसिद्धान्तमञ्जूषा, वैयाकरणसिद्धान्तलघुमञ्जूषा र परमलघुमञ्जूषा त्यस्तै मण्डन मिश्रको स्फोटसिद्धि हुन् । भर्तृहरिको वाक्यपदीयमा ब्रह्मकाण्ड, वाक्यकाण्ड र पदकाण्डको उल्लेख गरिएको छ । यसैगरी नागेश भट्ट/नागोजि भट्टले विशेषगरी व्याकरणअन्तर्गत रूपद्धिका प्रक्रियामा आउने गरेका परिभाषाका अर्थ, स्फोट, बौद्धार्थ, शब्दशक्तिमाथि दार्शनिक चिन्तन गरेको देखिन्छ । यस्तै कौण्ड भट्टले वैयाकरणभूषणसार नामको ग्रन्थ लेखेका थिए । सुबन्तको सुबन्तका साथ, सुबन्तको तिङन्तका साथ, सुबन्तको नामका साथ, सुबन्तको धातुका साथ र तिङन्तको तिङन्तका साथ र तिङन्तको सुबन्तका साथमा गरी जम्मा छ प्रकारका समास हुन्छन् भनी विद्वाचनहरूले बताएका छन् । 

(ख) पाणिनिभिन्न सम्प्रदाय र तिनका मौलिक ग्रन्थ 
        भाषिक जगत्मा पाणिनिको आगमन पूर्व विभिन्न व्यारकणिक सम्प्रदायहरू प्रचलनमा भिए । पाणिनिय व्याकरणको आगमनपछि अन्य व्याकरण ग्रन्थहरू ओझेलमा परेको देखिन्छ । जसलाई हामी पाणिनि भिन्न सम्प्रदाय भन्छौँ । ती सम्प्रदायमध्ये ऐन्द्र वा कातन्त्र एक हो । पणिनीय अष्टाध्यायीभन्दा यसको आयाम निकै सानो छ । यसमा चार प्रकरण मात्र छन् ः सन्ति नाम, कृत् र आख्यात । यस कारण कातन्त्र व्याकरणले पाणिनिपछि निकै लोकप्रियता प्राप्त गरेको बुझिएको छ । अर्को सम्प्रदाय चान्द्र सम्प्रदाय हो । लगभग पाँचौं शताब्दीतिर चन्द्रगोमिन्द्वारा रचित व्याकरणलाई चान्द्र व्याकरण र त्यसको पठनपाठन परम्परालाई चान्द्रं सम्प्रदाय भनिएको छ । यस व्यारणमा तेह्र सूत्रहरू छन् । यसमा हयवरट् र लण्लाई गाभेर हयवरलण बनाइएको छ । यस व्याकरणमा वार्तिकका कुराहरूलाई पनि सूत्रभित्रै सम्ट्ने प्रयास गरिएको पाइन्छ । यसैगरी जैनेन्द्र सम्प्रदायअन्तर्गत पाणिनीय पारिभाषिक शब्दमा परिवर्तन गरिएको पाइन्छ, । जैन शाकटायन सम्प्रदायअन्तर्गत व्याकरणका अधिकांश सूत्रहरू पाणिनि, चन्द्रगोमिन् र देवनन्दीबाट लियएकाछन् । यसमा लिङ्क र समासान्त प्रकरणलाई समास प्रक्रिया भित्रै समेटिएको छ । यसैगरी अर्को हेमचन्द्र सम्प्रदायअन्तर्गत हेमचन्द्रले प्रसिद्ध व्याकरण ग्रन्थको नाम सिद्धहेमचन्द्राभिध ‘स्वोपज्ञशब्दानुशासन’ संस्कृत व्याकरण रचना गरेको पाइन्छ । यसैगरी सारस्वत सम्प्रदाय पनि देखा पर्दछ । वोपदेवको लघुव्याकरण ‘मुग्धबोध’ यस समप्रदायको प्रतिनिधि ग्रन्थ मानिन्छ । यसमा पनि माशेह्वर सूत्र र प्रत्याहार पाणिनिका भन्दा भिन्न छन् ।

(ग) भर्तृहरिका व्याकरणमा शब्दब्रह्म चिन्तन  
        भर्तृहरिको वाक्यपदीय दार्शनिक व्याकरणिक ग्रन्थ हो । यसमा जुनसुकै व्याकरणिक विषयलाई पद्यात्मक शैलीमा विश्लेषण गरिएको पाइन्छ । भर्तृहरिकाअनुसार वर्णभन्दा भिन्न पदको कुनै सत्ता नभए जस्तै वर्ण तथा पदभन्दा भिन्न वाक्यको पनि सत्ता हुँदैन अर्थात् वर्ण नै पद र वाक्य हो । वर्ण पनि एउटै हुन्छ, अतः पद र वाक्य पनि एउटै हो भन्ने सिद्ध हुन्छ । 

५. निष्कर्ष 
        प्राचीन कालदेखि नै भाषाको प्रयोग हुँदै आएको र भाषाका विषयमा चिन्तन भएको पाइन्छ । भाषाका सवालमा प्राचीन वैदिक एवम् लौकिक कालमा भाषा र भाषाको नियमका विषयमा निकै चर्चा भएको पाइन्छ । वैदिक कालमा ब्राह्मण, आरण्यक, उपनिषद्, वेदाङ्ग, शिक्षा र प्रतिशाख्य, निघण्टु, निरुक्त तथा व्याकरणेतर ग्रन्थ,  यास्क र उनको निरुक्तमा भाषाको उत्पक्ति, प्रयोग र विकासको अवस्थालाई नियमबद्ध ढङ्गले अध्ययन गरिएको पाइन्छ ।  यसैगरी लौकिक कालमा पनि भाषासम्बन्धी चिन्तन भएको पाइन्छ । लौकक संस्कृतमा पूर्वपाणिनि, पाणिनी र उत्तरपाणिनी युगमा विभिन्न भाषा चिन्तकहरूले भाषाको उत्पत्ति, प्रयोगको नियम र विकासका बारेमा चिन्तन गरेको पाइन्छ । पूर्वपाणि व्याकरण चिन्तनमा पाणिनिपूर्वका भारद्वाज सम्प्रदाय, शाकटायन सम्प्रदाय, अपिशलि सम्प्रदाय, शाकल्य सम्प्रदाय, काशकृत्स्न सम्प्रदाय, गाग्र्य सम्प्रदाय, गालव सम्प्रदाय आदि प्रामाणिक व्याकरण सम्प्रदायमा भाषाका बारेमा विभिन्न चिन्तनहरू प्रस्तुत भएको पाइन्छ । भने पाणिनीय युगमा विशेषगरी पाणिनी कात्यान र पतञ्जलका भाषासम्बन्धी चिन्तनहरू प्रबलरूपमा देखिएका छन् । भाषिक चिन्तनको सवालमा पाणिनिले अष्टाध्यायी, कात्यानले वार्तिक र पतञ्जलीले महाभाष्य लेखेर पाणिनीय युगमा भाषिक योगदान दिएका छन् । यसैगरी उत्तरपाणिनी युगमा टीका, वृत्ति, कौमुदी, प्राचीन र नव्यव्याकरण,  दार्शनिक ग्रन्थकार र ग्रन्थहरू, भ्रर्तृहरि र स्फोट दर्शनजस्ता कुराहरूमा भाषासम्बन्धी चिन्तन गरिएको पाइन्छ । यसरी हेर्दा लौकिक संस्कृतअन्तर्गत धेरै भाषाशास्त्रीहले आआफ्नो मत राखे पनि पाणिनि प्रमुख मानिन्छन् । पाणिनिय संस्कृत व्याकरण विश्वकै अद्वितीय र वैज्ञानिक व्याकरण मानिन्छ । यसका अष्टाध्यायाीक्रम, प्रक्रियाक्रम र दार्शनिकक्रम गरी मुख्यतह तीन परम्परा विकसित भएका पाइन्छन् । पाणिनिय व्याकरणको परम्परामा प्रक्रियाक्रमको प्रारम्भ धर्मकीर्तिले ‘रूपावतार’ दुई भागमा विभक्त छ । सुबन्तसँग सम्बद्ध पहिलो भागमा संज्ञावतार, संहितावतार, विभक्त्यिवतार, अव्ययावतार, स्त्रीप्रत्ययावतार, कारकावतार, समासावतार र तद्धितावतार गरी आठ प्रकरण रहेको पाइन्छ । पौरत्स्य ज्ञानको संवाहक संस्कृत भाषा शिक्षणको मुख्य साधन व्याकरण मानिन्छ । वेदका ६ अङ्गहरूमा पनि व्याकरणलाई नै मुख्य अङ्गका रूपमा लिइएको पाइन्छ । कणाद मनिद्वारा प्रतिपादित न्यायशास्त्र एवम् पाणिनिमुनिप्रोक्त व्याकरण सबै शास्त्रका उपकारक मानिन्छन् । नेपाली भाषामा पाणिनी व्याकरणका संज्ञा, सन्धि, सुबन्त, तिङन्त, कृदन्त, तद्धित, कारक र समासजस्ता प्रक्रियासँग वैदिक प्रक्रिया र स्वरको समेत चर्चा पाइन्छ । 

सन्दर्भ सामग्री
ढकाल, मतिप्रसाद (२०५६), प्रारम्भिक संस्कृत व्याकरण र रचना, चितवन ः गणेश छापाखाना ।
ढकाल, माधवप्रसाद र कोइराला मातृकाप्रसाद (२०६५), शिक्षाका आधारहरू, काठमाडौँ ः रत्न पुस्तक भण्डार ।
भण्डारी, पारसमणि र पोख्रेल केशवराज (२०७७), नेपाली भाषा शिक्षणका दार्शनिक आधारहरू, काठमाडौँ ः नेपाल खुला विश्वविद्यालय मुडल सामग्री ।
रिसाल, कौशिला (२०७०), वैदिक तथा लौकिक संस्कृतमा भाषिक चिन्तन र पाणिनि युग, काठमाडौँ ः हाँक विक्ली प्रकाशन ।
शर्मा, अभय (२०६९), नेपालका दार्शनिकहरू, काठमाडौँ ः नेपाल प्रज्ञा प्रतिष्ठान । 



No comments:

Post a Comment